
सिमकोट – राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लाको हवाई सेवा सहज बन्दै गएको छ ।
चार दिन अगाडिसम्म टिकट पाउन कठिन भइरहेको बेला उडान संख्या बृद्धि हुन थालेपछि दशैमा यात्रुहरुलाई टिकट पाउन सहज हुन थालेको हो ।
सोमबार तारा र समिट एयरले बिहानै तीन वटा उडान भर्दा यात्रुले टिकट सहजै पाएका थिए । एयरलाईन्सका कर्मचारीहरु टिकट लिने यात्रु खोज्नु पर्ने अवस्था थियो ।
तीन दिन अगाडिको अवस्था यो भन्दा ठिक्क उल्टो थियो । अघिल्लो दिन आइतबार पनि तारा, समिट र नेपाल एयरलाइन्स उडान भर्दा यात्रुलाई दशैं मनाउन आफ्नो गन्तव्यतर्फ लाग्न सहज भएको थियो ।
यात्रुलाई आफ्नो झोला बोकेर एयरलाइन्सका काउण्टरमा पुगेर सहजै टिकट काट्नु पर्ने अवस्था थियो । केही दिन अगाडिसम्म चौध दिनसम्म टिकट नपाएर मानिसहरु यात्रा गर्न पाएका थिएनन् ।
समिट एयर सिमकोटका इन्चार्ज गोविन्द लामाले अहिले यात्रुलाई टिकट पाउन निक्कै सहज भएको बताए । तीन दिन अगाडीसम्म तीनवटै एयरलाइन्सका कर्मचारीहरले आफ्नो मोबाइल फोन अफ गर्ने गरेका थिए । तर उनले अहिले त्यो अवस्था नरहेको बताए ।
अहिले सबै एयरलाइन्सहरुले उडान भर्दा यो अवस्था आएको हो । यस वर्ष सिमकोटबाट बाहिरीने यात्रुहरुको संख्या पनि बृद्धि भएको छ । दशै लागेयता मात्र चार सय भन्दा बढी यात्रुहरु बाहिरिएका छन् ।
सिमकोटबाट सुर्खेतका लागि उडान भने नभरिँदा त्यता जाने यात्रुहरुलाई भने नेपालगञ्ज झर्नु पर्ने बाध्यता छ । नेपालगञ्जबाट सिमकोट आउने यात्रुको चाप भने अहिले पनि उस्तै रहेको छ ।