
काठमाडौं – नेपालमा बडादसैंको मुख्य दिन विजयादशमीमा पूर्वराजादेखि सरकारी उच्च पदस्थ अधिकारीहरूसम्मले टीका तथा जमरा लगाइदिने चलन छ ।
सोही चलनअनुरुप मंगलबार मुख्यतया निर्मल निवास र शीतल निवासबाट सरकारी अधिकारी तथा सर्वसाधारणलाई टीका लगाइदिने पूर्व सूचना जारी गरिएको थियो ।
सोही सूचनाका आधारमा करिब एकै समयमा शीतल निवास र निर्मल निवासमा विजयादशमीको टीका तथा जमरा ग्रहण गर्नका लागि सरकारी अधिकारी तथा सर्वसाधारण दुईतिरै लामबद्ध थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवास र राष्ट्रपति रामचन्द्र पौडेलको सरकारी निवास शितल निवासमा टीकाको कार्यक्रम आयोजना गरिएको थियो ।
तर निर्मल निवासमा लामबद्ध सर्वसाधारणको संख्या शितल निवासको भन्दा उल्लेख्य थियो । मन्त्रीहरू, सरकारी कर्मचारी तथा संवैधानिक अंगका प्रमुखहरू शितल निवास गएका थिए ।
निर्मल निवासमा पूर्वराजा शाहले ९६ बर्षिया आमा रत्न राज्यलक्ष्मी शाहबाट टीका तथा प्रसाद ग्रहण गरेका थिए । त्यसपछि पूर्वराजा शाहले पशुपतिनाथका मूलभट्ट, गोरखनाथका मुख्य महन्त, वागेश्वरी मन्दिर तथा चाबाहिलको बगलामुखी मन्दिरका मूल पुजारीहरूबाट अभिशेष तथा प्रसाद ग्रहण गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमलको हातबाट टीका ग्रहण गर्न सर्वसाधारण घण्टौंसम्म लामबद्ध थिए । उनीहरूले राजतन्त्र पक्षका चर्का नाराबाजी पनि गरेका थिए ।
पूर्वराजाको हातबाट टीका ग्रहण गर्न अभिनेत्री मनिषा कोइराला पनि निर्मल निवास पुगेकी थिइन् । उनले ट्विट गर्दै पूर्वराजाको हातबाट टीका ग्रहण गरेको तस्बिरसहित सार्वजनिक गरेकी छिन् ।