
काठमाडौं- आगामी २३ कार्तिकका लागि तय भएको सन्दीप लामिछानेको बलत्कार मुद्दाको फाइनल पेसीमा उनका मुख्य कानुन व्यवसायी सरोज कृष्ण घिमिरे अनुपस्थित रहने सम्भावना बढेको छ। अधिवक्ता घिमिरेले देशबाहिर रहेकाले फाइनल बहसका लागि २३ कार्तिकमा हुने सुनवाईमा उपस्थित नहुने उनी निकट स्रोतले जनाएको छ।
सन्दीपको अन्तिम पेसी अघि उनलाई नेपाल क्रिकेट संघले आगामी टी-२० विश्वकप छनोटका लागि टोलीमा समावेश गरेको छ। शनिबार क्यानले १५ सदस्य टोलीको घोषणा गरेको हो। उनले यसअघि त्रिकोणात्मक टी-२० सिरिजमा भने मानसिक स्वास्थ्यका कारण खेल्न असमर्थ रहेको भन्दै टिमबाट नाम फिर्ता लिएका थिए।
घिमिरे मानव अधिकार सम्बन्धी कार्यक्रममा भाग लिनका लागि स्विट्जरल्यान्डको जेनेभामा रहेकाले उनी सन्दीपको फाइनल पेसीमा अनुपस्थित रहने सम्भावना रहेको हो। उक्त कार्यक्रममा सहभागि भएपछि घिमिरे अर्को हप्ता फ्रान्सको पेरिसमा हुने अन्तर्राष्ट्रिय बार एसोसिएसनको वार्षिक साधारण सभामा भाग लिन त्यसतर्फ प्रस्थान गर्ने भएकाले उनले २३ कार्तिकमा हुने सन्दीपको पेशी लगभग गुमाउने छन्।
स्रोतका अनुसार घिमिरे बिचमै कार्यक्रम छाडेर आउने सम्भावना कमजोर भएकाले सन्दीपको फाइनल पेसीको सुनवाई सुरु भएमा उनको उपस्थिति हुने छैन्। उनको कार्यक्रम आगामी २९ अक्टोबर देखी ४ नोभेम्बर सम्म हुने छ। त्यसपछि उनी अन्य केही कार्यक्रममा सहभागिताका लागि अन्य देश प्रस्थान गर्ने कार्यतालिका रहेको छ।
अधिवक्ता घिमिरेले उक्त कार्यक्रममा २ वटा सेसनका लागि कार्यपत्र प्रस्तुत गर्नका लागि आमन्त्रण गरिएको जनाइएको छ। अघिल्लो वर्ष पनि यो सम्मेलनका लागि अधिवक्ता घिमिरे अमेरिका प्रस्थान गर्दा थुनछेक बहसमा अनुपस्थित भएका थिए।
स्रोतका अनुसार अधिवक्ता घिमिरे पेरिस पछि बेल्जियम को ब्रसेल्स हुँदै संयुक्त अधिराज्यको लन्डन बाट बिभिन्न कार्यक्रममा सहभागिता पछि मात्रै फर्किने छन्। जसले गर्दा उनले सन्दीपको २३ कार्तिकको पेसी भ्याउने सम्भावना कमजोर छ।
अधिवक्ता घिमिरेसँग सम्पर्क गर्दा उनले अन्तिम सुनुवाइका लागि २३ कार्तिकमा आउने सम्भावना कमजोर रहेको बताए। उनले भने ‘अदालत ले प्रमाण र वस्तुगत आधारमा मुद्दा निर्क्योल गर्ने हो। मुद्दाका विषय बस्तु, प्रमाण र प्रस्तुति का विषयमा कानुन व्यवसायीको टिमसँगको छलफलपछि म बाहिरको यात्रामा निस्किएको हो। त्यसैले बहस भएमा अन्य साथीहरू तयारी अवस्थामा हुनुहुन्छ।’
उनले फौजदारी न्यायमा अदालतलाई स्वतन्त्रतापूर्वक फैसला गर्न अवरोध कसैले गर्न नहुने बताए। घिमिरेले भने ‘सन्दीपको मुद्दामा मिडिया ट्रायलका प्रयासहरू भइरहेका छन्। प्रायोजित रुपमा धेरै कुराहरू भावनात्मक रुपमा बाहिर ल्याउन खोजिएको छ। जसले मुद्दालाई प्रभावित पार्ने प्रयास भएका छन्। नियोजित रूपमै भइरहेका यस्ता प्रयासमा मेरो आपत्ति छ।’
यद्यपि उनले थपे ‘फौजदारी न्याय को आधार र अभियोग लगाउने को प्रमाणको भार र प्राप्त प्रमाणको वस्तुगत आधार मुख्य हुने भन्दै अदालतले प्रमाणका आधारमा फैसला गर्ने भएकाले प्रमाण झुटा हुन् भने त्यसको वास्तविकता को जाँच बुझ गर्नु पर्छ। अन्यथा मिडिया पूर्वाग्रही भयो भने फौजदारी न्याय सङ्कटमा पर्छ।’