
झापा – अन्तर्राष्ट्रिय झापाली समाजका नवनिर्वाचित पदाधिकारीहरूले झापामा परोपकार तथा लगानीका क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार बिहान झापाको बिर्तामोड २ स्थित सहारा नेपाल साकोसको केन्द्रीय कार्यालयमा आयोजित स्वागत-सम्मान तथा बधाई कार्यक्रममा उनीहरूले त्यस्तो प्रतिवद्धता जनाएका हुन् ।
समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुंगानाले झापाली लगानीकर्ताहरूसंग मिलेर काम गर्ने बताए । झापामा स्थापित एकका लागि एक अभियानद्वारा स्वागत-सम्मान तथा बधाई कार्यक्रममा बोल्दै ढुंगानाले परोपकार, लगानी तथा अन्य कामका लागि एकद्वार प्रणालीबाट कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हामी स्थानीय लगानीकर्ता तथा अन्य क्षेत्रका व्यक्तिहरूसंग सल्लाह गरेर काम गर्नेछौं ।’
अन्तर्राष्ट्रिय झापाली समाजका प्रथम अध्यक्ष तथा वर्तमान संरक्षक दिनेशकुमार पोखरेलले ‘पोजिटिभ माइन्डसेट’ भएका व्यक्ति झापामा थुप्रै रहेकाले सकारात्मक कामका लागि अन्तर्राष्ट्रिय झापाली समाज तयारी रहेको बताए ।
समाज स्थापना भएको ६ बर्षे कार्यकालमा धेरै काम भएका तर अझै धेरै काम गर्न बाँकी रहेको पोखरेलले बताए ।
समाजले कोभिड महामारीका बेला झापामा पिसिआर ल्याब तथा अक्सिजन बैंक स्थापना गर्न ३५ लाख रुपैयाँ सहयोग गरेको थियो ।
एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले विपदका बेलाका लागि स्थायी आयस्रोत बनाएर काम गर्ने योजना रहेको बताए । उनले अहिले पनि ८० लाख रुपैयाँ अभियानको खातामा रहेकाले सोही रकमलाई बढाएर स्थायी कोष खडा गरेर विपदका बेला काम गर्ने तयारी भइरहेको बताए ।
अभियानका सह-संयोजक विनोद बस्नेतले कोभिड संक्रमणका बेला धेरै झापालीहरूको चुलो बाल्न अन्तर्राष्ट्रिय झापाली समाजले गरेको योगदान अतुलनीय रहेको बताए ।
अन्तर्राष्ट्रिय झापाली समाजले आगामी दुई बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पाएको छ । समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन हालै झापामा सम्पन्न भएको थियो ।