ट्रेकिङ शुल्कविरुद्ध मर्दीका पर्यटन व्यवसायी

ट्रेकिङ शुल्कविरुद्ध मर्दीका पर्यटन व्यवसायी
+
-

पोखरा – माछापुच्छ्रे गाउँपालिकाले गत शुक्रबार पदयात्रामा आउने पर्यटकसँग शुल्क उठाउने सूचना जारी गर्‍यो। गाउँपालिकाभित्र पर्ने पदमार्गमा पदयात्रा गर्ने विदेशी पर्यटकले ५ सय रुपैयाँ र नेपाली पर्यटकले १ सय रुपैयाँ शुल्क तिर्नुपर्ने तोकिएको छ।

उठाएको शुल्क पूर्वाधार निर्माणमा खर्चने गाउँपालिकाले जनाएको छ। असारको गाउँसभाले पारित गरेर हालैको कार्यपालिका बैठकबाट भएको निर्णयअनुसार सार्वजनिक सूचनामा भनिएको छ, ‘पर्यटकको सुविधालाई ध्यानमा राखि गाउँपालिकाले पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहोरमैला व्यवस्थापन लगायतका सुविधा निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिइनेछ।’

माछापुच्छ्रेको माछापुच्छ्रे मोडल ट्रेक, ग्रेट माछापुच्छ्रे ट्रेक, घलेखर्क ताराहिल ट्रेकलगायत पर्यटकको रोजाइमा छन्। पहिलो चरणमा माछापुच्छ्रे मोडल ट्रेक (मर्दी हिमाल)को लोक्याम्पमा र ग्रेट माछापुच्छ्रे ट्रेकको खुमैं–कोर्चाङअन्तर्गत लुब्रुकमा शुल्क उठाउने तयारी छ।

गाउँसभाबाट पारित आर्थिक ऐन २०८० को अनुसूची ६(७)अनुसार गाउँपालिकाले पदयात्रीबाट शुल्क उठाउन लागेको हो। आगामी हप्तादेखि कार्यन्वयन गर्ने भनिएको गाउँपालिकाको यो निर्णयले माछापुच्छ्रे मोडल ट्रेक (मर्दी हिमाल पदमार्ग) का पर्यटन व्यवसायी भने असन्तृष्ट छन् । कोरोनापछि लय समात्दै गरेको मर्दीको पर्यटन सिध्याउन गाउँपालिका उद्धत रहेको व्यवसायीको आरोप छ।

गाउँपालिकाको निर्णय मर्दी ट्रेकलाई नै केन्द्रीत गरेर भएको मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्णबहादुर गुरुङको आरोप छ । ‘माछापुच्छ्रे गाउँपालिकामा कुनै त्यस्तो ट्रेक छैन जो यो निर्णयले असर गर्ने। सिर्फ यो मर्दी ट्रेकलाई असर गर्ने महसुस गरेका छौँ। त्यो भएको कारणले घोर विरोध गर्छौं’, उनले भने। गाउँपालिकाले यो निर्णय फिर्ता लिनेमा उनी विश्वस्त छन्। गाउँपालिका पेलेर जाने अवस्थामा प्रतिकार उत्रने उनको चेतावनी छ।

मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङ गाउँपालिकाको निर्णय काँचो भएको बताउँछन्। ‘हामीसँग राय सल्लाह नलिइकन एकलौटी तरिकाले शुल्क निर्धारण गरिएको छ’, उनी भन्छन्, ‘भर्खरै फस्टाइरहेको पर्यटनलाई असर गर्छ। कमसेकम हामीसँग पनि सल्लाहा लिनुपर्थ्यो।’

उनले मर्दी क्षेत्रको विकासमा स्थानीय सरकारको लगानी शून्य रहेको तामाङले बताए। पूर्वाधार निर्माणको नाममा गाउँपालिकाले शुल्क उठाउनु जायज नभएको उनको भनाइ छ। ‘गाउँपालिकाको निर्णयमा फोहोर व्यवस्थापन, सोलार बत्ती जडान गर्ने भनिएको छ। अहिलेसम्म हामी स्वयंम व्यवसायीहरुले पैसा उठाएर बाटो मर्मत, रेखांकन, सूचना बोर्ड राख्दै आइरहेका छौँ’, उनले भने।

माछापुच्छ्रेले पदयात्रामा आउने पर्यटकसँग शुल्क उठाउन सुरु गरे विदेशी पर्यटक तेहेरो मारमा पर्नेछन्। मर्दीलगायतका पदयात्रामा आउने विदेशी पर्यटकसँग पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले संयुक्त रुपमा पदयात्रा सूचना प्रणाली (टिम्स) बापत विदेशी पर्यटकसँग शुल्क लिन्छ। टिम्सबापत सार्क देशका पर्यटकले १ हजार र सार्कबाहिरका विदेशी पर्यटकले २ हजार रूपैयाँ लिने गरेको छ।

यस्तै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पनि यहाँका पदमार्गमा प्रवेश शुल्कको नाममा रकम असुल्दै आइरहेको छ। एक्यापले सार्क देशका पर्यटकसँग १ हजार रुपैयाँ र सार्क बाहिरका विदेशी पर्यटकसँग ३ हजार रूपैयाँका दरले प्रवेश शुल्क लिने गरेको छ।

तेहेरो शुल्कले विदेशी पर्यटकमाझ नकरात्मक सन्देश जाने मर्दीका पायोनियर पर्यटन व्यवसायी रशेमलाल गौतमको चिन्ता छ। ‘विदेशी पर्यटकले टिम्स एक्यापलाई पनि तिर्न पर्ने भएकाले नकरात्मक सन्देश जान सक्छ’, उनले भने। आफ्नै देश घुम्नलाई शुल्क तिर्नु नेपालीका लागि उपयुक्त नभएको उनको ठम्याइ छ।

गाउँपालिकाको निर्णयमा जनप्रतिनिधिकै पनि असन्तृष्टि छ। ‘सरोकारवालासँग एक पटक छलफल गरेर शुल्क उठाउने निर्णय गर्नुपर्ने थियो’, एक कार्यपालिका सदस्यले भने। गाउँसभाले निर्णय गरे पनि कार्यन्वयनमा जानुअगाडि सरोकारवालाको राय लिनुपर्ने उनको तर्क छ।

उसो त मर्दी र खुमैंडाँडा–कोर्चाङ क्षेत्रमा गाउँपालिकाकै जनप्रतिनिधिकोसमेत होटल व्यवसायमा लगानीसमेत छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?