
मोरङ – मोरङमा आयुर्वेद उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ।
बुधबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा आयुर्वेद उपचारमा संलग्न चिकित्सक तथा बिरामीका आफन्तले बताएका हुन्।
विराटनगरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. केनिन राईले आयुर्वेद उपचारमा आकर्षण बढेसँगै बिरामीमा समेत सचेतना फैलिएको बताए।
आयुर्वेद उपचारका क्रममा देखिएको नतिजा उत्साहप्रद रहेको बताउँदै डा. राईले स्थानीय तहमा रहेका औषधालय र नागरिक आरोग्य सेवा केन्द्रको औचित्यता बढ्दै गएको उल्लेख गरे।
यद्यपि, आर्थिक अभावका कारण केही सेवा प्रवाहीकरणमा समस्या देखिदै आएको उनको भनाइ छ। उनले भने, ‘मोरङका स्थानीय तहमा आयुर्वेद सेवा उपलब्ध छ। तर, आर्थिक अभावका कारण कतिपय सेवामा समस्या रहेको छ।’
विराटनगरमा हाल १५ शैयाको केन्द्रबाट सेवा प्रवाह हुँदै आएको बताएका डा. राईले केन्द्रमा दैनिक २ सयसम्म बिरामी उपचार सेवाका लागि पुग्ने गरेको बताए।
विराटनगर केन्द्रमा नसा, मांसपेशी, हड्डी, अम्लपित्त, श्वासप्रश्वास, छालारोग, मानसिक विकार, स्त्री रोग, नाक, कान, घाँटीलगायतका रोगको उपचार हुँदै आएको छ। आयुर्वेदिक औषधालय र नागरिक आरोग्य सेवाकेन्द्रमार्फत ९ वटा स्थानीय तहमा सेवा उपलब्ध हुँदै आएको छ।
मोरङको विराटनगर, उर्लाबारी, लेटाङ, कानेपोखरी, मिक्लाजुङ, बेलबारी, रतुवामाई, जहदाँ र रंगेलीमा आयुर्वेद सेवा सन्चालनमा छ। त्यसबाहेक अन्य ८ वटा पालिकामा यो सेवा पुग्न सकेको छैन।