
बुटवल – प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान राजनीतिक र आर्थिक संकट समाधानका लागि प्रमुख राजनीतिक दलहरू एकै स्थानमा उभिएर अपिल गर्ने तयारी भइरहेको बताएका छन्।
बुटवलमा बिहीबार सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको २५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले त्यसका लागि मुख्य राजनीतिक दलहरूबीच समझदारी पनि भएको बताए।
उनले मुलुकले भोगिरहेको आर्थिक दबाब कम गर्नका लागि सरकारले विशेष कार्ययोजना ल्याउने तयारी गरेको बताए। अर्थतन्त्र सुधार गर्नका लागि मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको र सरकारको निरन्तर दबाबमा बैंकको ब्यादरसमेत विस्तारै घटाइरहेको उनले बताए।
मुलुकको अर्थतन्त्र सुधार उन्मुख रहेको बताउँदै प्रधानमन्त्री दाहालले देशको अवस्था बिग्रियो भनेर निरास नहुन आग्रह गरेका थिए। रेमिट्यान्स बढेको तथा विदेशी मुद्रा सञ्चितिमा समेत वृद्धि भएको र पछिल्लो समय पर्यटन व्यवसायमा सुधार देखिएकोले देशको अर्थतन्त्र छिटै सुधारको बाटोमा गएको देखिने बताए। उनले विदेशी पर्यटक आगमन र राजश्व वृद्धिमा अपेक्षित सकारात्मक ट्रेन्ड देखा पर्दै गएकाले निरास नहुन आग्रह गरे।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको बताउँदै स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए।
उनले गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २ हजार ८ सय शैय्या निःशुल्क उपलब्ध गराइएको जानकारी दिए। उनले आम्दालाई अन्तरराष्ट्रिय स्तरको स्वास्थ्यसंस्थाका रुपमा परिचित गराउनका लागि भूमिका निर्वाह गर्ने बताए।
यसअघि प्रधानमन्त्री दाहालले आम्दामा २ सय शैय्याको अस्पताल भवन र पुस्तकालयको शिलान्यास तथा शैक्षिक कार्यक्रमको उद्घाटन गरेका थिए।
अस्पतालको स्तरवृद्धि गरी महिला र बालबालिकाका लागि सुविधासम्पन्न विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार अस्पताल भवनको शिलान्यास गरिएको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।
उनले आम्दामा १ सय शैयामा थप २ सय शैया थप गरी ३ सय शय्यामा पुर्याउँदै यस क्षेत्रमै महिला तथा बालबालिकाको स्वास्थ्य उपचारमा विशिष्टीकृत अस्पतालको रुपमा स्थापित गर्ने बताए। उनले यसै शैक्षिक सत्रदेखि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तरगत प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीनवटा शैक्षिक कार्यक्रम सञ्चालन गरेको बताए।
उनले आम्दामा स्वास्थ्य र शिक्षा क्षेत्रमा एकसाथ दुईवटा काम भएको बताउँदै एउटाले स्वास्थ्य सेवामा सुधार ल्याउने र अर्कोले जनशक्ति उत्पादन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
२०५५ कार्तिक १६ (सन् १९९८ नोभेम्वर २) मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही बीच त्रि(पक्षीय समझदारी भई ५० शैयाबाट शुरुवात भएको सिद्धार्थ बाल तथा महिला अस्पताल हाल १०० शय्याको क्षमतामा सञ्चालनमा रहेको छ।