
नलगाड, जाजरकोट- नलगाड नगरपालिका वार्ड नं. ७ को प्राथमिक अस्पतालको परिसरमा शुक्रबार राति गएको भूकम्पमा परेका बिरामी र उनीहरूका कुरुवा छन्।
त्यहीँ छिन्- चारगाउँ, पोखरा, नलगाड नगरपालिका वडा नम्बर ५ की ६७ वर्षीया नन्दकला वली जसको तीन तले घर भूकम्पले क्षतविक्षत बनाइदियो। भूकम्प गएको बेला नातिनीसँग सुतिरहेकी उनले घर पूर्ण रूपमा ढलेपछि मात्र थाहा पाइन्। उनी आफैँ जेनतेन गरेर निस्किन्। सँगै सुतेकी नातिनीको भूकम्पमा मृत्यु भयो। नन्दकलाको देब्रे खुट्टा, टाउको र छातीमा चाेट लागेको छ। शरीर र छाती दुखेकाले उनी राम्राेसँग निदाउन सकेकी छैनन्। उनलाई उनकी छोरी मनीषा वली थापाले काखमा च्यापेर राखेकी छन्।
भानुभक्त माविमा कक्षा ८ मा पढ्ने उनकी १४ वर्षकी नातिनी रविना वलीलाई वरिपरिकाले उद्धार गरेर निकाल्दा अलिअलि सास बाँकी रहे पनि उनलाई बचाउन सकिएन। चारजना छोरा र एक छोरी छन् उनका। जेठो छोरासँग बस्दै आइरहेकी थिइन्।
भुइँतलाभन्दा माथिको तलामा नातिनीसँग सुतेकी उनले घर ढलेको पत्तै पाइनन्। सबैभन्दा माथिको तलामा सुतेका जेठा छोरा महेन्द्र वली र बुहारी माया वलीमध्ये छोरालाई चाेट लागेको थियो। उनलाई शनिबार बेलुका प्राथमिक अस्पातलबाट डिस्चार्ज गरिएको छ भने बुहारीलाई सामान्य चाेट लागेको थियो।
भूकम्प आउँदा घरमा ६ जना थिए।
उनको ठूलो नाति रमेश वली भने लोकसेवा परीक्षाका लागि सुर्खेत गएका थिए। घटनापछि उनी नलगाड फर्किसकेका छन्। माइलो नाति दिनेश वलीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको र अहिले होस आएको खबर आएको उनकी छोरीले बताइन्।
कान्छो नाति महेश वली भने भूकम्पले बेस्सरी हल्लाएपछि जुरुक्क उठेर बाहिर निस्किँदा केही भएन।
उनले आँखा रसिलो पार्दै भनिन्- ‘घर सबै गयो, लालाबाला पनि थिए। उनीहरु पनि भूकम्पमा परे।’
उनकी छोरी रुकुममा छिन्। शुक्रबार मध्यराति ११:४७ मा आएको भूकम्पपछि उनलाई आफ्नो माइतीमा केही भयो कि भन्ने शंका लाग्यो। उनले धेरैपटक फोन गरिन्। तर उठेन। ‘पछि कान्छो दाइले उठाउनु भयो, अनि म पनि यहाँ आइपुगेँ,’ उनले भनिन्।
उनले बच्चालाई उतै जेठाजुकहाँ छाडेर आएको बताइन्। ‘म पनि एक्लै छोरी थिएँ। मेरी भदिनी पनि एउटा थिइन् तर भूकम्पमा उसलाई हामीले गुमायौँ,’ उनले भनिन्।
नन्दकलाका अनुसार उनले पहिलोपटक भूकम्पको अनुभव गरेकी हुन्। ‘कस्तो गराउँछ भनेर सुनेकी थिएँ पहिला, अहिले आफैँ परेँ,’ उनले भनिन्।