
जाजरकोटको नलगाड नगरपालिका चामाखेत- ७ की भगवती परियार भूकम्प आउने रात ९ बजे खाना खाएर कपडा सिलाएपछि सुत्न कोठामा गइन्। उनका श्रीमान् घर नजिक नेट चलाउन निस्केका थिए। ३ तलाको घर माथिलो २ तल्ला बनाएको ५-६ वर्ष भयो। त्यो रात घरमा ८ जना घरभित्र थिए, जसमध्ये ५ जनाको मृत्यु भएको छ।
माइली छोरी सविता परियार विवाहित, साइँली १५ वर्षकी ८ मा पढ्ने छोरी र १ वर्षको नाति छोरीको छोरा साथै पाहुना हुन आएका २ जना गरेर एकै घरमा ५ जनाको मृत्यु भयो।
सरिताले भनिन्, ‘बीचको तल्लामा सुतेका ५ जनाको मृत्यु भयो। कान्छी छोरी जेठी छोरीकोमा गएकी थिइ, त्यहाँ नि तिनीहरू पुरिए। छोरीको जेठाजुले निकाल्नु भएछ। मेरो जेठो छोरा समीर (२१ वर्ष) र बुहारी विपना (१७) जो गर्भवती पनि थिइन्, उनीहरू भने बचे। श्रीमान् र कान्छो छोरा घर नजिक बाहिर भएकाले बचेका हुन्।
‘खै मलाई किन बचाएको होला? मेरा छोरीहरू, नातिको यस्तो अवस्था देख्न?’, उनले भावह्विल हुँदै सुनाइन्।
सरिताले भूकम्प आएको आफूले थाहा नपाएको बताइन्। ‘मलाई के भयो केही थाहा छैन। अलि-अलि मलाई बचाऊ भनेपछि उद्धार गरेर निकालियो’, उनले भनिन्।
सरितालाई गाउँलेहरूले उद्धार गरेर २ बजेतिर निकालेका थिए। उनको ४ वटी छोरी २ छोरा हुन्। जसमा २ छोरीको मृत्यु भएको छ। त्यस्तै, उनको बुहारी विपनाले पनि आफूले केही थाहा नपाएको बताइन्। उनले भनिन्, ‘मैले त श्रीमानले फालेको पनि थाहा पाइँनँ।’
५ जनामध्ये पाहुना आएका २ जनाको दाहसंस्कार हिजो गरिएको छ भने आज भगवतीका २ छोरी र नातिको दाहसंस्कारका लागि लाग्दै गर्दा सिंगो गाउँ शोकमा थियाे।
भगवतीसँगै उनको परिवार भावह्विल छ। उनीहरू शवलाई अन्तिम संस्कारको लागि विफे बाजा बजाउँदै लगियो। भगवतीसँगै सिंगाे गाउँ भावह्विल हुँदै परसम्म आफ्ना प्रियलाई हेरिराखे…!