
पोखरा – ‘पुतली बाजे’ नामबाट परिचित कलिन फिलिप स्मिथको अन्त्येष्टि गरिएको छ। सोमबार दिउँसो पोखराको गाईघाटमा क्रिश्चियन परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो।
स्मिथकै चहानाअनुसार उनको शव गाडिएको छ। नेपालमा पाइने ६ सय ४० प्रजातिभन्दा बढी पुतलीबारे खोज अनुसन्धान गरेका बेलायती नागरिक कलिन फिलिप स्मिथको शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएको हो।
उनी पछिल्लो २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरबाट ग्रसित थिए। हरियोखर्क अस्पताल पोखरामा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
अन्तिम संस्कारपूर्व ‘पुतली बाजे’ को पार्थिव शरीर पृथ्वीनारायण क्याम्पस पोखराको पुतली संग्रहालयमा राखिएको थियो। जहाँ स्मिथले ४० भन्दा बढी जिल्लामा पुगेर संकलन गरेको २५ हजार पुतली संगृहीत छ। ०२३ मा खुलेको अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियम अहिले पुतली संग्रहालयको रुपमा चिनिन्छ।
पोखरा महानगरपालिकाले उनको पार्थिव शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम बिदाइ गरेको छ।
पुतली संग्रहालयमा पार्थिव शरीरमाथि श्रद्धाञ्जली दिँदै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको शैक्षिक विकासमा स्मिथको योगदानको चर्चा गरे।
‘उहाँले पोखरा, गोरखा र काठमाडौंमा शिक्षण गर्नुभयो। जब गण्डकी बोर्डिङ स्कुलमा शिक्षण थाल्नुभो पुतलीसँगको उहाँको आत्मीयता बढेको हो’, आचार्यले स्मरण गरे। देश छाडेर पोखरालाई रोज्दै पोखरामै मर्न पाऊँ भनेर स्मिथले आकांक्षा राखेको उनले सुनाए। स्मिथका सहकर्मी शिक्षाविद् जर्ज जोनले नचिनेका नजानेका मान्छेका निम्ति स्मिथले जीवन समर्पित गरेको बताउँछन्।
‘उहाँले केही पाउनुभएको छैन, दिनु मात्रै भयो’, उनी भन्छन्, ‘नेपालमै ५८ वर्ष बिताउनुभयो। उहाँले केही पाउनुभएन। उहाँले आफ्नो जीवनबाट केही पाठ सिकाउनुभएको छ।’ उनले सिकाएको पाठबाट देशप्रति समर्पित हुनुपर्ने उनको भनाइ थियो।
स्मिथ ०२२ सालमा युनाइटेड मिसन टु नेपालमार्फत शिक्षणका लागि नेपाल आएका थिए। युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकाएका उनी विश्वविद्यालयको अध्यापन छाडेर पोखरा हान्निएका थिए। पोखरा लामाचौरस्थित नेपाली आदर्श विद्यालयबाट अध्यापन सुरु गरेका उनले पोखरा र गोरखाका विभिन्न स्कुलमा अध्यापन गराए। गोरखामा उनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै डा. उपेन्द्र देवकोटालाई समेत अध्यापन गराएका थिए।
स्मिथका पुतलीबारे ३० भन्दा बढी किताब प्रकाशित छन्। उनले ०७६ मंसिर १६ गते मानार्थ नेपाली नागरिकता पाएका थिए। नागरिकताका लागि सन् १९९० देखि नै आवेदन दिन थालेका थिए।
नेपाल सरकारले दिने वृद्धभत्ता र बेलायत सरकारबाट पाउने पेन्सन मासिक १२५ पाउण्डले उनको जीवन निर्वाह भइरहेको थियो।
आफूलाई मृत्युपछि सेती नदी किनारमै अन्तिम बिदाइको इच्छा देखाउँदै आएको उनी निकटस्थहरूले बताए। थलिएपछि अस्पतालको उपचारकै क्रममा आफ्नो मृत्युपछि कफिनसमेत किन्नलाई आफैँले बचत गरेको रकम खर्चन उनको आग्रह थियो।