
वानखडे मैदानमा अस्ट्रेलिया र अफगानिस्तानबिचको विश्वकपको रोमाञ्चक खेल विश्वभरका क्रिकेट समर्थकका लागि अविश्वसनिय रह्यो। कुनैपनि क्रिकेट समर्थकले विश्वास गर्न गाह्रो मानिएको खेलमा अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २ सय १ रनको दोहोरो शतकीय अविजित इनिङ खेल्दै अफगानिस्तानमाथि ३ रनको रोमाञ्चक जित सहित अस्ट्रेलियालाई सेमिफाइनल पुर्याउन सफल भए।
म्याक्सवेल आफ्नो पारीमा घाइते भए, दुई पटक फिजियोमा आए, रन बनाउन गाह्रो भयो तर म्याक्सवेल न रोकिए न थाके। अफगानिस्तानले २९२ रनको लक्ष्य दिएको खेलमा एक्लै उनले अस्ट्रेलियालाई जिताइ छाडे। म्याक्सवेललाई ८ औं विकेटका लागि २०२ रनको साझेदारी गरेका प्याट कमिन्सले केवल ६८ बलमा १२ रन बनाएर साथ दिएका थिए। म्याक्सवेलले भने १ सय २८ बलमा २१ चौका र १० छक्का प्रहार गर्दै २ सय १ रनको सानदार इनिङमा टिमको जित निश्चित गरे।
त्यसअघि अष्ट्रेलियाले ९१ रनमा ७ विकेट गुमाएर कमजोर अवस्थामा रहेको थियो। यहाँबाट कंगारुको टिमको जित असम्भव देखिएको थियो तर पनि म्याक्सवेल अडिग रहेर टिमलाई एतिहासिक जित दिलाए। यस इनिङको आधारमा अष्ट्रेलियाले प्रतियोगितामा आफ्नो सबैभन्दा ठूलो रन चेज गर्न सफल भयो। म्याक्सवेलले विश्वकप इतिहासमा रन चेजको पहिलो दोहोरो शतक बनाएका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९१ रन बनाएको थियो। ओपनर इब्राहिम जाद्रानले अविजित १२९ रनको सानदार इनिङ्स खेले।
अफगानिस्तानलाई हराएसँगै अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनायो। अष्ट्रेलियाले ८ खेलमा ६ जितमा १२ अंक जोडेको छ भने टोली अंक तालिकाको तेस्रो स्थानमा छ। जबकि अफगानिस्तानको ८ खेलमा ४ जितबाट ८ अंकका साथ छैटौं स्थानमा रहेको छ।
यसअघिनै अष्ट्रेलिया बाहेक दक्षिण अफ्रिका र भारत पनि सेमिफाइनलमा पुगेका छन्। चौथो स्थानमा छनोट हुने दौडमा अफगानिस्तानसँगै न्युजिल्यान्ड, पाकिस्तान र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै छ।