
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जले भूकम्पका तीन जना घाइतेलाई काठमाडौं रिफर गरेको छ।
भूकम्पका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार जाजरकोट, पश्चिम रुकुम र सल्यानका एक/एक जनालाई रिफर गरिएको हो।
जाजरकोटका जुना विष्ट, पश्चिम रुकुमका धनसिंह रावल र सल्यानका मोहन विष्टलाई रिफर गरिएको छ। सबै घाइते १८ गते भेरीमा ल्याइएका थिए। तीनै जना विरामीमा किड्नीको समस्या देखिएको छ। उनीहरुलाई काठमाडौं टिचिङ अस्पतालमा पठाइएको छ।
भेरीमा ५३ जना घाइते आएका थिए। त्यसमा तीन जना डिस्चार्ज भएका छन्। १० जना बिरामीको अप्रेसन गरिएको छ । सबैजसो खतरामुक्त छन्।