
सिमकोट – चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा दश जना ज्येष्ठ नागरिकले नयाँ आँखा पाएका छन्। पहिलो पटक लिमीमा आँखा शिविर सञ्चालन भएकाले उक्त शिविरबाट दश जना ७० वर्षमाथिका ज्येष्ठ नागरिकको मोतिया बिन्दुको शल्यक्रिया सफल हुँदा नयाँ ज्योति पाएका हुन्।
लिमी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गोर्ख भण्डारीले विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविरमा दश जना ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया सफल भएको बताउँदै उनीहरूले नयाँ आँखाको ज्योति पाएको बताए।
अन्य ६३ जनाको आँखाको उपचार भएको थियोे। शल्यक्रिया गरिएका ज्येष्ठ नागरिक भने यसअघि आँखा नदेख्ने अवस्थामा रहेकोमा यस पटकको शिविरपछि आँखा दान पाएको सेवाग्राहीले बताए।
त्यसैगरी, ५६ जना अन्य रोगका बिरामीको उपचार शिविरका क्रममा भएको होे। शिविरमा सँगै लिमी पुगेका गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले यसअघि दुई पटक लिमीमा आँखा शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरिए पनि हिमपातले गर्दा नसकिएको तर यस पटक कात्तिक महिनामा लक्ष्य पूरा भएको बताए।
उनले सहजै कोही पनि आउजाउ गर्न सम्भव नहुने लिमीमा वर्षौंदेखि आँखाको रोगको समस्या भोग्दै आएका ज्येष्ठ नागरिकको समाधान भएको बताए।
लिमीका लागि यो शिविर ऐतिहासिक र महत्वपूर्ण रहेको उनको भनाइ छ। शिविरका लागि एक पाइला संस्थाबाट दुई जना चिकित्सकसहित दश जना स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको हो। शिविरमा प्रदान गरिएका सेवा सबै निःशुल्क प्रदान गरिएका थिए। यसका लागि गाउँपालिका र एक पाइला संस्थाको साझेदारीमा आर्थिक व्यवस्थापन गरिएको हो।