‘घर भन्नु पनि के छ र !’

‘घर भन्नु पनि के छ र !’
+
-

रुकुम पश्चिम – रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ भल्माको बस्ती उँधो ठूलीभेरी सुसाउँदै बग्छ। भीमा ओली (४०) को मन उसैगरी सुसाइरहेछ।

त्रिपालभित्रको उकुसमुकुसबाट निस्केर बाहिर नियाल्छिन्, ओत लाग्ने घर त गर्ल्यामगुर्लुम ढलेको देख्छिन्। त्यो दृश्यले उनको मन चसक्क चर्कन्छ, जसरी घरको भित्ता चर्किएर ढलेको छ।

६ जनाको ओत लाग्ने घर भूकम्पको धक्काले ढलेपछि उनलाई छटपटीको पराकम्पनले सताइरहेको छ।

न खाने अन्नको गेडा रह्यो न लगाउने एकसरो कपडा। सबै सबै ओत लाग्ने घरले पुरिदियो। जहाँ उनलाई जीवन सुरक्षित लाग्थ्यो, त्यही घरले उल्टो डरको पराकम्पनहरु पैदा गराइरहेको छ।

‘घर हेर्नै मन लाग्दैन। घरको आसपास आउँदा पनि डर लाग्छ। घर भन्नु पनि के छ र?’, भत्किएको घर देखाउँदै उनले सुनाइन्।

जाजकोरटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पले घर भत्किएपछि भीमासहित उनका श्रीमान् र २ छोरा पुरिए। ‘श्रीमान्‌ले नै मलाई र छोराहरुलाई निकाल्नुभयो’, उनले भनिन्, ‘भुकम्प गएको थाहै भएन। होस् आउँदा त घरले थिचेर जिउ भारी भएको थियो।’

एक घण्टापछि उद्धार गरेर उनको परिवारलाई राडी बजारस्थित स्वास्थ्य संस्थामा पुर्‍याइएको थियो। दुई दिनको अस्पताल बसाइपछि शरीरमा लागेको चोट निको भएर घर फर्किएका उनको मन र दिमागको चोट झनै गहिरिएको छ।

मानसिक रुपमा विक्षिप्त भएको उनले कुराकानीमा सुनाइन्। ‘भूकम्प फेरि आउने हो कि भन्ने लाग्छ। त्यत्तिकै भूइँमा हेरे पनि जमिन ढक्किया हो कि आङ ढक्किया हो… ’, उनले भनिन्।

मिर्मी कुसारी (५०) को ज्यानलाई सन्चो देखिए पनि मनलाई निको छैन। न खाने ठेगान छ न बस्ने। राहतमा पाएको त्रिपालमा चिसो रात बिताइरहेकी उनलाई निन्द्रासमेत पर्दैन।

भूकम्पको पराकम्पले उनको दिमाग अझैं हल्लाइरहेको छ। ‘मुटु ढकढक गरेको गर्‍यै गर्छ। राति निन्द्रा पर्दैन्। दिनमा खान मन लाग्दैन’, कुसारीले थपिन्, ‘अहिले आइगो कि झैं लाग्छ। रुख हल्लदा पनि भूइँचालो आए झैं लाग्छ।’

बस्नै नमिल्ने गरी भत्किएको घरगोठले अर्को चोट चपेको उनले बताइन्। अब घरगोठ कसरी बनाउने? चिन्तामै दिन बितिरहेको उनले सुनाइन्।

‘बारीको पाटामा सुत्याछौँ। छोराछोरी साना छन् हजूर। कमाउने कोही छैनन्। कल्ले हाल्देला घर? कहाँ बस्ने होला ? छोरीको बिहे भैगो। बुराबुरी छम्। छोरा लास्टाका सानै छन्’, कुसारीले भनिन्, ‘छोराले अहिल्यै कमाउन सक्दैनन्। आफ्नो उमेर गैगो। अब मुस्किल छ!’

घर भए पो ढुक्क हुने उनको भनाइ थियो। हिउँदको चिसोमा पानी आए कसरी रात कटाउने उनले आफैंसँग प्रश्न गरिरहेकी छन्। सरकारले बनाइदिए पनि चाँडो गर्नुपर्ने उनको भनाइ छ।

लिला खड्का (७७) लाई पनि अब बुढेसकालमा घर बनाउन सकिएला कि नसकिएला प्रश्नले सताइरहेको छ। भूकम्पले घर ढलेर उनलाई बेस्सरी थिच्यो। भत्किएको घरमा पुरिएकी उनलाई छरछिमेकले बेलैमा निकालेपछि भाग्यले बाँचेकी उनी बाँचुन्जेल त ओत लाग्ने घर चाहिने बताउँछिन्।

‘सरकारले घर बनाइदिएर अन्नपात दियो भने पो खान पाइएला। सबै पुरियो केही छैन’, उनले भनिन्।

जाजरकोट केन्द्रविन्दु भइ गएको भूकम्पले आठविसकोट नगरपालिकामा मात्रै ४२ जनाको मृत्यु भएको छ। ८० जना घाइते भएका थिए।

४ हजार २७५ घरमा पूर्ण क्षति भएको नगरप्रमुख रवि केसीले जानकारी दिए। उनका अनुसार २ हजार ३३७ घरमा आंशिक क्षति भएको छ। भुकम्पबाट १ हजार ७११ घरमा सामान्य क्षति भएको छ। उद्धार र उपचारपछि राहत वितरणमा लागिरहेको उनको भनाइ छ। ‘एकद्धार प्रणालीमार्फत सबैलाई समान तरिकाले वितरण गरिरहेका छौँ’, उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?