
काठमाडौँ – तिहारमा सयपत्री, मखमली फूलको छुट्टै महत्त्व छ। सयपत्री फूल तिहारमा माला बनाउन तथा पूजा गर्न प्रयोग गरिन्छ। तर, यो वर्ष सयपत्री फूलको बिक्री सोचेकोजस्तो नहुँदा फाल्नु परेको छ।
कालीमाटीमा व्यवसाय गर्दै आएकी कविता खतिवडाले गत वर्षजस्तो फूल बिक्री नभएको बताइन्। यसपाली २० रुपैयाँ किलो दिँदा पनि बेच्न नसकिएको उने बताइन्। ‘यो वर्ष पहिलाभन्दा धेरै फूल आएको र भारतको फूल नआउने भने पनि आएको छ,’ उनले भनिन्।
कुलेखानी इन्द्रसरोवर मार्खु–१ का मदन संगबु फूल बेच्न काठमाडौँ आएको आज तीन दिन भयो। उनले ६ लाख फूलमा लगानी गरे तर एक लाख जतिको मात्र बेचेको बताए।
‘पहिला १५ सयदेखि २ हजारसम्म पाँचवटा मालाको एउटा झोपा बेच्ने गरेको थिएँ। तर यो वर्ष एक सयको एक झोपा बेच्दा नि बेच्न सकिएन। माला बिग्रिन पनि लागे, निःशुल्क दिने अवस्था आयो। फाल्नु भन्दा त निःशुल्क दिने,’ उनले भने।
पाँच वर्षदेखि फूलको व्यवसाय गर्दै आएका उनले आफ्नो र किसानसँग किनेर फूल बेच्न ल्याएको बताए। किसानसँग प्रतिझोपा १२० रुपैयाँ तिरेर उनले खरिद गरेका थिए। घाटा खाएर दिँदा पनि बिक्री नभएको उनको गुनासो छ। पाँच वर्षमा आफूले पहिलो पटक यस्तो अनुभव गरेको उनको भनाइ छ।
‘तिहार ढिलो भयो, उत्पादन बढ्यो, भारतबाट पनि आयो। हाम्रो यो फूल १८ सय मिटरको उचाईमा फूलेको फूल हो। ६ लाखमा एक लाखको व्यापार भयो। धन्न गाडी आफ्नो हो, नत्र त कहाँ सक्नु तीन दिनसम्म गाडी राखेर,’ उनले भने।
यता ८ वर्षदेखि कालीमाटीमा व्यवसाय गर्दै आएका धादिङका सुरेश धितालको पनि उस्तै पीडा छ। पीडा भए पनि मुस्कुराउँदै भने,’फूल व्यापार त बिजोग छ नि यो वर्ष। तर के गर्नु। हामीले हरेक वर्ष किसानको लिन्छौँ। पहिलादेखि चिनेको किसानहरुसँग लिने हो। त्यहीअनुसार यो वर्ष पनि लिएका हौँ। ७०/८० हजार घाटा हुने देखिएको छ। अब भोलिसम्म राखौँ, नत्र फूल फाले हुन्छ।’
मकवानपुर कैलाश गाउँपालिका–६ का किसान रामचन्द्र कार्कीले ७ रोपनीमा सयपत्री रोपेका थिए। तीन वर्षदेखि यो सिजनमा सयपत्रीको खेती गर्न थालेका उनले यो वर्ष आफूले फूल बेच्न नसकेको बताए।
‘१ लाख ५० हजार लगानी गरेर फूलको खेती गरियो। १७/१८ हजारको फूल पनि बेचिसकेको छैन। अब भारतबाट आयात हुन्न भनिएको थियो। तर भारतबाट पनि आयात गरिए छ। बजारमा भारतबाट आयात गरिएको फूल पनि छ,’ कार्कीले भने, ‘तिहार ढिला भयो, फूल धेरै भयो। मेयर बालेन शाहले चार ठाउँ ठोक्नु भएको रहेछ। काठमाडौँ आएपछि उहाँहरुको प्रहरीले खदाउनु भयो। अनि भृकुटीमण्डप गए किन्न ग्राहक नै आउनु भएन। फेरि यहाँ आएको छु। तर व्यापार छैन।’
व्यापार सोचेजस्तो नहुँदा सयपत्री फूल खेर गएको छ। व्यापारीहरुले फूल फाल्नुपर्ने अवस्था आएको छ।