
पोखरा- कालिकाकी लक्ष्मी अर्याल खत्रीले पोहोर कोदो बारीको डिलमा फूलाएको सयपत्रीले २० हजार रुपैयाँ आम्दानी दिलायो । कोदोले खेतीले भन्दा गतिलो आम्दानी दिएपछि हौसिएकी उनले यसपाली पूरै ३ रोपनी जग्गामा ढकमक्क सयपत्री फूलाएकी छन् । अरु अन्नवाली लगाउने सोंचसमेत भएन उनको ।
पोखरा महानगरपालिका र श्री कम्पलेक्सको साझेदारीमा सञ्चालित रैथाने हाटबजारमा ४ दिनदेखि उनले फूलमाला बिक्री गर्ने उनले स्टल राखेकी छन् ।
एकाबिहानैदेखि अबेर साँझसम्म ग्राहकको प्रतीक्षामा हुन्छिन् । तर, स्टलमा फूल किन्न आउने ग्राहको संख्या नगन्य हुन्छ ।
तिहारमा टिपेर सक्नुपर्ने फूल बारीमै छ । उनका अनुसार एक चौथाइ फूल पनि टिपेर सकिएको छैन । तिहारको दिन दिदीबहिनीले दाजुभाइको गलामा पहिराइदिनुपर्ने फूल सुकेर खेरा जाँदैछ । ‘फूलहरू टिप्न पाछैन । बारीमै त्यत्तिकै छ । तीन रोपनी जग्गामा लगाएको फूल प्रशस्तै छ’, बिक्री नभएपछि उनले भनिन् ।
पोखराको चोकचोकमा फूल बेच्न हुँदा महानगरपालिकाले व्यवस्थापन गर्ने स्थलसम्म ग्राहक नआएको उनको गुनासो छ । ‘त्यो देख्दा साह्रै नमज्जा लाग्यो । बाहिरै रोडमा बेचेपछि त हाम्रो फूलै गएन’, उनी थप्छिन्, ‘मनमा साह्रै नमज्जा लाग्यो । यत्रो फूलहरू छ । यही फूल बेचेर घरमा रासनपानी किनौँला भन्नेथ्यो । कोदो रोप्न धान रोप्न छाडेर फूल लगाएकोसाह्रै निराश बनायो ।’
३ लाख रुपैयाँ आम्दानीको आश गरेकी उनलाई ५० हजार रुपैयाँ लगानी उठाउन मुस्किल भएको पीडा सुनाइन् । तैपनि उनले स्टलसम्म ल्याएको माला गाँस्न छाडेकी छैनन् ।
फूल नबिकेर उस्तै हैरान छन् चाउथेका दिपेश कोइराला । ६ रोपनीमा लगाएको फूल टिपेर रोपनी पनि सकिएको छैन । उनलाई लाग्छ, ‘सायद यसपालि स्थानीय फूलको उत्पादन राम्रो भएर होला पनि होला व्यपार भएन, मूल्य पनि पाएन ।’
विगतका वर्षमा सयपत्रीको माग निकै देखेर उनले यसपाली पनि निरन्तरता दिएको बताउँछन् । १० वर्षदेखि फूल खेतीमा लागेका उनले तितो अनुभव बटुलेका छन् । ‘बाहिर अरु जिल्लाबाट पनि आयो । छिमेकी मुलुकबाट पनि आयत रोक्ने भन्दाभन्दै पनि ल्याइयो’, ग्राहकको प्रतिक्षमा बसेका कोइराला भन्छन्, ‘यहाँका व्यपारीले स्थानीय फूललाई प्राथ मिकता दिएनन् । आफ्नो पसलमा भारतीय फूल नै धेरै बेचेँ ।’ ७ लाख रुपैयाँ फुल बेच्ने अनुमान थियो । अनुमानको २० प्रतिशत पनि व्यपार नभएको उनको दुखेसो छ ।
सुन्दरीबजारका केदार विश्वकर्मा सडकपेटीमै बेच्दा राम्रो आम्दानी भएको सुनाउँछन् । ‘अहिले फूलको व्यापार शून्य छ । डामाडोल जस्तै छ । गतवर्ष राम्रो थियो । यो ठाउँमा आइपुगेका थिएनौं, सडकको पेटीमा बिक्रीवितरण भाथ्यो राम्रो भयो’, उनको भनाइ थियो ।
गत वर्ष फूलको अभावका कारण राम्रो मुल्य पाएका केदारले अहिले १०० रुपैयाँ प्रतिकेजीमा बिक्री गर्न मुस्किल भएको बताए । महानगरले व्यवस्थापन गरेको स्थलबारे ग्राहकमा जानकारी नभएकाले शुनसान रहेको उनी अनुमान लगाउँछन् ।
सिद्धार्थ चोकमा रहेको श्रीकम्पलेक्समा झन्डै डेढ दर्जन फूल खेती गरेका किसानको स्टल छ । बिक्री नभएपछि सबै सबै निराश भेटिन्छन् ।
महानगरले सिद्धार्थचोक, विरौटा, कुँडहर, ठुली पोखरी, अमरसिंहचोक, कोलपाटन र बेगनासमा स्थानीय उत्पादन सयपत्रीको बिक्रीको व्यवस्था मिलाएको छ । फूलको ग्रेडिङ अनुसार मुल्य पनि तोकेको छ ।
‘ए’ ग्रेडको सयपत्री फूलको थुंगालाई ५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ । प्रति मालाको २ सय रुपैयाँ मूल्य तोकिएको छ । १५ देखि २० ग्रामको थुंगालाई महानगरले ‘ए’ ग्रेडको भनेको छ ।
१० देखि १५ ग्राम तौल भएको थुुंगालाई ‘बि’ ग्रेडमा वर्गीकरण गर्दै प्रति थुंगाको ४ रुपैयाँ र मालाको १८० रुपैयाँ मूल्य तोकिएको छ ।
५ देखि १० ग्राम तौल भएको ‘सि’ ग्रेडको थुंगालाई २ रुपैयाँ र मालाको १५० रुपैयाँ निर्धारण गरिएको छ । प्रतिकेजीको ४ सय रुपैयाँ मूल्य निर्धारण भएको छ ।
पोखरा महानगरपालिकाले सघाएरै १६० किसानले सयपत्री फूलखेती गरेका छन् । स्थानीय फूललाई प्राथमिकता दिँदै मूल्य तोकेर स्टलको व्यवस्थासमेत गरेको महानगरले बाहिरबाट आयतमासमेत प्रतिबन्ध लगाएको छ । तर, सडकपेटीमा फूल बेच्नेहरु छ्यापछ्याप्ती छन् । भारतीय फूलसमेत बजार भित्रिएको स्थानीय किसानको आरोप छ ।