
पोखरा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा प्रहरी समायोजन ऐन कार्यन्वयनमा आउने उद्घोष गरेका छन् ।
शुक्रबार तनहुँको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै उनले प्रहरी समायोजन ऐन बनिसकेको र कार्यन्वयन आउन मात्रै बाँकी रहेको बताए ।
पछिल्लो केही दिन ऐन कार्यन्वयनका लागि लगातार प्रहरी र गृहमन्त्रालयसँग छलफलमा जुटिरहेको उनले सुनाए । ‘केही दिनभित्र प्रहरी समायोजन ऐन कार्यन्वयनमा आउनेछ । र प्रदेश सरकारसँग लाठ्ठी हुनेछ । किनभने लाठ्ठी नभइ सरकार हुदैन’, प्रधानमन्त्री दाहालले भने, ‘जोसँग सेना छैन, पुलिस छैन । उस्ले ल एण्ड अर्डर कसरी मेन्टेन गर्ने ? लाठ्ठी हुनेछ ।’
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्बोधनकै क्रममा प्रधानमन्त्री दाहालसमक्ष प्रहरी समायोजन, जग्गा प्राप्ती र संघीय निजामती ऐनबिना प्रदेश सरकारको औचित्य पुष्टि गर्न नसकिने बताउँदै चाँडो बनाउन माग राखेका थिए ।
जवाफमा प्रधामन्त्री दाहाललेसंघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने पक्रिया अझै चलिरहेको बताए । उनले भने, ‘संघीयता जनताको निम्ति हितकारी छ भन्ने कुरा सावित गर्नलाई तीन वटा ऐन अपरिहार्य छन् भन्ने कुरा हामी सबैले बुझेका छौं । मैले अलि अरुले भन्दा बढी बुझेको छु कि भन्ने दाबी छ मेरो । ’ उनले थपे, ‘एउटा प्रहरी समायोजन ऐन । एउटा संघीय निजामती ऐन । अर्को संघीय शिक्षा ऐन । यि ऐनहरु भएमात्रै प्रदेश सरकार जस्तो हुन्छन् नत्र सरकार जस्तो हुदैन । जबसम्म प्रदेश सरकार हो भन्ने अनुभुति जनतलाई दिलाउन सकिदैन तबसम्म प्रदेशको महत्व के हो त्यले कसरी जनतालाई प्रत्यक्ष फाइदा दिएको हुन्छ भन्ने कुरा विश्वास दिलाउन पनि गाह्रो हुन्छ ।’