
काठमाडौँ – बुधबार काठमाडौँको भृकुटी मण्डपस्थित प्रदर्शनी कक्षमा मानिसहरूको आउजाउ बाक्लो थियो। यो भीडभाड हो— पुस्तक अवलोकन गर्नेहरूको।
सबै उमेर समूहका पाठकलाई एउटा राम्रो अवसर बनेको छ— ‘साउथ एसिया इन्टरनेशनल बुक फेयर २०२३ (नेपाल)। गत मंगलबार ५ गतेदेखि सुरु भएको पुस्तक प्रदर्शनीमा देश विदेशसहित १ सय ८० स्टलहरु रहेका छन्।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघ र करेण्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा देशविदेशका प्रकाशन गृहका पुस्तक र विविध शैक्षिक सामाग्री रहेका छन्।
दक्षिण एशियाली मुलुकका साथै चीन अमेरिका इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक उत्पादक तथा वितरकको सहभागिता रहेको छ। पुस्तक आयात—निर्यात गर्ने चीनको पहिलो एजेन्सी चाइना इन्टरनेशनल बुक ट्रेकिङ कर्पोरेशनलाई प्रदर्शनीमा विशेष अतिथिका रुपमा रहेको छ। जो प्रदर्शनीको आधा भागमा चाइना इन्टरनेशनल बुक ट्रेकिङ कर्पोरेशनको स्टलहरू रहेका छन्।
पुस्तकका साथै शैक्षिक सामाग्रीको प्रदर्शनी हुने यो मेला नेपालका शैक्षिक संस्था, सामुदायिक तथा संस्थागत विद्यालय कलेज, शिक्षक, विद्यार्थी अभिभावक एवं आमपाठकसम्मका लागि साझा चौतारी एवं शिक्षा साहित्य संस्कृतिको विकासमा टेवा पुर्याउने बताउँछन् कवि लेखक हरि अधिकारी।

हरि अधिकारी।
नेपालमा चर्चित पुस्तक प्रकाशकहरूको पनि सहभागिता रहेको छ। पछिल्लो समय किताब किरोमार्फत् अनलाइन किताब बेच्दै आएका तारानिधि रेग्मीले सबै खालको किताब एकै ठाउँमा पाउन यो प्रदर्शनीले सघाउने बताउँछन्। आख्यानभन्दा पनि गैरआख्यान पुस्तक बढी खोज्ने पाठक आएको बताउँछन् उनी। सबै प्रकाशन गृहका किताब उनको स्टलमा भेटिन्छन्।

तारानिधि रेग्मी।
यस पटकको पुस्तक प्रदर्शनीमा सबै तहका शैक्षिक सामाग्रीसहित संस्कृति, साहित्य, व्यापार, व्यवसाय, लेख, रचना, सन्दर्भ सामग्री, मोन्टेसरी, उपन्यास, खेलकुद, प्रेरणादायी विषयवस्तुलगायत सबैजसो विधाका पुस्तक रहेको छ।
सभ्यताको सन्देश प्रवाह शान्ति विकास र क्रस हिमालय साँस्कृतिक आदानप्रदानका लागि पुस्तक प्रदर्शनी महत्वपूर्ण हुन सक्ने बताउँछन् जानकारहरू। प्रदर्शनीमा १५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान सुनाउँछन् महासंघका उपाध्यक्ष पुष्पराज पौडेल।

पुष्पराज पौडेल
प्रदर्शन हलमा आधा भाग चीनले आफ्ना स्टलहरु राखेको छ। चिनियाँ भाषा, अंग्रेजी, र नेपालीमा अनुवाद भएको चीनका पुस्तकहरू प्रशस्त भेटिन्छन्। चिनियाँ भाषामा लेखिएका बाल पुस्तकहरू करेन्ट पब्लिकेशनले अनुवाद गरेर ल्याएको छ।
प्रधानमन्त्री प्रचण्डबाट उद्घाटन गरिएको पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकास, बौद्धिक चेत जागरण, सभ्य समाज र संस्कृति निर्माणका निम्ति महत्त्वपूर्ण योगदान दिने बताउँछन् पुस्तक विक्रेताहरू।
प्रदर्शनीमा साहित्यिक परिचर्चा कार्यक्रमका आधा दर्जन बढी सत्रहरु रहेका छन् भने गजल कविता बाचनका कार्यक्रम पनि समेटिएका छन्।
२०६४ देखि २०७४ सालसम्ममा देशका विभिन्न सहरमा बृहत पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका आठ संस्करण गरेको महासंघले कोभिड महामारीका कारण केही वर्ष कार्यक्रम गर्न सकेको थिएन। महासंघमा देशभरका २० हजारभन्दा बढी व्यवसायी आबद्ध छन्। प्रदर्शनी ९ गतेसम्म चल्ने छ।