
काठमाडौँ -मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँको आन्दोलन पश्चात यसका पक्षविपक्षमा बहस जारी छ। प्रसाईंले त्यसपछि पनि प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन्,यद्यपि बिहीबार र शुक्रबारका आन्दोलन ठूलो आकारको थिए।
एमाले निकट युवा संघले पनि बिहीबार नै प्रदर्शन गरेका कारण धेरैको ध्यान खिचेको थियो। युवा संघको तीनकुनेमा र प्रसाई समूहको बल्खुमा भएको शक्ति प्रदर्शन, प्रदर्शनका क्रममा क्रममा प्रसाईँ समूहका आन्दोलनकारीको प्रहरीसँगको मुठभेड, प्रसाईँ र युवा संघका आन्दोलनकारीबीच प्रदर्शनकै बीच भएको भेट र झडप, कुन समूहको बाक्लो उपस्थिति लगायत अन्य कारणले मंसिर ७ गते बिहीबारको आन्दोलन राष्ट्रिय,अन्तर्राष्ट्रिय तहमै चासो र चिन्ताको बिषय बन्न पुग्यो।
काठमाडौँका विभिन्न स्थानमा निषेशाज्ञा जारी गर्नेदेखि सडकमा हिँड्न समेत कडाइ गरेर सरकारले निरंकुशता लादेको थियो भने प्रसाईंको आन्दोलनलाई सरकारले नै ठूलो स्पेस दियो।
एक जना व्यक्ति ‘दुर्गा प्रसाईं’विरुद्ध सत्ता र सुरक्षा प्रशासन लागिपर्नुले सरकार त्रसित भएको बुझ्न सकिन्छ। प्रसाईंले आन्दोलनलाई अब कसरी अगाडि बढाउने भनेर रणनीतिको तयारी गरिरहेको बताएका छन्। प्रसाईंले नागरिक आन्दोलनको नाममा मुभमेन्ट प्रारम्भ गर्दा शासक पक्ष आत्तिएको जस्तो देखिएको हो।
प्रसाईँले राष्ट्र बचाउ महाअभियानमार्फत उठाएका एजेन्डामा नेपाली राजनीतिमा उनीबाहेक कमै नेता आशावादी र सकारात्मक छन्। सरकारमा सहभागी प्रमुख राजनीतिक दल नेपाली कांग्रेसमा संस्थागत रुपमा त होइन तर केही नेताहरु शासन व्यवस्था र अवस्थाबारे समीक्षा गर्नुपर्ने माग र मनस्थितिमा छन्।
आवाज पार्टीमा उठेपनि मतहरु विभाजित छन्। कांग्रेस नेता एवं प्रतिनिधिसभा सांसद रामहरि खतिवडा सरकारले शान्ति सुरक्षाको लागि आफ्नो भूमिकाको प्रयोग गर्न पाउनुपर्ने र नागरिकले पनि जथाभावी आतंकित गराउने काम गर्न नहुने मान्यता राख्छन्। उनी भन्छन्, ‘न त सरकार न त कुनै समूहले संविधान बाहिर गएर काम गर्न पाइन्छ।’
संविधान बाहिर गयो भने त्यसलाई त्यसलाई सरकाले नियन्त्रण गर्ने अधिकार भएको खतिवडाको तर्क छ। खतिवडा भन्छन् ,‘नागरिकका सन्तुष्टि,असन्तुष्टि हुन्छन् पोख्ने विभिन्न माध्यम र तरिका हुन्छन्, दुर्गाजीले केही दलसँग संगत गर्नुभयो, हिजो माओवादी त्यसपछि एमाले हुनुभयो,अहिले आफैँ राजावादी हुनुभयो,अरुसँग रिसाउनुहुन्छ तर व्यवस्था परिर्वतनको उपयुक्त माध्ययम भनेर यसलाई लिइएको छैन।’
उनले दुर्गा प्रसाईँका नाराहरु सान्दर्भिक छ वा छैन हेर्न बाँकी रहेको बताए। ‘मानिसहरु अलिकति अस्थिर र निराश भएको बेला देशले सही बाटो नलिएको बेला यस्ता कुराहरु उठाएर हिँड्ने शक्तिहरु बेलाबेला फेला पर्छन्, तर अहिल्यै राजनीतिक दलहरु आत्तिने बेला छैन, संसारको सबैभन्दा उत्तम विकल्पमा हामी सरकारमा छौँ, त्यसको विकल्प संसारमा अहिले कतै पनि देखिएको छैन, हामीले जनतालाई जुन कुरा आश्वासन दिएका थियौँ त्यो कुरा पुरा गर्न नसकेको सत्य हो,’ उनले भने।
खतिवडा थप्छन्, दुर्गाजीका आवेग उत्तेजनाहरु प्रस्तुत गर्ने ठाउँ छ,लोकतन्त्रले दिएको छ त्यसलाई सदुपयोग गर्न सकिन्छ, निष्पक्ष रुपमा आफ्ना कुरा राख्न पाइने अधिकार छ तर सरकारले पनि हिँडडुल गर्दा पनि मानव अधिकार हनन गर्न पाइँदैन, कसैले आफ्ना कुरा राखेकै भरमा सरकारले थुनामा राख्नु हुँदैन, हामी यसैको लागि लडेका हौँ, कोही दल खोलेर आउँछ आफ्ना कुरा राख्नलाई संविधानले अधिकार दिएको छ,चुनावमा भाग लिएर सबै कुरा परिर्वतन गर्न सकिन्छ,आक्रोशमा घिउ हालेर जनतालाई आतंकित बनाउने काम कसैले गर्नु हुँदैन, प्रत्येक पाँच बर्षमा चुनाव हुन्छ, दल खोल्ने अधिकार छ, चुनावमा भाग लिन सकिन्छ तर आतंक फैलाउन पाइँदैन।’
कांग्रेस महामन्त्री गगन थापा गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको तर्क गर्छन्। उनले एक सार्वजनिक कार्यक्रममा राजतन्त्रको समयमा आफूले राजतन्त्रका विरुद्ध प्रश्न उठाएकै कारण पक्राउ परेको स्मरण गर्दै कारागारमा कांग्रेस नेता प्रदीप पौडेललाई भेट्न जाँदा प्रहरीले आफूलाई समातेको बताए।
नेतामाथि गाली गर्न, चित्त नबुझेको कुरामा प्रतिकार गर्न, व्यवस्था ठीक भएन भन्न र व्यवस्था बदल्छु भन्न पनि गणतन्त्र भएकाले नै सम्भव भएको उनको भनाइ छ।
गणतन्त्रमा असन्तुष्टि पोख्ने अधिकार छ भनेर सरकार समर्थित पहिलो दल कांग्रेसका जिम्मेवार पात्रले भन्दै गर्दा सरकारले नै प्रसाईँको आन्दोलनमा निरंकुश व्यवहार देखाएर दोहोरो चरित्र प्रस्तुत गरेको छ।
सत्तारुढ दलका नेताका अभिव्यक्ति र सरकारको क्रियाकपालको तालमेल नमिल्दा सरकारको स्पष्ट धारणा र रणनीति नभएको प्रष्ट हुन्छ। यही बेला पूर्व राजा ज्ञानेन्द्र शाहका ठाउँ ठाउँका घुमघाम र कार्यक्रममा जनाउँदै आएको उपस्थितिले दलहरु थप त्रस्त छन्। त्यसमा जनताको ओइरो लाग्नुले पनि दलहरुप्रति नागरिकमा निराशा छाएको प्रष्टै हुन्छ।
राजाको सक्रियताले शासकहरु विचलित देखिन्छन्। यसले कतै द्वन्द्वमा लैजान्छ वा साँच्चै नेपाल परिवर्तनको संघारमा हो? भन्ने प्रश्न उठेका छन्, केही नागरिकहरु उत्साहित पनि छन्।
कांग्रेस नेतृ सीता देवकोटा पाण्डेले राज्यले जनताको पिडा नसुनिदिएको कारण दुर्गा प्रसाईँको पछि लाग्न बाध्य भएका तर्क गरेकी छन्। जनता पीडित भएपछि राज्य केन्द्रित हुनुपर्छ, बैँक,सहकारी र लघुवित्तमा जनताले भोगेका समस्याको पनि सरकारले समाधानतर्फ लागेन त्यसपछि नागरिक प्रसाईँको पछि लागेका हुन्। यो समस्याको सम्बोधन स्थानीय सरकारले समेत गर्न सक्नुपर्थ्यो,त्यो गरेन।’
उनले थपिन्, एक, दुई लाख मानिस सडकमा उत्रिए भनेर इतिहास बोकेको पार्टी जनताले बनाएको संविधानमै आँच आउने कुरा हुँदैन जनताको समस्या राज्यले संवोधन गर्नुपर्छ।’
उनी थप्छिन्, ‘आफ्नो समस्या जनताले बोले भन्दैमा व्यवस्थाप्रति धावा बोले भन्ने कुरा हुँदैन, वाक स्वतन्त्रता छ नागरिकले आफ्ना राय व्यक्त गर्न पाउँछन्, तर दुर्गा प्रसाईँले बोल्छु भनेर कार्यक्रम तय गरेको दिन मुलुकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो युवा शक्ति भिडायो, राज्यले कार्यक्रममा फरक–फरक दिन गर्न सक्थ्यो त्यहाँ गल्ती गर्यो’ , उनले भनिन्।
अभियानसँग जुधेर जिम्मेवार पार्टी एमाले आफैँलाई घाटा लागेको उनको बुझाइ छ। ‘सुनियोजित रुपमा जनता भिडाएर सरकार असफल भयो भनेर चलखेल गर्ने प्रवृत्तिमा नेकपा एमाले लागेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीको षड्यन्त्र हो यो जुन राज्यको लागि घाटा हो, बाहिर उफ्रिएर राजसंस्था फर्कने होइन,यसको पनि आफ्नै प्रक्रिया छ, कु गरेर आर्मीले ल्याउनु पर्यो। जनमत संग्रहमा गएर जनताले ल्याउनुपर्यो वा दुइ तिहाइ संविधानलाई संशोधन गरेर ल्याउनुपर्यो, कानुनी राज्य हो कानुनको पालना हुनुपर्छ,’ उनले भनिन्।