इतिहासमा पछाडि छुटेका गोर्खा महिलाहरूको मर्मस्पर्शी कथाको प्रदर्शनी

इतिहासमा पछाडि छुटेका गोर्खा महिलाहरूको मर्मस्पर्शी कथाको प्रदर्शनी
+
-

विसं २००१ सालमा जन्मिएकी पोखरा निवासी पदम कुमारी थापाको फोटो नियालिरहेका थिए- कलाकार रवीन्द्र श्रेष्ठ। फोटोलाई हेर्नुका साथै उनी पढी पनि रहेका थिए। ‘भिजुअल कथा’ शीर्षक दिएको थापाको कथा पढेर फरक अनुभव गर्दै थिए उनी। उनले भने, ‘यतिखेर म आइ क्याचिङका साथै पढ्न पनि पाइरहेको छु। यसले मलाई तानिरहेको छ।’

कलालाई अत्यधिक मन पराउने एक कला पारखी श्रुति मुरारका पनि फोटो हेरेर मस्त थिइन्। मुरारका बुढ्यौलीका अन्तिम दिनमा मुस्कुराएको आमाहरूको फोटो नियाल्दै गरेकी थिइन्।

उनका अनुसार यी आमाहरू कति खुसी छन्, के आजको दिनमा युवतीहरू जीवनको उत्तरार्द्धमा खुसी हुन सक्लान् भन्ने जिज्ञासा सुनाउँछिन्।  ‘हामी वृद्धावस्थामा यति खुसी हुन सकौंला त भन्ने प्रश्न आइरहेको छ’, बिल्कुल फरक खालको जीवनलाई कलामार्फत् देख्न पाउँदा रमाएकी मुरारकाले भनिन्, ‘यो आर्टले मलाई आनन्द मात्रै दिइरहेको छैन, गम्भीर हुन पनि सिकाइरहेको छ। यो मौलिक आर्टभित्र वर्षौंको प्रतीक्षा र त्याग देख्छु।’

बबरमहलस्थित नेपाल कला परिषद्को माथिल्लो तलामा मंसिर ८ गतेदेखि जारी सुजना थापा श्रीशको एकल कला प्रदर्शनी युवा पुस्ताका लागि आकर्षण बनेको छ भने कलाकारका लागि नौलो अनुभव। महिलाको आँखामा ‘गोर्खाको गाथा’ भन्न खोजिएको ‘गोर्खा वुमन: एन इको इन द स्टोरी’ कला प्रदर्शनीबाट केही छुटेका कथा र केही सम्झनाको कथा भन्दछ।

ती आमाहरूको कथा भन्दछ- जो लाहुर गएका आफ्ना श्रीमानको प्रतीक्षामा सिंगो जीवन बिताएका थिए। प्रायः आफ्ना पुरुष समकक्षीहरूको पौराणिक प्रतिष्ठाले ओझेलमा परेका गोर्खा महिलाहरूकै आफ्नै कथा छ, जुन उत्तिकै मनमाेहक र प्रेरणादायी छ। आफ्ना योद्धाहरूका लागि प्रख्यात गोर्खा समुदायको १९ औं शताब्दीको प्रारम्भदेखिको समृद्धि इतिहास छ। प्रसिद्ध योद्धाहरूका पछाडिको शक्तिको स्तम्भ, गोर्खा महिलाहरूले चुनौतीपूर्ण समयमा आफ्नो परिवार र समुदायलाई गरेकाे समर्थन महत्त्वपूर्ण छ।

प्रदर्शनी कक्षको हल नम्बर तीनमा कलाकृतिमार्फत् कलाका ओज बढाएको छ। लेखिएको छ- यो सावधानीपूर्वक क्युरेट गरिएको हलमा हामी आफूलाई एउटा वातावरणमा डुबाउँछौं, जसले संग्रहालय जस्तो व्यक्तित्वको सारलाई मूर्तै रूप दिन्छ। यो ठाउँ होसियारीका साथ परम्परागत संग्रहालयको भावना जगाउन डिजाइन गरिएको छ। कलाकृतिहरू र मूर्त कम्पोनेन्टहरू जसले प्रदर्शनीको व्यापक दृष्य कला विषयवस्तुलाई जोड्न र समृद्धि बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ।’

‘गोर्खा’ सैनिकका रूपमा परदेशमा युद्ध मोर्चा सम्हालेर बहादुरीको इतिहास लेखाए धेरै नेपाली योद्धाहरूले। तर, युद्धमा विजयी भएर श्रीमान टुप्लुक्क सामुन्ने आइपुग्दाको आकस्मिक खुसी होस् या घाइते वा वीरगतिको समाचारसँगै जीवनभरको विष्मयलाई पटुकीमा पोको पारेर लालाबाला सम्हाल्दै जीवनको मैदानमा एक्लै भिडेका तमाम महिलाहरू इतिहासको गर्तमा कतै हराए।

तिनै महिलाको उल्लास, उदासी र संघर्षका कथा भेटिन्छन् प्रदर्शनीमा। जस्तै, एक तस्बिर कथाले यस्तो भन्छ- ‘ऊबेला पैसा छैन। दिनभरि काम गर्ने अनि रातभरि जाँड रक्सी पारेर पैसा कमाउँदै केटाकेटी पढायो, लेखायो। उहीले त चप्पल लाउँदा छिन्यो भने खिपले अल्झाएर पनि लाइयो। वर्षा झरी बादलमा रुझ्दै भिज्दै ज्यानमै लुगा सुकेको छ। ऐले त राम्रो छ। सुविस्ता छ हामी बुढाबुढी पेन्सन थापेर खान्छम्। मन चित्त बुझेको छ। जिन्दगी त हो नि, चलिरा छ।’

श्रीष क्रियटिभ आर्टकी संस्थापक कलाकार सुजना थापाका अनुसार पेन्सिल आर्ट मात्रै १८ वटा छन्। साथै १४ देखि २० वटा चाहिं गोर्खा आमाहरूकै छ।

यी कलामध्येमा थापाको आफ्नै हजुरआमाको फोटो पनि रहेको बताउँछिन् उनी। उनले भनिन्, ‘यो आर्ट गर्न हौसाउने बजै पनि हुनुहुन्छ। उहाँकै आर्ट गर्दा बाँकी परियोजना फुरेको हो। उस्तै-उस्तै कथा लागे पनि अनुभूति विल्कुल फरक थियो।’ आर्ट गर्दा प्रायः एक्लै गर्नु पर्ने भएकाले केही समस्या आएको अनुभव सुनाउँछिन् सुजना। उनले भनिन्, ‘लाेल्नी भेन्चरबाट हुन्छ आर्ट। पछि यसले मास पाउँछ। तर यो जुटाउन मलाई गाह्रै भएको थियो।’

कला क्षेत्रमा लागौंला भनेर कहिल्यै सोचेकी थिइनन् सुजनाले। ‘सिए’ पढ्न रुचि थियो। तर पछ्यायो आर्टले। सन् २०१३ तिर पहिलोपटक कला प्रदर्शनी पुग्दा उनलाई तान्यो। उनको रुचि जगाइदियो। उसो त उनी बाल्यकालदेखि नै पेन्सिल आर्ट गर्थिन्। त्यो आर्ट प्रदर्शनी अर्को सेतु बन्यो उनको करिअरमा। बिस्तारै उनी आर्टमै भुल्दै गइन्।

यो यात्रामा सुन्दर काम गर्न लाहुरे परिवारको सन्तान नभएको भए गाह्रो हुन सक्ने अनुमान पनि गर्छिन् सुजना। उनी यो परियोजनाको बारेमा भन्छिन्, ‘डिसेम्बर २०२० मा धेरै थोरै जानकारीको साथ मैले युद्धको सुरुवात र अन्त्यमा गोरखा महिलाहरूको सामाजिक र आर्थिक पक्षहरूमा शैक्षिक कार्यको यो शून्यतालाई पछ्याउँन थालें। त्यसपछि प्रोजेक्ट सुरु भयो। आयोजनाको तयारीको क्रममा बुटवल सुनवल मणिग्राम, कञ्जलापुर, बाकट्टा र पाल्पामा त्यसबेलाको अन्तवार्ता लिएर तराईका समुदायका महिला र पुरुषसँग परामर्श लिएको थिएँ।’

आफ्नै हजुरआमाको प्रेरणाबाट उत्साहित भएकी सुजना लैंगिक समानताको कुरा पनि जोड्छिन्। लाहुरेको प्रतीक्षामा घर सिंगारेर बसेका ती आमैहरूप्रति उनी नतमस्तक हुन्छिन्। उनी भन्छिन्, ‘लाहुरेहरूको बहादुरी र बफादारीको विशिष्ट इतिहासमा धेरै लेखिएको छ। तर गोर्खाहरूको परम्परागत साहित्यले मुख्य चरित्र: गोर्खा महिलाहरू कथा पछाडि छुटेका छन्। अहिले पनि गोर्खा महिलाहरू इतिहासमा प्रायः पछाडि छुटेको भनेर चिनिन्छन्। उहाँहरूको इतिहास, पहिचान र योग्यताको कदर गर्ने समय आएको छ। खोज अनुसन्धानमार्फत् ती दुःखको पाटाहरू ल्याउन जरुरी छ।’

यो प्रदर्शनीले गोर्खा महिलाहरूको चित्रण, कलाकृतिहरूबाट बाँचेको इतिहासलाई संरक्षण र प्रवर्द्धन, अध्ययन र भिडियोग्राफीको माध्यमको रूपमा काम गर्न अपेक्षा गरेको छ।

कलाकार रवीन्द्र श्रेष्ठ गोखा महिलाहरूको संघर्ष जोड्छन्। १६ दिने महिला अभियानलाई यो आर्ट प्रदर्शनीले अझै सघाउने बताउँछन् उनी। भन्छन्, ‘लाहुरे गएको गोर्खालीको संघर्षको कथा त भनियो तर तिनको पृष्ठभूमिमा कोको थिए र त्यहाँ कसरी पुगे भन्ने कथा यो प्रदर्शनीले बुझाउँछ। यो नआएको पाटो कलामार्फत् देखिन बिल्कुल नयाँ हो।’

युवती र आमाहरूको रूपमा उनीहरूको पति, छोरा, दाजुभाइ, एसिया युरोप र अफ्रिकाका टाढा युद्धभूमिहरूमा गएपछि उच्च र मध्य हिमालयका दुर्गम पहाडहरूमा आफूलाई बचाउन र आफू र आफ्नो परिवारलाई हेरचाह गर्न गरेको संघर्षको कथा निकै मर्मस्पशी रहेको छ।

प्रदर्शनीमा करिब चालिस पचास वर्षअघि गाउँघरमा खाने तेल राख्नको लागि प्रयोग गरिने छौथे, पुच्छै (घरको मुली मान्छेले काम गर्दै रक्सी खान प्रयोग गरिन्छ ), धूपौरे (काठबाट बनेको यस खाले धूपौरेहरूमा घ्यू राख्ने काममा प्रयोग गरिन्छ ), राक्सी बनाउने भाँडा, ठेकी, तुवा, खुपेटो, आदिवासी समुदायकी महिलाहरूले धारण गरिएका परम्परागत वस्त्र र लाहुरेहरूले गाउँघरमा पठाउने पत्रहरूको चाङ प्रदर्शनीमा देख्न सकिन्छ।

प्रदर्शनी आउँदो १३ गतेसम्म जारी रहने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?