
काठमाडौँ – आयोजनाहरु चाँडो सम्पन्न गर्न माग गर्दै भक्तपुरका स्थानीयले काठमाडौँको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन्।
‘देको मिबा इतापाके जग्गा एकीकरण आयोजना पीडित संघर्ष समिति’को आयोजनामा शुक्रबार दिउँसो शान्तिबाटिकामा प्रदर्शन गरिएको हो। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘देको मिबा इतापाके जग्गा एकीकरण आयोजना’सँग विभिन्न माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन्।
भक्तपुर नगरपालिकाबाट जारी नक्सा सिफारिस, सर्जमिन एवं अधिकारप्राप्त निकायबाट जारी लिखत प्रमाणहरुको सम्मान गर्नुपर्ने, मापदण्ड कायम भइसकेको सडक जोडिएका कित्ताहरुमा बाटोको योगदान खारेज गर्नुपर्ने, भविष्यमा भवन पुनर्निर्माण गर्दा साबिकअनुरुप नै भवन निर्माण गर्न पाउनुपर्ने र पूर्वाग्रही जग्गा वितरण र पक्षपातपूर्ण कटौती खारेज गर्नुपर्ने उनीहरुको माग छ।
यस्तै, सल्लाघारी–नगरकोट सडक, नेपाल सरकारले मापदण्ड निर्धारण गरी आयोजना परिकल्पनाअगावै फराकिलो गरिसकेकोले योगदान कटौती खारेज गर्न पनि उनीहरुको माग छ।
पीडित उपभोक्ताको निवेदन, गुनासो दर्ता गरी सम्बोधन गर्न, अचाक्ली मूल्यांकन संशोधन गरी उठिबास नहुने सुनिश्चित गर्न र उपभोक्ता समिति पुनःगठन गर्न पनि माग गरेका छन्।