
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोप–१८ मा नेपालले आफ्नो कुरा सशक्त रुपमा राखेको बताएका छन्।
दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा भाग लिएर आइतबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुमाझ अन्तर्राष्ट्रिय समुदायसमक्ष आफ्ना कुरा प्रष्टसँग राखेको बताएका हुन्। उनले कोप–२८ मा आफ्ना एजेण्डा राख्न सफल भएको बताए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या आफ्नै आँखाले प्रत्यक्ष देखेर गएकोले पनि नेपाललाई कोप–२८ आफ्ना कुरा प्रभावकारी ढंगबाट राख्न सहज भएको प्रधानमन्त्री दाहालको भनाइ थियो।
जलवायु परिवर्तनबाट परेको असरका लागि नेपालले क्षतिपूर्ति पाउने उनको भनाइ थियो। क्षतिपूर्ति पाउनुपर्ने विषयमा आफूले सम्मेलनमा लबिङ गरेको उनले बताए।
शनिबार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाको अन्त्य गर्नुपर्ने बताएका थिए। उनले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेका थिए।
त्यस्तै, प्रधानमन्त्री दाहालले आफू दुबई प्रस्थान गर्दा ३१ जना यात्रु छुटेकोबारे आफूलाई केही थाहा नभएको बताए। यदि उक्त कुरा आफूले थाहा पाएको भए तोकिएको नियमित उडानमार्फत दुबई प्रस्थान गर्ने बताए। प्रधानमन्त्री दाहाल दुबई प्रस्थान गर्दा नेपाल एयरलाइन्सले राति ११ बजेको उडान दुई घण्टा अघि सारेर खबर नगर्दा ३१ यात्रु छुटेका थिए।
यस्तै, तत्काल मन्त्रिमण्डल हेरफेर नहुने उनको भनाइ थियो।