जलारी समुदायलाई चिन्ताः फेवातालमा माछा छैन, मापदण्डले घरबास उठ्छ

जलारी समुदायलाई चिन्ताः फेवातालमा माछा छैन, मापदण्डले घरबास उठ्छ
+
-

कुनै बेला फेवातालमा माछा मारेरै गुजारा चलाउने खपौदीका शैलेन्द्र जलारीलाई अहिले गुजारा चलाउनु त परको कुरा, परम्परागत पेशा जोगाउनै मुस्किल छ। साँघुरिएको फेवातालमा माछाको संख्या बर्सेनि घट्दो छ। पहिलाजस्तो न सहर छ, न कत्ले भेटिन्छ।

फेवातालमा जाल हानेर दिनमा १ किलो माछा मार्न मुस्किल हुने उनी बताउँछन्। शैलेन्द्र भन्छन्, ‘फेवातालमा पहिला माछा प्रशस्त थियो। अहिले हामीले दैनिक गुजारा चलाउन पनि धाै-धाै भइरहेको छ। माछाको निकै कमी छ।’

माछाको कमीले परम्परागत पेशाबाट पलायन हुनुको चिन्ता त उनलाई छ नै। अर्को चिन्ताको कारण हो, फेवातालको मापदण्डले घरबास उठ्ने। भएको २-४ आना जग्गा पनि मापदण्डमा परेपछि के गर्ने उनलाई सोचमग्न बनाएको छ।

फेवातालको मापदण्ड ६५ मिटर कायम गर्न सर्वोच्च अदालतले पोखरा महानगरपालिकाको नाममा जारी गरेको परमादेशले तर्साएको शैलेन्द्रले सुनाए। ‘ताल किनारमा पुर्ख्याैली बसोबास गर्दै आइरहेका जलारी समुदायप्रति राज्य गम्भीर बन्नुपर्‍याे, माननीयज्यूले पनि सोच्नुपर्‍याे’, मंगलबार संसदीय पत्रकार मञ्चले आयोजना गरेको नागरिक सुनवाइ कार्यक्रममा शैलन्द्रेले माग राखे।

२०३२ सालमा युनएडिपीले फेवातालमा केजमा माछापालन गर्न सघाएपछि खपौदी क्षेत्रका जलारी समुदायको पेशा फस्टाउँदै थियो। केज राखेर माछापालन गरेपछि आर्यआर्जन निकै राम्रो भएको रामचन्द्र जलारी सम्झन्छन्।

‘पछि ताल बनाउछु भनेर १० वटा डोजर हानेर जथाभावी खनियो। जलारीहरूकाे ६०५ वटा केज, सबै पुरियो। करोडौंको माछा र जाल पुरियो’, उनले भने, ‘त्यसपछि हाम्रो आयआर्जनमा निकै कमी भएको छ।’

रामचन्द्र जलारी। तस्बिर: विनाेद ढुंगाना/देश सञ्चार

रामचन्द्रसँग वर्षमा ५ सय किलोसम्म माछा बिक्री गरेको अनुभव छ। पोखरामा नबिकेर काठमाडौंसम्म पुर्‍याएकाे उनी बताउँछन्। जथाभावी ताल वरपर डोजर चल्नु र मिचाहा माछा बढ्नुले फेवातालमा माछा उत्पादनमा कमी ल्याइरहेको उनको भनाइ थियो। ‘माछा कसरी बढाउने राज्यले हेर्दिनुपर्‍याे’, उनले भने।

उसो त यहाँका जलारी समुदायले माछा मार्ने पेशामा असुरक्षित महसुस गरिरहेका छन्। माछाको संरक्षणसँगै जीवन सुरक्षाको खाँचो रहेको लक्ष्मी जलारीले बताइन्। ‘माछा पार्न राखेको जाल चोर्दिने, काटेर लैदिने। माछा पक्रेर उनीहरूले नै लान्छन्’, उनले भनिन्, ‘यहाँ नथाप, त्यहाँ नथाप भनेर हामीलाई धम्क्याउने पनि हुन्छ। राज्यबाट सुरक्षाको पहल गर्दिनूस्।’ खपौदी पारिका वस्तीबासीले दु:ख दिइरहेको उनको गुनासो थियो।

लक्ष्मी जलारी। तस्बिर: विनाेद ढुंगाना/देश सञ्चार

जलारी समुदायको मुख्य पेशा माछा पार्ने हो। तर, माछा मार्ने काममा निर्भर हुने अवस्था नरहेपछि परम्परागत पेशाबाट पलायन भइरहेका छन्। धेरैको विकल्प वैदेशिक रोजगारी भइरहेको छ।

‘परम्परागत पेशा परिवर्तन गर्न बाध्य हुनुको प्रमुख कारण उत्पादनमा जोखिम बढ्नु रहेको छ’ ४ वर्षअघि झलक सुवेदीले फेवातालमा आश्रित जलारी समुदायसँग केन्द्रित भएर तयार पारेको शोधपत्रमा भनिएको छ। मुहानमा बम, विष, करेन्टको प्रयोग गरी माछा मारिनुले पनि उत्पादनमा कमी आएको उल्लेख छ।

फेवातालमा शहर, कत्ले, रेवा, फगेटा, बाम लगायत १० भन्दा बढी रैथाने जातका माछा पाइन्थ्यो। तिलापिया, सिसा, बिगहेड, अफ्रिकन मांगुरलगायतका उन्नत जातका माछाका भुरा बेलाबखतमा छाड्ने गरिन्छ। तर, उन्नत जातका माछाको मिचाहा प्रवृत्तिले रैथाने जातका माछा हराउँदै गएको जलारी समुदाय बताउँछन्।

फेवातालमा माछाको उत्पादन घटिरहेको बेगनास मत्स्य अनुसन्धान केन्द्रको तथ्यांकले पुष्टि गर्छ। आर्थिक वर्ष २०७२/७३ मा ६४ मेट्रिक टन माछा फेवातालमा उत्पादन भएको थियो। २०७८/७९ सम्म आइपुग्दा घटेर ४१.४ मेट्रिक टनमा माछा उत्पादन खुम्चिएको छ। फेवातालमा आश्रित जलारी समुदाय प्रश्न गर्छन्, ‘हामी तालमा आश्रित भएर बाँचिरहेका छौं। तालमा माछा सकिए जस्तै जलारी समुदाय सक्किने त होइन? जलारीलाई बचाउने राज्यसँग इच्छा छैन?’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?