
नेपालगञ्ज–बाँकेको राप्तीसोनारी गाउँपालिकाले सञ्चालन गरेको ‘अध्यक्षसँग बा–आमा कार्यक्रम’अन्तर्गत निरन्तर स्वास्थ्य जाँच भइरहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार, चालु आर्थिक वर्षदेखि सञ्चालन गरिएको अध्यक्षसँग बा-आमा कार्यक्रममा निरन्तर स्वास्थ्य जाँचका कार्यक्रम चलिरहेको छ।
पालिकाले विभिन्न निकायसँग मिलेर गाउँ–गाउँमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो। पालिकाले नेपाली सेनासँग मिलेर महादेवपुरीमा स्वास्थ्य शिविर गरिसकेको छ। त्यहाँ ६ किसिमको सेवा दिइएको थियो। वडा नं। १, २, ४, ७ र ८ नम्बर वडामा कानको शिविर चलाइएको छ। वडा नं ३ मा दाँतको शिविरको कार्यक्रम पारिएको छ। गाउँपालिकामा ‘उपाध्यक्षसँग गर्भवती सुत्केरी र अपाङ्गता सहकार्य कार्यक्रम’ पनि सञ्चालनमा रहेको छ।
यसअन्तर्गत केही दिनमै पाठेघरको शिविर चलाउने तयारी भएको छ भने अपाङ्गता व्यक्तिको स्वास्थ्य परीक्षणको कार्यक्रम चलिरहेको छ। अध्यक्षसँग बा–आमा कार्यक्रमअन्तर्गत नै बिहीबार पालिकाका चार वटा वडामा बृहत आँखा जाँच कार्यक्रम गरिएको छ। तिलगंगा शल्यक्रिया आँखा केन्द्र सिसहनिया देउखुरी दाङसँग सहकार्य गरेर २, ५, ८ र ९ नम्बर वडामा सञ्चालन गरिएको निशुल्क मोतिविन्दु छनौट तथा आँखा शिविरमा एक हजार चार जनाले सेवा लिएका छन्।
त्यसमध्ये एक सय ४९ जनामा मोतिविन्दु देखिएकाले अप्रेसनको तयारी गरिएको छ।
वडा नं २ को कचनापुर स्वास्थ्य चौकीमा आयोजित शिविरमा २ सय ४६ जनाले सेवा लिएका छन्। त्यसमध्ये ३८ जनामा मोतिविन्दु देखिएकाले अप्रेसनको लागि छनौट गरिएको छ। यहाँ ४३ जनाले ल्याब सेवा लिएका थिए। वडा नं ५ को विनौना स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा २ सय ३२ जनाले सेवा लिएका छन्।
४१ जनामा मोतिविन्दु देखिएको छ। ३० जनाले ल्याबको सेवा लिएका छन्। वडा नं ८ को आधारभूत स्वास्थ्य केन्द्रमा गरिएको शिविरमा २ सय ४५ जनाले सेवा लिएका छन्। ४३ जना छनौट भएका छन्। वडा नं ९ को महादेवपुरी स्वास्थ्यचौकीमा आयोजित शिविरमा २ सय ८० जनाको आँखा जाँच गरिएको छ।
२७ जनामा मोतिविन्दु देखिएकाले अप्रेसनका लागि छनौट गरिएको छ। पालिकाले यसअघि नै वडा नं १, ३, ४, ६ र ७ नम्बर वडामा आँखा शिविर सञ्चालन गरिसकेको छ। प्रमुख प्रशासकीय अधिकृत देवकोटाले मोतिविन्दु देखिएकाहरुको तिलगंगा शल्यक्रिया आँखा केन्द्र सिसहनिया देउखुरी दाङमा निशुल्क अप्रेसन हुने जानकारी दिए। अप्रेसन गर्ने व्यक्तिलाई पालिकाले लैजाने र ल्याउने व्यवस्था गर्ने जनाएको छ।