
पोखरा- लेकसाइडका जगन्नाथ अधिकारीको बाल्यकाल बिहान उठ्नेबित्तिकै घरको आँगनबाट छ्यांग खुलेको हिमाल हेर्दै बित्यो । आजकाल लेकसाइडबाट हिमाल देख्न मुस्किल छ उनलाई । हिमाल कहिले देखिन्छ त कहिले छेकिन्छ ।
‘टुरिष्ट आउँदा हिमालको फोटो देख्छन्, यहाँबाट देखेनन् भने साँच्चै यहींबाट देखिएको हो भनेर सोध्छन् । किनभने फोटोमा देखेको हिमाल यहाँबाट देखिदैन, उनीहरुलाई कन्फ्युज जस्तो हुँदो रहेछ’, जलवायु परिर्वतन र खाद्य संकटका अनुसन्धानकर्ता डा.अधिकारीले भने ।
डा.अधिकारी केही दिन अगाडि धौलागिरी हिमाल आधार शिविरको यात्रामा थिए । हिमालकै फेदमा पुगेर नियाल्दा पनि चुचुरामा हिउँ थिएन, कालापहाड जस्तै देखिन्थ्यो । ‘अचम्म भएँ, लगभग खोल्साखोल्सीमा मात्रै हिउँ देखिन्थ्यो अहिले विन्टरमा’, उनले सुनाए ।
मुस्ताङको बारगुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनीका खोम्पु गुरुङले यसपालि बर्खामा आएको बाढीले घरबार गुमाए । साउन अन्तिममा कागखोलामा आएको बाढीले कागवेनी बस्तीको भौतिक संरचना क्षतविक्षत बनायो । ‘हरेक हिउँदमा हिउँ पर्थ्यो। यसपालि हिउँ परेन । मास्तिरको माटो सुख्खा भयो । यसपालि गर्मी पनि त्यस्तै । पानि पर्यो, सुख्खा माटो बगाएर ठूलो बाढी आयो’, उनले भने । उनका अनुसार पहिला मुस्ताङमा विरलै वर्षा हुन्थ्यो । हिउँदमा हिउँ परेन र बर्खामा भएको भीषण बर्षाले निकै ठूलो क्षति पुर्याएको विश्लेषण खोम्पुको छ ।
हिमालका टाकुरा कालापत्थर जस्तै देखिनु, हिमाली क्षेत्रमा बाढी पहिरोले वितण्डा मच्चाउनुको मुख्य कारण नै जलवायु परिवर्तन असर भएको विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङ बताउँछन् ।
‘हिमाल किन काला भए ? एउटा कुरा तापक्रम बढेको हुनाले हिउँ पग्ल्यो । हामीले यति धेरै धुवाँधूलो पठाउँदैछौं कि हिउँमाथि परेपछि झन् छिटो पग्लन्छ । तेस्रो कुरा पानी हिमालमुनिसम्मै पर्ने भएपछि पग्ल्यो’, उनको भनाइ छ । डा. गुरुङले थपे, ‘हाम्रा चुरे र महाभारतका जंगल नराख्ने हो भने अझ चुनौती थपिन्छ ।’
हिमाल कालापत्थरमा परिणत हुँदा माउण्टेन क्लाइम्बिङको सट्टा रक क्लाइम्बिङको थलो नेपाल बन्न सक्न उनको भनाइ छ । पृथ्वीको तापक्रम बढेर हिउँ पग्लनुमा विकसित मुलुकको गतिविधि कारक रहेको डा. गुरुङ बताउँछन् ।

पोखरामा जारी आठौं संस्करणको पर्वतीय महोत्सवमा हिमाल किन कालो हुँदैछ ? विषयमा अन्तर्क्रिया हुँदै। तस्बिर: विनोद ढुंगाना/देशसञ्चार
पोखरामा जारी आठौं संस्करणको पर्वतीय महोत्सवका अवसरमा सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ विषयमा भएको बहसमा डा. गुरुङले हिमालमा हिउँ नहुनुले भविष्यमा पानीको संकट निम्तिन सक्ने चेतावनी दिए ।
डा. जगन्नाथ अधिकारीले जलवायु परिवर्तनका कारण पछिल्लो समय मौसम पूर्वानुमान गर्नै मुस्किल रहेको बताए । जलवायु परिवर्तनले जनजीवनमा नै प्रभाव पारिरहेको उनको भनाइ छ । ‘खाद्य संकटमा असर गरिरहेको छ । उत्पादन कम भइरहेको छ । बोटविरुवामा नयाँ नयाँ रोग देखिन थालेको छ । मुख्य कुरा डिजास्टर बढेको छ’, अधिकारीले भने ।
पत्रकार कुन्द दिक्षितले पछिल्लो समय जलवायु परिवर्तनका नाममा हिउँ र बरफमा मात्रै विषय केन्द्रित भएको बताए । उनले हिउँ र बरफ पग्लिँदै जाँदा निकट भविष्यमा पानीको संकट देखिन सक्नेमा डा. गुरुङसँग उनको सहमती छ । ‘यसलाई जलवायु परिवर्तन नभनौं, संकट भनौं । यो संकट पानीको हो । ‘पानीमै हाम्रो मानव जीवन र सभ्यता आश्रित छ । हिमालमा हिउँ पग्लिनेबित्तिकै तल्तिरका भेगमा ठूलो असर पार्छ’, उनले भने ।
डा. अमिना महर्जनले जलवायु परिवर्तनले गर्दा हिमाली जनजीवनमात्रै नभएर कृषि उत्पादनै समस्या पार्न थालेको बताइन् । पछिल्लो समय बाली भित्राउनेबेला पर्ने बेमौसमी पानीले किसानलाई ठूलो मर्कामा पारिरहेको सुनाइन् ।
‘जलवायु परिवर्तनले कृषि, पर्यटन र स्वास्थ्यमा ठूलो च्यालेन्ज छ । नेपालका हिमाल हेर्न आएका विदेशी पर्यटकहरु मौसममा पनि हिमाल देख्न पाउँदैनन्,’ डा महर्जनले भनिन्, ‘यो प्रभाव बढ्नेबाहेक घट्नेवाला छैन । सरकारले यो विषयमा आवाज उठाएकै छैन ।