
एउटा मध्यम वर्गीय नेपाली परदेश छिर्दा उसको सपनाको परिधि कत्रो हुन्छ होला? आफ्नो परिवारको जीवनस्तर अलिकति सुधार्ने अनि उनीहरुका रहरका सन्दुकहरु भर्दै जाने। परदेशिएका अधिकांश नेपालीको पहिलो पाइला यहीँबाट सुरु हुन्छ।
सपनाको यस्तै पोको बोकेर परिवारको सुन्दर भविष्यको चित्रहरु आँखामा सजाउँदै २४ वर्षअघि परदेश छिरेका थिए नरेन्द्र श्रेष्ठ। आफ्नो परिवारको घेरामा सीमित उनको सपनाको परिधि अहिले निकै फराकिलो बनिसकेको छ। आफ्नो मात्रै होइन, अहिले उनको प्रगति नेपाली समुदाय र नेपालकै आर्थिक उन्नतिसम्म फैलिएको छ।
त्यहि परिधिअन्तर्गत जर्मनीको ह्यमबर्गमा विस्तार भइरहेको छ छुर्पी उद्योग ‘कुकुजे’। कुकुजे उमेरको हिसाबले बालखै भएपनि संसारका विभिन्न देशमा यसले आफ्नो साम्राज्य फैलाइसकेको छ। सन् २०१९ मा जन्मिएको कुकुजे कम्पनीले सन् २०२० देखि छुर्पी उत्पादन सुरु गर्यो। करिव डेढ लाख युरोको लगानीमा खुलेको कम्पनीले तीन वर्षमा तीन करोड युरोको मूल्यांकन बनाएको छ।

नरेन्द्र श्रेष्ठ।
उद्योग सञ्चालनमा आएको छोटो समय भएपनि नरेन्द्रलाई भने छुर्पीको हुटहुटीले लामै समयदेखि पछ्याइरहेको रहेछ। सन् २००३ मा जब नेपाली छुर्पी अमेरिका निर्यात हुन थाल्यो, त्यतिबेलादेखि नै उनको व्यवसायिक दिमागले छुर्पी सोचिरहेको थियो। ह्यामबर्गमा रेस्टुरेण्ट चलाएर राम्रोसँग जिन्दगी चलिरहेकै थियो। उनलाई भने केवल सजिलो जिन्दगी बिताउनु थिएन, आफूसँगै अरु नेपालीको पनि उन्नति गर्नु थियो।
नेपाली छुर्पीलाई युरोपमा बजारीकरण गर्ने चाहना थियो। तर नेपाल खोरेत रोगमुक्त देश नभइसकेकोले युरोपले कुनै पनि दुग्धजन्य पदार्थ नेपालबाट आयात गर्न अनुमति दिएको छैन। उनी नेपाल गएका बेला आफ्नो लगेजभरी छुर्पी बोकेर ल्याउँथे। विमानस्थलमा जाँचमा देखिएको भए सायद त्यो छुर्पी युरोप भित्रिन पाउँदैनथ्यो। तर उनी छुर्पी लुकाएर ल्याउन सधैँ सफल भए। यहाँ ल्याएर चिनजानका मानिसहरुलाई दिन्थे। उनीहरुले आफ्ना कुकुरले छुर्पी मन पराएको प्रतिक्रिया दिन थाले। त्यसपछि नरेन्द्रले ह्यामबर्गमै छुर्पी बनाउने निधो गरे।
नेपालमा भएका साथीहरुबाट छुर्पी बनाउने आधारभूत प्रक्रिया जानकारी लिए। सिक्दै काम अघि बढाउन सकिन्छ भन्नेमा उनी ढुक्क थिए। सन् २०१९ अगस्टमा दुध आपूर्तिको टुंगो लगाएपछि उनको छुर्पी उत्पादन यात्रा सुरु भयो।
नेपालबाट साथीहरुले शून्य प्रतिशत फ्याट भएको दुधमा छुर्पी बनाएको जानकारी दिएका थिए। त्यही शुन्य प्रतिशत फ्याट भएको दुधको खोजीमा डेरी भेटिएको थियो। पहिलो पटक ५० लिटर दुध ल्याएर आफ्नै रेस्टुरेण्टमा छुर्पीको प्रक्रिया सुरु गरे। दोस्रो तेस्रो दिनपछि जब काट्ने बेला भयो, छुर्पी सिसाजस्तो देखियो। डेरीमै गएर पनि बनाए, भएन। कहिले ठाउँ चिसो भएर होला अथवा कहिले तातो भएर होला भन्दै विभिन्न तापक्रममा अभ्यास गरे तर जति गर्दा पनि छुर्पीको असली स्वरुप आएन।
छुर्पी बनाउन हरेक दिन बिहान तीन बजे उठेर डेरी जानुपर्थ्यो। त्यतिबेलासम्म उनको पारा देखेर परिवारका सदस्यलाई दिक्क लागिसेको थियो। ‘एक डेढ महिना यत्तिकै सक्कियो तर छुर्पी बनेन’, उनले भने, ‘घरमा सबैले पागल भयो भन्न थाले, मैले अझै हार खाइन।’
अब भने उनलाई समस्याको जड नखोजी भएको थिएन। प्राविधिकलाई र दुधको विषयमा अलि धेरै ज्ञान भएकाहरुलाई भेटेपछि कसैले उनलाई दुधमा फ्याट क्रिम मिसाउन सुझायो। दिउँसो कुरा भयो, छुर्पी बनाउने प्रक्रिया पनि सुरु भयो, अब उनलाई भोलि बिहानको तीन बजेको व्यग्र प्रतीक्षा भयो, तीन बजे डेरी पुगेर हेर्दा छुर्पी बनेको देखे तर अझै तीन दिन कहिले बित्ला भन्ने छटपटी भयो। ती तीन दिनपछि उनको छुर्पी सपनाले आकार लिन थाल्यो। छुर्पीको स्वरुप देखेपछि उनका आशाहरुले पखेँटा फिँजाउन थालिहाले। त्यसपछि केही समय आफ्नै तरिकाले छुर्पी बनाउने प्रक्रियासँग खेल्न थाले र बनाए पर्फेक्ट छुर्पी। त्यसलाई ल्याबमा परीक्षण गराएपछि छुर्पी बजारमा पुग्न थाल्यो।
कोभिड १९ को समय थियो। नेपालबाट अमेरिका छुर्पी जान छोड्यो। त्यो समय नरेन्द्रको लागि अवसर बन्यो। यहि मौकामा उनको छुर्पी अमेरिका निर्यात हुन थाल्यो। अनि विस्तारै कुकुजेको पाइला विश्वकै ठूलो छुर्पी उद्योगतर्फ लम्कियो। कुकुजेले अहिले प्रतिदिन तीन लाख लिटर दुधको छुर्पी बनाउन सक्ने क्षमता राख्दछ। दैनिक ४० हजार लिटर दुधको छुर्पी अहिले बनिरहेको छ। महिनामा दुई कन्टेनर छुर्पी अमेरिका जान्छ। एक कन्टेनरमा १५ हजार नौ सय ६० किलो छुर्पी अट्छ। कुकुजेमा अहिले २२ जना कर्मचारी कार्यरत छन् जसमा अधिकांश नेपाली छन्। अमेरिकामा पनि नेपाली सञ्जाल मार्फत नै छुर्पी बिक्री हुन्छ।
नरेन्द्रको प्राथमिकतामा सधैँ नेपाली नै पर्छन्। अमेरिकाको टेक्सस राज्यमा बन्दै गरेको वेयर हाउस निर्माणमा पनि उनले नेपालीहरुसँगै हातेमालो गरेका छन्। कुकुजेको छुर्पी अहिले विश्वभर फैलिएको छ। यसको मुख्य बजार युरोप हो। युरोपको फ्रेसस्न्याप कम्पनीले आफ्ना १८ सय वटा फ्रेन्चाइजमा छुर्पी बिक्री गरिरहेको छ। अरु ठाउँको तुलनामा युरोपियनहरुले कुकुजे छुर्पीलाई राम्रो मूल्य दिएका छन्। प्रोटिनको मात्रा उच्च, न्युन फ्याट र चिनीरहित उत्पादन भएकाले कुकुर पाल्नेहरुले यसलाई उत्कृष्ट ठान्छन्।
शून्यबाट सुरु गरेर र व्यापक अनुसन्धान गरेर नरेन्द्रले विश्वको सबैभन्दा उत्कृष्ट छुर्पी मात्र सफलतापूर्वक उत्पादन गरेनन्, उनी विश्वको सबैभन्दा ठूलो उत्पादक पनि हुन् । यद्यपि, उनको महत्वाकांक्षाले विश्राम लिएको छैन । नरेन्द्रले हस्तशिल्पबाट उत्पादित कुकुर-बेल्ट, डोरी, र अन्य सामानहरू पनि उत्पादन गरिरहेका छन् । यी वस्तुहरू घरेलु तथा साना उद्योग अन्तर्गत पर्दछन् ।
सफलताको सिँढी चढ्दै जाँदा सपनाको उचाइ बढ्दै जाँदो हो सायद, नरेन्द्रको सपनाले ठूलाठूला उचाइ नाप्न थालेको छ अचेल। नेपालमा प्रतिदिन ८० हजार लिटर दुध क्षमता भएको कनकाई डेरी निर्माण भइरहेको छ। झापा जिल्लामा कनकाई डेरीसँगै हुर्किरहेको छ अर्बको लगानीमा मेगा गाईफार्मको योजना। यहाँ दश हजार गाई पालन गर्ने परिकल्पना गरिएको छ। गाई पालनसँगै त्यसक्षेत्रमा बायोग्यास उपलब्ध गराउने योजना पनि छ।
सफलताको यत्रो सिँढी चढेका नरेन्द्रको सुरुवाती यात्रा भने औसत नेपालीहरुको जस्तै हो। जर्मनी आएपछि उनले साथीहरुको सहयोगमा म्याकडोनल्डमा काम पाए। त्यहाँ एक वर्ष काम गरे। राति काम गर्दा बढी पैसा पाइने भएकाले उनले राति पनि काम गरे। हप्ताको एक दिन शेक बनाउने मेशिन सफा गर्नुपर्थ्यो। उनलाई मेशिनका पार्टपुर्जाबारे जान्न निक्कै रुचि थियो। शेक मेशिन सफा गर्न नरेन्द्रलाई औधी रमाइलो लाग्यो। हरेक काम गर्दा उनी त्यसलाई मसिनो गरी नियालेर सम्पन्न गर्थे। उनी त्यहाँ अलराउण्डर भएर निस्किए।
काममा आफ्नो प्रदर्शन राम्रो भएपनि बिस्तारै उनलाई महसुस भयो- ‘म्याकडोनल्डमा सिकेको सीप अन्त काम लाग्दैन अब यहाँबाट निस्कनुपर्छ,’ फेरि दिन रात काम गर्दा स्वास्थ्य पनि बिग्रने भयो। भन्छन्, ‘म्याकडोनल्डमा एउटै कुरा सिकेँ, गेस्ट भनेको भगवान हुन्।’
म्याकडोनल्ड पछि उनको जागिर सुशी बारमा सुरु भयो। त्यहाँ वेटरको काम गर्दा निकै राम्रो टिप्स पाउन थाले। पैसा जोगाएर एक वर्षमा आफैँले फुड डेलिभरी व्यवसाय सुरु गरे। सन् २००१ मा सुरु गरेको व्यवसाय दुई वर्षमा चुर्लुम्म डुब्यो। त्यसपछि फेरि सुरु भयो अर्काको नोकरी। पिज्जा रेस्टुरेण्ट र एशिया वोकमा काम गरेपछिको अनुभवले फेरि २००७ मा आफ्नै व्यवसाय सुरु गरे। त्यतिबेला खुलेको एशिया क्विक नामको रेस्टुरेन्टको दबदबा अहिले पनि ह्यामवर्गमा राम्रै छ। जर्मनीमा एक दर्जन शाखाहरु खुलेका छन्। तर एशिया क्विक अहिले उनको स्वामित्वमा छैन।
यो प्रोजेक्टमा काम गर्दा आफ्नै साझेदारबाट धोका पाए। सन् २०१२ मा फेरि अर्को पटक डुबे । बुवा बितेर क्रिया कर्म गर्न नेपाल गएक बेला व्यवसाय उनको हातबाट खोसियो। चार महिनाकी छोरी र सुत्केरी श्रीमतीको असजिलो तथा बुवाको देहान्तको वियोगमा यो महाविपत आइलाग्यो। व्यवस्थित बन्दै गएको जीन्दगी फेरि दलदलमा फस्यो।
डुब्नु र तैरिनु अनि किनारा लाग्नु जिन्दगीमा भइरहन्छ, तर हिम्मत सक्किनु भएन। उनले जीवनका उतारचढावलाई सिकाइको रुपमा लिँदै अघि बढे। परिवारको साथ सहयोगले अझै बलियो भएर एशिया हब रेस्टुरेण्ट खोले।
यो पनि ह्यमबर्गमा चेन रेस्टुरेण्टको रुपमा फैलँदै गएको छ। यो चेनमा करिब दुई सय ५० नेपालीले रोजगारी पाएका छन्। उनले ब्राभो काडो सुशी रेस्टुरेण्ट पनि सञ्चालनमा ल्याएका छन्। आफ्नो स्वामित्व रहेको सबै क्षेत्रमा उनको प्राथमिकतामा नेपाली कामदार नै पर्छन्। जर्मनीमा अहिलेसम्म उनी मार्फत करिब आठ सय जना नेपालीले रोजगारीको अवसर पाएका छन्।
हरेक पटक व्यवसायिक दौडमा लड्दा उनले आफ्ना कमजोरीलाई राम्रोसँग नियाल्ने मौका पाए। पहिलोपटक फुड डेलिभरी व्यवसाय सुरु गर्दा उनलाई खाना बनाउने विषयमा ज्ञान थिएन। दोस्रो पटक व्यवसाय सुरु गर्दा पाककलामा पोख्त भएर रेस्टुरेण्ट सुरु गरे। आफैँ मेन सेफ भएर काम गरे। दोस्रो पटक डुब्दा आफुमा भएको नीतिगत ज्ञानको कमीलाई बुझ्ने मौका पाए। भन्छन्, ‘कम्पनी कसरी चल्छ भन्ने थाहा भएन, डाइरेक्टरले मेरो कम्पनीको अधिकार अरु कसैलाइ दिन सक्दोरहेछ’, यी सिकाइहरुले उनलाई परिपक्व व्यवसायी बनाउँदै ल्याएको छ। अहिले उनी नीतिगत विषयहरुमा पनि पोख्त भएका छन्।
नेपालका सबैजसो ठाउँहरुमा नेवार समुदाय व्यवसायमा अगाडि देखिन्छ। नरेन्द्रका बुवाआमा किसान भएपनि उनमा सानैदेखि व्यवसायी स्वभाव थियो। विद्यालय पढ्ने बेलामा चटपटे र बरफ खाने खर्च जुटाउन उनले मधु (जेठीमधु) बेच्ने गर्थे। घर नजिकैको जंगलमा पाइने यो जडीबुटी बेचेको पैसाले विद्यालय पढ्दाको पकेट खर्च धानिन्थ्यो। नेपालमा उनले झापा काठमाडौँ रात्री वस सेवा महालक्ष्मी ट्राभल्स पनि सञ्चालन गरे।
जर्मनी आएर पनि उनी धेरै समय अरुको काममा अल्झिएनन्। भन्छन्, ‘अरुको काम गरेर न आफु उठ्न सक्छु न मेरो समुदायलाई उठाउन सक्छु भन्ने लाग्थ्यो।’ एक त व्यवसायी सोच त्यसमा पनि उनी आफ्नो मात्र दुनो सोझ्याउने व्यक्ति परेनन्। यसले उनको सपनाको क्षेत्रफल फराकिलो बनाउँदै लग्यो।
पाँच दाजु र तीन दिदीका कान्छा भाइ नरेन्द्र, सबैका प्यारा। दाजु जापान गएकाले उनको पनि जापान नै जाने योजना थियो। भाइ विदेश गएदेखि जिम्मेवारी उनको हातमा सुम्पिएर आफु नेपाल फर्कने दाजुको चाहना थियो। त्यही सिलसिलामा सन् १९९१ मा जापान जाने मेसो मिलाउन रसिया पुगे। रसिया हुँदै जर्मनी आइपुगे। जापान जाने कुनै बाटो मेसो भेटिएन। अरुले त जर्मनीमा शरणार्थी भएर बस्ने सल्लाह दिएका थिए। तर उनलाई गैरकानुनी रुपमा बस्न मन थिएन। नेपाल नै फर्किए।
सन् १९९९ म भने पूर्ण रुपमा जर्मनी बस्ने योजना बनाएर आए। पहिले जर्मनी आउँदा नै उनलाई केही प्रभाव परेको थियो। धनी र गरिबबीच खासै फरक देखेनन्। नेपालमा धनी र गरिबले खाना खाने ठाउँ नै छुट्टै हुन्छ। जर्मनीमा धनी र गरिबले खाने सामानको गुणस्तर एउटै देखे। जर्मनीको धेरै राम्रा कुराहरुले उनको मन तान्यो, भन्छन्, ‘नेपालमा हामीले आफ्नै देशको मधेशीलाई कति विभेद गर्छौँ, यहाँ जर्मनीले हामीलाई त्यो व्यवहार गरेको छैन, कर तिरेका छौँ, त्यसैले आत्मबल आउँदो रहेछ।’
परिवारको भविष्य सोचेर परदेशिएका उनले आफ्नो परिवारका अधिकांश सदस्यलाई यतै ल्याइसके। परिवार नै यता हुँदा पनि उनको मनले नेपाल बिर्सन सकेन। भन्छन्, ‘हामी त यता न उताको भइयो, कागजमा यताको नागरिक भएपनि मन उतै पुग्दो रहेछ।’ केही समय अघि नेतृ रामकुमारी झाँक्रीले गैरआवासीय नेपालीहरुलाई भनेका भनाइहरु भाइरल भए। यसले कता कता उनको मन दुखाएको छ। तर झाँक्रीलाई गलत भन्न पनि सक्दैनन्, ‘यो परिस्थिति हामी आफैँले बनाएको हो, कहिले फेयर गेम खेलेकै छैन, संस्कार परिवर्तन हुन गाह्रो छ।’ तर विदेशमा बसेर एउटा स्तरको प्रगति गरेपछि आफ्नै देश उकास्ने रहर हुँदो रहेछ। नेपालप्रतिको भावनात्मक लगावलाई कुनै पनि नागरिकताले छेक्न सक्दैन।
तस्बिरहरु: विनीता मरहट्टा