
काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मंसिर २९ गतेदेखि चुरोटबिँडी र गुट्खासहित सबै सूर्तीजन्य पदार्थको बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ।
यसबारे बुधबार पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाले यसबारे गत मंसिर १२ गते नै सूचना निकालिएकाले बिहीबारदेखि सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउने जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरपालिकाको स्वास्थ्य विभागबाट मंसिर १२ गते निर्णय गरी खैनी, गुट्खा, पान पराग वा यस्तै मुखमा राख्ने रस लिने वा सेवन गर्ने सूर्तीजन्य पदार्थहरुको विक्री वितरण निषेध गर्ने गरी १५ दिने सूचना जारी गरिएको भन्दै बिहीबार (भोलि) देखि त्यसअनुसार बिक्रीमा प्रतिबन्ध लगाइने जानकारी दिए।
उनले त्यस्ता वस्तु बिक्री गरेको पाइएमा दुई पटकसम्म जफत गरिने अनि तेस्रो पटक पाइए पसल बन्द गर्ने जानकारी पनि पत्रकार सम्मेलनमा दिए। यसका लागि पसलहरुको नियमित अनुगमन र निगरानी गरिने पनि उनले बताए।
धूमपान गरेमा सार्वजनिक स्थलबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना गरिने, सार्वजनिक स्थलको सय मिटर वरपर बिक्री गरेको पाइए जफत गरी बन्द गरिने जनाइएको छ। यसका लागि महानगरका ४ क्षेत्रमा १० जनाका दरले नगर प्रहरी परिचालन गरिने तथा केन्द्रमा १० जना निरन्तर अनुगमनको लागि तयार रहने पनि जानकारी दिइएको छ। सादा पोशाकमा समेत नगर प्रहरी परिचालन गरिने मानन्धरले जानकारी दिए।