
मोरङ – मोरङको बेलबारी नगरपालिकास्थित राजनीतिककर्मी, बुद्धिजीवी, समाजसेवी, जग्गादाता, सर्वसाधारणले कोशी प्रदेश प्रहरी अस्पताललाई यथास्थानमा सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।
बुधबार विस्थापित अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै अस्पताललाई मध्यरातमा अपहरणशैलीमा सुनसरीस्थित जिल्ला समन्वय समितिमा अनधिकृत रुपमा स्थानान्तरण गरिएकोमा उनीहरुले आपत्ति जनाएका हुन्।
अस्पताल सञ्चालनमा नगरपालिकाले आवश्यक सहयोग नगरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नगर उपप्रमुख नितु कोइरालाले अस्पताल सञ्चालनको विषयमा प्रादेशिक अस्पतालसँग पटक–पटक समन्वय र सहकार्यको लागि छलफल भएको दाबी गरिन्।
उपमेयर कोइरालाले अनधिकृत रुपमा र छापामार शैलीमा स्थान्तरण गरिएको अस्पताल पुनः सोही स्थानमा स्थापना गर्न माग गरिन्। उपमेयर कोइरालाका अनुसार अस्पतालका लागि संरचना संकुचित भएको गुनासोसँगै जग्गा खोजी भइरहेको अवस्था थियो।
नगरपालिकाले अस्पताल सञ्चालनका क्रममा चिकित्सकको आवासको व्यवस्थापन, अस्पतालको रङरोगन, सुरक्षा निकायलाई इन्धनको व्यवस्था, चालु वर्षको बजेटमा समेत अस्पताल व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन भएको जनाएको छ।
त्यसैगरी, नगरपालिकाको नगर अस्पतालको नवनिर्मित भवनमा प्रदेश प्रहरी अस्पताल सञ्चालन गर्दै प्रदेश प्रहरीको अस्पतालका लागि भवन निर्माण प्रक्रिया अघि बढाउन काम भइरहेको नगरपालिकाले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
नगरपालिकाले अस्पतालमा प्रयोग भएका विभिन्न २६ वटा सामग्री नगरपालिकाले उपलब्ध गराएको जनाएको छ। अस्पताल सञ्चालनमा रहँदा प्रयोग भएको इलाका प्रहरी कार्यालयको भवन रहेको जग्गासमेत नगरपालिकाले उपलब्ध गराएको बताइएको छ।