
काठमाडौँ- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहको बुधबारको बैठकको मुख्य आकर्षणका पात्र थिए महामन्त्री गगन थापा। मंगलबार नै बस्ने तय भएको बैठक थापा सहभागी नहुने भएपछि एक दिन पर धकेलिएको थियो।
थापालाई बोलाएर पनि नगएको र बोलाउँदै नबोलाएको हो भन्ने पनि नेतापिच्छे फरक फरक कुरा छन्। विषेश गरी नेता डा. शेखर कोइराला र थापाबीच चिसोपना आएपछि उनलाई बैठकमा नै नबोलाउँदा गुटभित्र विवाद भएको हो।
इतर समूहमै उपगुट भएको पनि यसैबाट प्रष्ट बुझ्न सकिन्छ। मंगलबार नेता अर्जुननरसिंह केसीको बुढानिलकण्ठस्थित घरमा कोइराला र थापाले तीन घन्टाभन्दा बढी गुटभित्रको चिसो फ्याँक्न मेहनत गरेका थिए। यो सबै मेहनत थापालाई बुधबारको बैठकमा बोलाउन थियो।
यद्यपि बुधबारको बैठकमा थापा सहभागी हुने भने पनि जान्छन् वा जाँदैनन् भन्ने चासो बाँकी नै थियो। बत्तीसपुतलीस्थित एक फुडल्यान्डमा दिउँसो एक बजे बस्ने भनिएको बैठक दुई बजेतिर सुरु भयो। नेता थापा पौने दुई बजेतिर बैठकस्थलमा पुगेका थिए।
थापा गाडीबाट झर्न नपाउँदै एक दर्जनभन्दा बढी क्यामेरा र पत्रकारले थापालाई घेरे। गाडीबाट निस्किँदै गगनले हँसिलो चेहरामा भने, ‘यो त माइती जाँदाजस्तै भयो।’ पत्रकार र क्यामेरापर्सन मात्रै नभई संस्थापन इतर समूहका सयौँ नेता कार्यकर्ता र शुभेच्छुकको भीडको ध्यान आफूतिरै खिचिएको देखेर गगनले त्यसो भनेका थिए।
उनकै कारण एकदिन पर धकेलिएको बैठकमा थापाले शेखर समूह एकतावद्ध हुने हो भने पार्टी सभापति देउवासँग भिडौं, आफू आफू नभिडौँ भनेर आग्रह गरेका थिए। यति मात्रै होइन उनले आफू आफ्नै समूहसँग र पार्टी सभापतिसँग पनि गरी दोहोरो भिड्न परेको गुनासो गरेका छन्। थापा आफ्नै गुटका नेताहरुको समेत निसानामा छन्।
पछिल्लो समय कोशी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा कांग्रेसको शेखर पक्ष पार्टीमा विद्रोह गरेर नेकपा एमालेलाई साथ दिन पुगेको थियो, उक्त घटनामा आफूसँग परामर्श नगरेको भन्दै थापाले आपत्ति जनाएका हुन्। उनले संसदीय दलको नेता शेखर कोइरालालाई बनाउन पहल गर्न पनि बैठकमा आग्रह गरेका थिए।
प्रतिनिधिसभामा कांग्रेस संसदीय दलको नेतामा थालेपा देउवासँग भिडेर पराजित भएपछि दलको नेता परिर्वतन गर्नुपर्ने अडान पटक-पटक राख्दै आएका छन्। थापाले १४ औं महाधिवेशनबाट बनेको शेखर–गगन समूह एकतावद्ध हुन नसकेकामा पनि असन्तुष्टि पनि जनाएका छन्। संस्थापन इतर गुट कमजोर बन्दै जाँदा त्यसको फाइदा पार्टी सभापति देउवाले लिएको टिप्पणी हुने गरेका छन्।
विशेषगरी शेखर कोइराला र गगन थापाको सम्वन्धमा चिसोपना आउँदा गुट कमजोर भएको नेताहरु बताउँछन्। एक नेताले देश सञ्चारसँग भने, ‘गुट एउटै भन्नुमात्रै हो,शेखर कोइराला र गगन थापाबीच नै राम्रो सम्बन्ध छैन, यसले राम्रो सन्देश जाँदैन, गुट होइन पार्टी नै एकढिक्का बनाउनुपर्नेमा इतर समूहमा समेत उपगुट छन् यो दुर्भाग्य हो।’ उनका अनुसार केही समयअघिसम्म नेताहरु कोइराला र थापाबीच बोलचाल समेत थिएन।
व्यक्तिगत स्वार्थमा कोइराला आफैँ डिल गर्ने र समूहको प्रभाव देखाउनुपर्दा थापालाई खोज्ने गरेको कारण दुई नेताबीच दुरी बढ्न पुगेको थापा निकट नेताहरु बताउँछन्। संसदीय दलको नेतामा देउवासँग भिडेका नेतामात्रै नभई पार्टीका महामन्त्री र राष्ट्रिय राजनीतिमा समेत अपेक्षा गरिएका थापालाई इतर गुटमा उपेक्षा गर्न खोजिएको वा चाहिँदा मात्रै प्रयोग गर्न खोजिएको थापा निकट नेताहरुको तर्क छ।
यता हाल कानुनमन्त्रीसमेत रहेका पार्टी उपसभापति र कोइराला समूह निकट प्रभावशाली नेता धनराज गुरुङ गुट शब्द समेत सुन्न रुचाउँदैनन्। गुट मात्रै नभई उपगुट समेत निर्माण भएर शेखर समूह नै फुटको संघारमा पुग्न लागेका बेला नेता गुरुङ भने कांग्रेसमा गुट नै नभएको र गुट भन्ने शब्द समेत सुन्न रुचाउदैनन्। यो प्रतिक्रिया उनले बुधबार कोइराला गुटको भेलामै सहभागी हुन पुग्दा सञ्चारकर्मीलाई दिएका हुन्।

धनराज गुरुङ,पार्टी उपसभापति।
सञ्चारकर्मीले पार्टीमा गुट कारण, गुट सकिने समय लगायत गुटसँग सम्बन्धित जिज्ञासाहरु राखेपछि गुरुङले ‘हत्तेरी गुटको कुरा नगर्नुस् न’ भनेका थिए।
नेता शेखर कोइरालाले महामन्त्री गगन थापा पक्षसँग एजेन्डामा कुनै फरक नरहेको दाबी गरेका छन्। बुधबार छलफल सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कोइरालाले सञ्चारमाध्यमहरूले बढाइँचढाइ गरे पनि एजेन्डामा थापा समूहका नेताहरूबिच कुनै भिन्नता नरहेको बताएका हुन्।

शेखर समूहको बुधबारको भेला।
कोइरालाले एजेन्डामा महामन्त्री र आफूबीच एक इन्च पनि फरक नरहेको दाबी गरेका हुन्। उनले बरु कांग्रेस र देश ठिक ढङ्गले नचलेको बताउँदै महामन्त्री थापासँग कुनै समस्या नरहेको बताए। यस्तै थापा र कोइरालाको दुरी घटाउन मध्यस्थकर्ताका भूमिका खेलेका नेता अजुर्ननरसिँह केसीले अनि बुधबारको बैठकपछि दुई नेताबिच कुनै फाटो नआएको दाबी गरेका छन्।

नेता शिवाकोटी।
नेता अजयबाबु शिवाकोटीले बुधबारको बैठकले शेखर–गगन समूहको बैठकले एकताको सन्देश दिएको दाबी गरेका छन्। गगनले कांग्रेस संसदीय दलको नेता शेखर कोइरालालाई बनाउन पहल गर्ने कुरा राख्नुले इतर समूह एक भएको बताए। यस्तै २०८२ सम्म पार्टीको अधिवेशन गरेर गरेर नेतृत्व फेर्न पनि थापाले भनेको भन्दै एकता र नेतृत्व परिर्वतन नै गुट भेलाको प्रमुख सन्देश रहेको बताए। साथै महासमिति बैठक पटक पटक सार्न नहुने उनको तर्क छ।
शेखर समूह भेलाका तस्बिरहरु।