
धनगढी –डा.गोविन्द केसीले सरकारले विगतमा पटक पटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि धनगढीमा सत्याग्रह सुरु गरेका छन्।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको एलएनचौक स्थित कृष्ण मन्दिरको धर्मशालामा केसीले तीन दिने सत्याग्रह सुरु गरेका हुन्।
गेटा मेडिकल विश्वविद्यालय धनगढीमा सत्याग्रह सुरु गर्न जाँदा गेटा मेडिकल विश्वविद्यालय संघर्ष समितिले डा. केसीलाई भित्र प्रवेश गर्न रोकेपछि उनी धनगढी फर्केर कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका हुन्। सरकारले विगतमा पटक पटक गरेका सहमति पालना नगरेको भन्दै शुक्रबार साँझदेखि तीन दिने सत्याग्रह सुरु गरेका हुन्।
सत्याग्रह सुरु गर्न शुक्रबार नै श्री एयरलाइन्सको जहाजबाट डा. केसी धनगढी आएका थिए। स्वास्थ्य विषयका शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, सबैको लागि गुणस्तरीय, निःशुल्क्सस्तो सुलभ स्वास्थ्य सेवा तथा शिक्षामा समान पहुँचका तथा सुशासनका लागि सरकारले बिगतमा पटक पटक आफूसँग गरेको कार्यान्वयन नगरेकोले सत्याग्रह गर्न थालेको डा. केसीले बताएका छन्।
देशमा सबै क्षेत्रमा दण्डहीनता चुलिएर गएको, दण्डहीनता अन्त गर्नका लागि संविधानले स्थापना गरेका संस्थाहरू आफैँ दलीय भागबन्डा र लुछाचुँडीको सिकार बनेर निस्तेज भइसकेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानवअधिकार आयोगजस्ता संस्थाहरू पार्टी कार्यकर्ताका भर्ती केन्द्र बनेर ती संस्थालाई पूर्णतः कर्तव्य च्युत बनाएको उनले उल्लेख गरेका छन्।
डा.केसीले मुख्य २ बुँदामा आफ्ना माग उल्लेख गरेका छन्। सशस्त्र द्वन्द्व कालका जघन्य तथा मानवता विरोधी अपराधका दोषीलाई दण्डित गरी पीडित परिवारलाई न्याय हुने गरी सक्रमणकालिन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा पुर्याउनुपर्ने र बिगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग अघि सारेका छन्।
डा.केसीलाई गेटा मेडिकल विश्वविद्यालयमा सत्याग्रह बस्न स्थानीयले दिएनन्। स्थानीयले मेडिकल विश्वविद्यालयको माग गरिरहेका बेला डा. केसीको स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनु पर्ने माग राखेकाले संघर्ष समितिले गेटामा अनशन बस्न नदिएको हो।
उनलाई गेटाको मूल गेट भित्रै प्रवेश गर्न दिएका थिएनन्। गेटामा प्रवेश नपाएपछि उनी धनगढी फर्केका हुन्। गेटामा उनलाई अवरोध भएपछि निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी डा. केसीले धर्मशालामा अनशन सुरु गरेका हुन्।