देशसञ्चार चौतारी : भाग-२३

‘चुनौतीबिनाको जिन्दगी पनि के जिन्दगी !’

+
-

कोही यस्ता पात्र हुन्छन्, जसको परिचयका लागि शब्द चाहिँदैन। त्यस्तै व्यक्ति हुन्- राजेश हमाल। देश सञ्चार चौतारीले यो श्रृंखलामा चलचित्र, समाज, राजनीति र संघर्षमय आरोह-अवरोहका बारेमा उनीसँग गरिएको कुराकानी:

आम नेपालीहरूले तपाईंलाई कसरी चिन्नुहुन्छ थाहा छैन, तर तपाईं आफूले आफैंलाई कसरी चिनाउनु हुन्छ र आम नेपालीहरूले कसरी चिनिदिओस् भन्ने लाग्छ?

पेशागत हिसाबले त म कलाकार हुँ। र, हरेक व्यक्तिमा निहित व्यक्तित्वको पनि परिचय हुन्छ। किनकि पेशा जीवनकालभरि नरहन सक्छ तर जीवन पेशापश्चात् पनि रहन्छ। र, पनि म कलाकार हुँ, आम मानिससँग आफ्नो कलामार्फत् परिचित छु।

नेपाली सिनेमा बलिउडबाट प्रभावित थियो र छ भन्ने गरिन्छ। तपाईंले त नेपाली सिनेमा क्षेत्रमा करिब ३५ वर्ष बिताइसक्नु भयो। आजसम्म आइपुग्दा नेपाली सिनेमामा देखिएको समाज र तपाईंले देखेको समाजलाई कसरी बुझ्नुहुन्छ?

कला या चलचित्र समाज र साहित्यकै सर्कल हो। कलाको मुख्य विषय नै समाजबाट लिइन्छ। कलाले समाजको कुरालाई नयाँ ढाँचाबाट पस्किन्छ। र, हेर्नेलाई अनि पढ्नेलाई प्रभावित पार्छ। उनीहरूको सोच्ने तौर-तरिकालाई बदल्न सक्छ। त्यसो हुँदा समाजबाट प्रेरित भएर नै चलचित्रले समाजको कथा उठाउने हो, पस्किने हो। तर चलचित्रले समाजको हुबहु कथा टिप्छ भन्ने छैन। कतिपय कल्पनाशिलताको प्रयोगमार्फत् अतिरञ्जित पनि गर्छन्। कला अर्को ग्रहबाट आएको होइन। यही समाजको सुन्दर माध्यम हो।

जे होस् नेपाली सिनेमाले नेपाली समाजको प्रतिनिधित्व गरेको छ ?

मेरो विचारमा त गरेको छ। अझ सुरुको समय अर्थात चालिसको दशकतिर त मेरा चलचित्रमा नेपाली समाज भरपूर थियो। जस्तै: मेरो पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ प्रेम कथामा थियो भने त्यसपश्चातका चलचित्रमा आम नेपाली समाजकै कथा थिए। केही अतिरञ्जित सिनेमा पनि नबनेका होइनन् तर सिनेमामा केही लिबर्टी पनि हुन्छ। र, वास्तविक जीवनमा गर्न नसकेको कुरा सिनेमामा देखाउन सकिन्छ। र, त्यो कुरा मानिसको कल्पनामा पनि हुन्छ। वास्तविक जीवनमा दश मान्छेलाई ढाल्न नसके पनि कल्पनामा त सकिन्छ। दबिएका आकांक्षा र व्यावहारिक जीवनमा गर्न नसक्ने काम गरिदिन्छ फिल्मले। त्यसो हुँदा आम समाजका पात्रहरूसँग नजिक छ।

फिल्ममा योजना गरेरै आउनु भएको थियो होला, ती दिनमा योजना बनाएर आउँदा यति लामो यात्रा गर्छु भन्ने लागेको थियो?

होइन, कलाकार बन्छु भनेर सोचेकै थिइनँ। तर म सिनेमाको माध्यमसँग आकर्षित थिएँ। सिनेमाको कलाकार बन्छु भन्नेभन्दा पनि माध्यमले मलाई तानेको थियो। मलाई के लाग्यो भने- सिनेमाको माध्यम भनेको एकदम सशक्त माध्यम हो। र, त्यो समय त नेपालमा चलचित्र क्षेत्र पनि फस्टाइसकेको थिएन। र, नेपालमा निरन्तर चलचित्र पनि बन्दैन थिए। एकजना युवा चलचित्रमा लागेर उसको करिअर बन्छ, भविष्य राम्रो हुन्छ भन्ने त सोच्नै नसकिने अवस्था थियो। अझ सिनेमामा लागेर स्थापित हुन सकिएला भन्ने नजिर त कत्ति थिएन।

नेपालमा कलाकार बन्छु भनेर घरपरिवारसँग छलफल गरेर अगाडि बढ्न गाह्रो थियो। त्यस किसिमको परिस्थिति थिएन। तर मन त थियो। मैले औपचारिक अध्ययन सकिएपछि मोडलिङ गर्न थालें भारतमा। मोडलिङमार्फत् चलचित्रमा प्रवेश गर्न सकिन्छ कि भन्ने लागेर लागेको थिएँ। आजको घडीमा आएर पनि कसैले मलाई- राजेश दाइ हिरो हुन के गर्नुपर्ला भनेर सोध्यो भने मसँग कुनै उपाय छैन। बैंकमा प्रवेश गर्न जस्तो सजिलो छैन कलाकार हुन। म हिरो बन्न चाहन्छु भन्नेलाई यस्तो ठाउँमा जानूस् भनेर भन्ने ठाउँ छैन।

अब नेपाली चलचित्रमा सुरुवात कसरी भयो भने- दिल्लीबाट म नेपाल आएको वर्ष मेरो मामा दीपक रायामाझीसँग भेट भयो। उहाँ रुसबाट चलचित्र निर्देशन पढेर आउनु भएको थियो। उहाँले फिल्म बनाउँदै हुनुहुँदो रहेछ। उहाँले नै काम गरौं भन्नु भयो। पहिलो अफर अन्यौलताका बाबजुद पनि काम त गरें।

मैले गरेको चलचित्र सफल भयो भने के हुन्छ त भन्ने नै अन्यौल थियो। अथवा दोस्रो चलचित्र कहाँबाट आउँछ त? भन्ने दुविधा हुँदा पनि मैले पहिलो चलचित्र युगदेखि युगसम्म गरें। त्यसबेला, दुई वर्षमा एउटा चलचित्र बन्थ्यो। भविष्य थिएन। यदि यो चलचित्र सफल भयो भने कहाँ जाने होला? के गर्ने होला? बिफल भयो भने त थाहा थियो- यु टर्न लिने। चलचित्र जब रिलिज भयो- एक किसिमको मिनी रिभोलेसन नै आयो। दर्शकले फिल्म मात्रै रुचाइदिनु भएन, मप्रतिको जिज्ञासा पनि राख्नु भयो। यो व्यक्ति को हो कहाँबाट आयो, कताको हो? भन्ने खुलदुली पनि भयो।

पहिलो चलचित्र प्रदर्शनपछि धेरै चलचित्र बनाउन हौसिए। लगानीकर्ताहरू मलाई नै राखेर फिल्म निर्माण गर्न तयार हुन थाल्नु भयो। पहिलो चलचित्रमा अन्यौलताका साथ काम गरियो र, करिब एक वर्षपछि आठ दश घन्टासम्म काम गर्ने र करिब तीन वर्षपछि म १६ घन्टासम्म काम गर्न थालें। त्यसरी मैले २२ वर्षसम्म दैनिक १७-१८ घन्टासम्म काम गरें। चलचित्रमा काम गर्ने भनेको शनिबार आइतबार भन्ने हुँदो रहेनछ। कन्ट्रयाक भएपछि गर्दै जानुपर्थ्याे। मेरो लागि पनि आश्चर्य भयो। एभरेजमा प्रतिवर्ष ११-१२ वटा फिल्ममा काम गरिरहन्थें। एक वर्ष त मैले २२ वटा फिल्म पनि गरेको छु। कुनै फिल्ममा गेष्ट अपिरियन्स, गीतमा कुनै लामो भूमिका गरियो। म आफूलाई भाग्यमानी ठान्छु। त्यो बेलामा चलचित्रमा प्रवेश गर्नु भनेको नभएको बाटोमा हिँड्न खोज्नु जस्तो थियो। युगदेखि युगसम्म गर्दा म ३५ वर्षसम्म यो क्षेत्रमा काम गर्छु भनेर सोचेको थिइनँ। त्यस कारण म आफ्नो बाटो आफैंले खन्दै आएको हुँ।

पहिलो चलचित्र युगदेखि युगसम्मभन्दा अगाडि पनि कुनै चलचित्रमा काम गर्नु भएको थियो भन्ने सुनिन्छ, हो?

हो, त्यो चलचित्रको नाम ‘भाग्य रेखा’ थियो। त्यो फिल्म छायांकन भएको १२-१३ दिनमा सुटिङ रोकियो। हामी अर्थात् हिरोइनसहित निकालियो। प्राविधिक कारणले हामी निकालिनु परेको थियो सायद। त्यो असफलताले मलाई धेरै अप्ठ्यारो पार्‍याे। एक त अनिश्चित क्षेत्रमा हामफाली रहेको थिएं। अर्को मेरो परिवारलाई चित्त बुझाउन सकिरहेको थिइनँ। मेरो बुवाआमालाई कला मन नपराएर होइन कि चलचित्र क्षेत्रमा करिअर बनाउन सक्दैन भन्ने चिन्ता थियो। अभिभावकको चिन्ता थियो- हतोत्साहितचाहिं गर्नुहुन्थ्यो। मचाहिं गर्छु, यो मेरो प्यासन हो, भित्री इच्छा छ, गर्छु भन्ने थियो। तर पहिलो गासमै ढुंगा लाग्यो।

पहिलो फिल्म भाग्यरेखा पनि मेरै मामा दीपक रायमाझीले नै निर्देशन गर्नु भएको थियो। त्यो चाहिं मेरो लागि निराश काम थियो। यही नै घरपरिवारलाई भन्ने बाटो भयो- देखिस् भनेका थियौं नि हामीले तँलाई। नेपालमा चलचत्रिमा पार पनि लाग्दैन। एकहिसाबले मलाई एकदमै हतोत्साहित गर्‍याे। मेरो सपोर्ट सिस्टम थिएन। अहिले फर्किएर हेर्दा म करिब २४ वर्षको थिएँ। त्यो २४ वर्षे राजेशलाई चाहिं आत्मविश्वास रहेछ। फेलिएरपश्चात पनि लागिरह्यो। पहिलो चलचित्रबाट निष्कासन भएपश्चात विडम्बना त्यही टीमले २ वर्ष पछि भेट्न आयाे। हामी तपाईंलाई राखेर फिल्म बनाउँछौं भन्नु भयो। अनि मलाई लाग्यो- मभित्र केही कमजोरी छैन भन्ने। उहाँहरूले फेरि काम गर्न मन गर्नु भनेको उहाँहरूकै कारण मलाई निकालिएको रहेछ। कहिलेकाहीं म युवाहरूलाई भन्ने गर्छु- हरेश खानु हुँदैन। पहिलो पाइलामा लड्न पनि सकिन्छ तर प्याशन छ भने लाग्न सकिन्छ। फेरि कोसिस गर्न सके अगाडि बढिन्छ।

तपाईंलाई त्यही राजेश हमाल भएर सोच्दा त्यो बेलामा सिनेमामै काम गर्न चस्का बस्यो कसरी?

त्यो बेलामा मेरो कस्तो सोच थियो भने- जो मान्छे प्याशनली केही गर्न चाहन्छ अथवा रुचि छ,। मेरो रुचि कन्भेन्सियनल लाइनमा पनि हुन सक्छ। आर्मी, पाइलट, पुलिस, डाक्टर बन्छु भनेको भए विश्वास हुन्थ्यो मेरो परिवारलाई। तर फरक खालको रुचि राख्दा पत्याउन गाह्रो भयो। त्यो बेलामा कलाकारिता, म्युजिक, खेलाडी, जस्ता क्षेत्रमा काम गर्न लाग्ने छोराछोरीलाई हप्काउँथे। अभिभावक डराउँथे। हतोत्साहित गर्नु स्वाभाविक थियो। आफूभित्र भएको कलालाई लिएर म कति गर्न सक्छु भनेर ट्राइ चाहिं गर्नु पर्दोरहेछ भन्ने लाग्छ। नत्र पछि पछुताउन सकिन्छ। आफ्नो प्याशनलाई केही समय भए पनि ट्राइ गरौं भन्ने भयो र युगदेखि युगसम्ममा काम गरें। म सफल भएँ भने बुवाआमालाई खासै गुनासो नहोला नि त भन्ने चाहिं थियो मलाई।

चलचित्र क्षेत्रमा लाग्नु भयो भनेर तपाईं र तपाईंको बुवाबीच मनमुटाव नै भयो भनिन्छ, हो?

हो, मनमुटाव भयो। मेरो आत्मामा आदर हुँदाहुँदा पनि बाबुछोरामा केही नमिलेजस्तो भयो। प्रेम, आदर, सम्मान,थियो र पनि रुचिको काम गर्न लाग्दा केही मतभेद भयो। करिब ४-५ वर्ष नै हाम्रो बोलचाल रोकियो। म यति काममा व्यस्त भएँ कि उहाँसँग एकाध वर्षमा त बोलिहाल्छु भन्दाभन्दै त्यो अवसर गुम्यो। कहिलेकाहीं जीवनमा भोलिको लागि भनेर अथवा पछिको लागि सार्नु हुँदोरहेनछ। जीवन त अनिश्चित रहेछ।

वातावरण यस्तो बन्यो कि हामीले कम्युनिकेसन नै गरेनौं। कुरा नमिले पनि कम्युनिकेसनचाहिं हुनुपर्दोरहेछ। त्यस्तो वातावरणमै मेरो बुवा पाकिस्तान जानु भयो राजदूत भएर। र, उहाँले मसँग नभेटेरै जानु भयो। चार वर्षपछि पाकिस्तान म पुगिहाल्छु भन्ने भयो मलाई पनि। तर उहाँ पाकिस्तान गएको १ महिनामै बित्नु भयो। ब्लड प्रेसर थियो। चारवटा औषधीमा दुईवटा औषधी छुटिरहेको रहेछ। उहाँ गाडीमै बित्नु भएको रहेछ। ५६ वर्षको उमेरमै बित्नु भयो। बोल्ने भनेका सबै कुरा अधुरो रह्यो।

तपाईंले एकनासे खालको चलचित्रमा अभिनय गर्नुभयो। सायद त्यो बेला त्यस्तै चलचित्रको माग रह्यो। तर तपाईंसँग रहेको सिर्जनात्मक क्षमता पछाडि धकेलियो भन्ने लाग्छ?

चालिस पचासको दशकमा नेपाली चलचित्र मैले यस्तो हुनुपर्छ भन्ने लागेन। किनकि नेपाली चलचित्र क्षेत्र स्थापित भइसकेको थिएन। बरु मलाई के लाग्यो भने- यही फ्लोलाई पछ्याउनु पर्छ। मैले त कलाकारितालाई मात्रै नपछ्याइ नेपाली चलचित्र क्षेत्रलाई पनि स्थापित गर्नु थियो। क्षेत्र स्थापित नभए चलचित्रको विकास हुँदैन थियो। आम नेपालीको जनजीवनसँग नजिक भएर काम गर्नुपर्छ भन्न भयो। उहाँहरूको चाहना आकांक्षा, उहाँहरूले खोजेजस्तै देखिनु पर्छ भन्ने कुरामा म स्पष्ट थिएँ। हाम्रो चलचित्र भारतीय चलचित्रबाट प्रभावित थियो। स्कुलिङ पनि त्यहीबाट भयो। अझ मैले चलचित्रमा काम गर्दाका सुरुवाती दिनमा नेपाली भाषामा चलचित्र हेर्ने बानी पनि थिएन। चलचित्र हेर्ने भन्नेबित्तिकै हिन्दी भाषा आउँथ्यो दिमागमा। संवाद पनि हिन्दी नै आउँथ्यो। हिन्दी फिल्म हेरेर हुर्किएका दर्शकलाई नेपाली संवाद सुन्दा अलिकति अप्ठ्यारो भयो। तर मैले चलचित्र गर्दा दर्शकहरू आकर्षित हुनुभयो। अतिरञ्जित भए पनि हामीले त्यस्तो गर्‍याैं। र बिस्तारै सामाजिक विषयवस्तुमा आधारित चलचित्र भरिया, एक नम्बरको पाखे, गाउँले, अधिकारलगायतमा गरें । मधेसी, पहाडी, हिमाली, गाउँले, भरिया सहरिया नेपाल सुहाउँदो भेषभुषामा आएँ। सबै जति धर्मका लुगा पनि लगाएँ। हलो जोतें। गाडा पनि चलाएँ, ट्याक्टर, रिक्सा, ठेला, साइकल, गाडी, सबै चलाएँ। मेरो यात्रा त्यसरी सुरु भयो। यसरी क्रमश: जनसमुदायसँग आत्मीयता गाँसियो। पहिला पहिला म ठमेलमा पुग्दा सडक बालबालिकालाई आफ्नो गाडीमा राखेर रिङरोड घुम्न निस्किन्थें । कदापि म भ्रममा रहेनछु भन्ने त्यतिखेर लाग्यो। यो वर्ग, यो जाति, यो धर्म मान्नेलाई होइन कि आम नेपालीलाई मैले राम्रै गरेको रहेछु भन्ने लाग्दाे रहेछ। समाजमा तहतप्का त भइहाल्छन्। आमबाट अलग स्वभाव राख्नेहरू पनि हुन्छन्। त्यसलाई मैले त्यति ध्यान दिइनँ।

र, कलाको दुईवटा पाटा हुन्छन्- एउटा रियालिटी नजिक हुन्छ अनि अर्को अतिरञ्जित नजिक। रियालिटी मन पराउने पनि हुनुहुन्छ र अतिरञ्जित मन पराउने पनि हुनुहुन्छ। त्यो व्यक्तिको कलाकारितामा झल्किन्छ। तर कलाकार दुवै चलचित्रमा गहन हुन्छ, गम्भीर हुन्छ। जस्तै: इतिहास माथि बनेको चलचित्र ‘वसन्ती’ मन पराइदिनु भयो। तर आम-दर्शकका माझ चलेन। पैसा पनि कमाएन। चलचित्रको उद्देश्य भनेको धेरैभन्दा धेरैले हेरून् भन्ने हो। विशेष गरेर मैले खेलेको चलचित्र आदर्शवादी पनि होइन, चलचित्र भनेको विभिन्न किसिमका हुनसक्छन्। कला भाषा संस्कृति जोगाउने खालको पनि हुन सक्छ। अतिरञ्जित खालको पनि हुन सक्छ। कुनै चलचित्र मनोरञ्जन दिने मात्रै हुन्छ। साहित्य, इतिहास अनि राष्ट्रमा आधारित चलचित्र बनाउन सकिन्छ। एउटै बास्केटमा राख्ने होइन। सिर्जनाको दायरा एकदमै फराकिलो हुनुपर्छ। व्यक्तिले आफ्नो सिर्जना पस्किन पाउनु पर्छ। त्यसैले सिर्जनामा प्रतिबन्धी हुनुहुँदैन।

वसन्तीको सन्दर्भ जोडिहाल्नु भयो। तपाईंको भूमिका त्यसमा गज्जब फिट थियो। अब इतिहासमाथि अथवा यस्तै भूमिकामा काम गर्ने कस्तो योजना छ र आगामी दिनमा निर्माण निर्देशनमा काम गर्ने योजना पनि छ कि?

म कलाकार भएकोले इच्छा त हुन्छ नै। विभिन्न काम गरौं भन्ने हो। तर चलचित्रको निर्माण गर्नुको उद्देश्य भनेको मुनाफा कमाउनु पनि हो। व्यक्तिले लगानी गरेर मुनाफा खोज्छ नै। ल एउटा चलचित्र उसले मुनाफा नखोजेर बनाउन सक्छ। तर लगातार बनाउन त पक्कै सक्दैन। लगानी गरेपछि मानिसले रिटर्न खोज्छ। त्यसो हुँदा व्यावसायिक चलचित्र निजी क्षेत्रबाट प्रयास भइरहेका छन्। अब राष्ट्र, साहित्य, इतिहासमाथि चलचित्र राज्यले बनाउने कोसिस गर्नु पर्छ भन्ने हो। र, म अहिले अभिनयबाट अघाएकै छैन। अभिनयमै रमाउन चाहिरहेको छु। त्यसो हुँदा निर्माण निर्देशन छुटेको छ। अब अभिनयको कुरा अलिकति जोड्छु-  मैले जीवनमा दुईवटा प्ले गरें। एउटा चार पाँच वर्ष पहिले ‘कोर्ट मार्सल’ र दोस्रो युगदेखि युगसम्म चलचित्र प्रदर्शन भएको एक वर्षपछि सेक्सपियरको नाटक थियो। त्यो नाटक अंग्रेजी बोल्नेहरूले खोलेको ‘ह्याम्स’ टीमले गरेको थियो। त्यो नाटक गर्दा म निकै सन्तुष्ट थिएँ। अमेरिकी एक महिलाले मेरो अभिनयको तारिफ गर्दै ब्याक स्टेजमै आएर धन्यवाद दिनु भएको थियो।

तपाईंलाई घोचपेच गर्ने खालको प्रश्नहरू आइरहन्छन् र पनि तपाईं सहजले लिनुहुन्छ। यो कसरी सम्भव हुन्छ?

व्यक्तिको दृष्टिकोणको कदर गर्नु पर्छ भन्ने लाग्छ। त्यो भएन भने प्रतिउत्पादक हुन्छ। त्यसैले मेरो विचारमा के छ भने- हरेक व्यक्तिले आफ्नो अभिव्यक्ति दिने अधिकार छ। अभिव्यक्तिमा केही न केही अर्थ हुन्छ। रुचाउँदैन भन्न सकिन्छ। हरेकको दृष्टिकोण कदर हुनुपर्छ, म गर्छु पनि। त्यो चाहिं मेरो कलाले पनि सिकाउँछ।

तपाईं अंग्रेजी साहित्य पढ्नु भयो । यति विशिष्ट नेपाली भाषा बोल्नुहुन्छ, यो कसरी सम्भव भयो?

इन्ट्रेस्टिङ क्वाेइश्चन, यो धेरैलाई थाहा छैन। म आठ कक्षा पढ्दासम्म पनि मलाई स्पष्ट नेपाली आउँदैन थियो। बरु अहिले आउँछ। म अंग्रेजी स्कुलमा पढेर होइन कि मेरो परिवार बुवाको कारण यताउता गरिरहनु पर्थ्याे। बुवा कुटनीतिज्ञ हुनुहुन्थ्यो। र बाल्यकालमा जहाँ गयो त्यहींको प्रभाव पर्छ। बाल्यकालमा म आफ्नै देश परिवेश, वातावरण समाज र समुदायबाट अलग्गिएर हुर्किएँ। नजिकिन पाइनँ। म आफ्नो कलाप्रति किन पनि कृतज्ञ छु भने जुन मेरो बाल्यकालमा खट्किएको कुरा थियो- त्यो कलामार्फत् फर्काउन पाएँ। आम जनसमुदायबीच घुलमिल हुने मौका पाएँ। यो नेपाली चलचित्रले नै दियो। जब म कलाकारितामा लागें अनि मेरो उठबस विभिन्न पृष्ठभूमि, वर्ग, समुदाय, धर्म, उमेर समूहका मानिससँग भयो। यसरी मेरो नेपाली भाषा राम्रो हुँदै गयो।

तपाईंका चलचित्र हेरेर सिनेमा क्षेत्रमा काम गरिरहेकाहरूले निर्माण निर्देशनतिर पनि लागिसक्नु भयो। तपाईंले अहिले ती गतिविधिलाई बजारको हिसाबले कसरी हेर्नुहुन्छ?

मेरो मनशाय चाहिं के हो भने- उत्पादनशील हुनुपर्छ भन्ने हो। उत्पादक हुनसक्नु भएन पनि जीवन कठिन हुन्छ। जो जसरी लागे पनि उहाँहरूले राम्रो गर्नु भएको छ। खुसी लाग्छ। जब निरन्तर काम गरेर पलायन हुनुपर्छ तब निराश भइन्छ। दुःख लाग्छ। समय र उमेरले पनि रोक्छ केही हदसम्म। आफ्नो रुचि अनुसारको काम गरियो भने राम्रो हुन्छ। आफ्नो क्षेत्रमा धेरैथोक दिन सक्नेहरू निष्क्रिय हुन्छन्, त्यो चाहिं दुखद कुरा हो।

सुप्रसिद्ध कलाकार राज्यको शासनव्यवस्थाबाट अलग हुने कुरै भएन। शासकहरूप्रति जनताले गर्ने विश्वासलाई तपाईंले कसरी हेर्नु भएको छ?

तपाईं समाज अनि राष्ट्रमा बसेपछि तपाईंले राजनीतिमा चासो नराखे पनि राजनीतिले चाहिं तपाईंप्रति चासो राख्छ। राजनीतिबाट कोही अछुतो छैन। राजनीतिमा चासो राख्नु पर्छ नै। र, नेतृत्व गर्नेले सही काम गरेनन भन्ने लागेर नै नयाँ पात्रप्रतिको चासो हुने हाे। तर राजनीतिमा गुनासो कहिले पनि सकिँदैन। हरेक कालखण्डमा राजनीतिप्रति गुनासो थियो, छ, र हुने छ। राजनीतिबाट गुनासो सकिँदैन। गुनासो नगर्ने त्यो बिन्दुमा हामी पुग्दैनौं। जति विकास भए पनि तरक्की भए पनि त्यो रहिरहन्छ। राजनीतिकै कारण विगतका भन्दा धेरै कुरा राम्रा भएका छन्।  अब यसलाई म दुईटा दृष्टिकोणबाट हेर्छु- एउटा- त्यो नेपाल, मेरो बाल्यकाल र कलेजमा पढ्ने समयताका व्यापक गरिबीमा थियो। गरिबीमा मात्रै होइन, दयनीय थियो। हदै शिक्षित भए भने मेरो बुवासम्म हुनुहुन्थ्यो। त्यो पनि औंलामा गन्न सकिने हुन्थे। हजुरबाहरू त अशिक्षित हुनुहुन्थ्यो। दाल-भातबाट पनि बञ्चित थिए। आजको बिन्दुमा आइपुग्दा लगाइखुवाइ अनि बाँच्ने जीवनशैलीमा परिवर्तन भएको छ।

तर अर्को दृष्टिकाेणबाट हेर्दा के विकास भएको छ त ? यो तीस चालिस वर्षमा छिमेकी राष्ट्र चाइनामा हेर्‍याे भने उसको प्रगति कहाँबाट कहाँ पुगिसक्यो। यो ३५ वर्षमा जति उपलब्धी हुनुपर्थ्याे त्यति छैन। एउटा दृष्टिकोणबाट जति हुनु पर्ने थियो भएको छैन। तर अर्को दृष्टिकोणबाट हेर्दा ‘क’ बिन्दुबाट ‘ख’ बिन्दुमा आएको चाहिं देख्न सकिन्छ।

राजनीतिमा आउने योजना पनि छ कि ?

हरेक नागरिकलाई राजनीतिमा जाने अधिकार छ। र, नयाँ मान्छेलाई राजनीतिमा जानु हुन्छ भनेर सोध्नु चाहिं जसले राजनीति हाँकिरहनु भएको छ, उहाँबाट केही गतिलो काम भएको छैन भन्ने लागेर नै यस्ता प्रश्न आउने हो। नत्र कलाकार गरेको व्यक्तिले कलाकारितामै समर्पित गर्नु पर्ने हो। राजनीति जसले सम्हालिरहेका छन् त्यहाँ धेरै गुनासो भएकाले सम्भावित व्यक्तिलाई खोजिन्छ। राष्ट्रको विकास हुन हरेक क्षेत्रमा विकास हुनुपर्छ भन्ने छ। राजनीतिमा जाँदै जादिँन भन्न सक्दिनँ तर तत्काल छैन।

नेपालको डिप्लोमेटिक संस्कारमा हुर्किनु भयो नजिकबाट देख्नु भएको पनि छ । तपाईले आफूलाई बुवाकै बाटोमा देख्ने गर्नु भएको छ?

म हिङ नभए पनि हिङको टालो चाहिं हो। त्यही वातावरणमा हुर्किएको हुँ। र, अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा रुचि पनि छ। प्रतिनिधि गर्न सकिन्छ। नसक्ने भन्ने पनि हो। त्यसको पनि एउटा आन्तरिक पोलिटिकल जटिलता छन्। नदेख्ने भन्ने होइन। त्यहाँ डेप्लोमाको पाटो छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?