
काठमाडौं- दुई गोलको अग्रताको अवस्थामा १० खेलाडीमा समेटिएको झापाले अन्नत नेपाल सुपर लिग (एनएसएल) मा आफ्नो प्लेअफ सम्भावना कायम राख्न सफल भएको छ। बुधबार दशरथ रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलमा धनगढी भने सातौं खेलमा आएर अपराजित यात्रा अन्त गर्न बाध्य भयो। धनगढी माथिको २-० को जितसँगै झापाले प्लेअफको सम्भावनालाई अन्तिम खेल सम्म पुर्याउन सफल भयो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा अञ्जन विष्टले दोस्रो हाफमा टिमलाई सुरुवाति अग्रता दिलाउँदा उसका लागि दोस्रो गोल समिराज ठोकरको नाममा रह्यो। पहिलो मिनेट देखिनै प्रतिस्पर्धात्मक देखिएको खेलमा धनगढीले भने पाएका अवसरलाई जालि चुमाउन असफल भयो।
खेलमा पहिलो हाफमानै दुबै टिमले गोलका केही राम्रा अवसर पाएका थिए। तर सफल हुन नसक्दा दोस्रो हाफ रोमाञ्चक बन्यो। म्यान अफ द म्याच घोषित अञ्जन विष्टले ५३औं मिनेटमा झापालाई अग्रता दिलाएका थिए। छिरिङ लामाको क्रसमा आकर्षक हेड गर्दै उनले टिमलाई अग्रता दिलाएका थिए।
झापाले ७७ औं मिनेटमा अग्रता दोब्बर बनायो। अग्रता दोब्बर बनाउने क्रममा प्रदीप लामाको आकर्षक कटब्याकमा सान्चेजले बललाई पोस्टको दिशा दिएका थिए। उनले प्रहार गरेको बल गोललाइन क्रस गर्न लाग्दा समिराज ठोकरले बललाई टच गर्दै गोल भने आफ्नो नाममा पारे।
७९औं मिनेटमा झापा १० खेलाडीमा समेटियो। दोस्रो हाफमा सब्सटिच्यट खेलाडीका रुपमा मैदान प्रवेश गरेका धिरज थजालीले साइमन लिम्बुमाथि गरेको गम्भिर फलमा उनले सिंधै रातो कार्ड पाएका थिए। त्यसपछि रक्षात्मक बन्दै झापाले आफ्नो अग्रता जोगायो।
हार पछि धनगढी प्लेअफमा आफ्नो स्थान पक्का गर्न अन्तिम खेल कुर्नु पर्ने भएको छ। धनगढीले अन्तिम खेलमा शीर्ष स्थानमा रहेको पोखरा थन्डर्स विरुद्ध कम्तिमा बराबरी गर्नु पर्ने छ। झापाको अन्तिम खेल एफसी चितवन विरुद्ध रहेको छ।
हारपछि पनि दोस्रो स्थानमा यथावत धनगढीको ७ खेलमा १२ अंक रहेको छ। झापा भने ७ खेलमा १० अंक सहित चौथो स्थानमा उक्लिएको छ।