
सिमकोट – विद्यालयमा प्राविधिक धारतर्फको बाली विज्ञानमा अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दो क्रममा रहेको पाइएको छ। कक्षा नौ र दशमा बाली विज्ञान विषय अध्ययन गरेका विद्यार्थीले मात्र कक्षा एघारमा अध्ययन गर्न पाइने नियम र विद्यार्थी जिल्लाबाहिर जान थालेपछि सो विषय अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दो क्रममा रहेको हो।
बाली विज्ञान धारमा अध्ययन गराउँदै आएको मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले उक्त विषयमा कक्षा ११ र बाह्रमा अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दो क्रममा रहेको बताए।
यस वर्ष कक्षा एघारमा दश जना र कक्षा बाह्रमा ६ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन्। जबकि यो विषयमा अध्ययन गर्ने विद्यार्थीको कोटा दुवै कक्षामा ४८–४८ जना रहेको छ।
त्यसैगरी यसै वर्ष कक्षा नौमा कोटाअनुसार ४८ जना र कक्षा दशमा ३३ जना विद्यार्थी हाल अध्ययन गर्दै आएका छन्। उनले निःशुल्क रुपमा बाली विज्ञान अध्ययन गर्न पाउने भए पनि एसईई उत्तीर्ण भएपछि विद्याथी जिल्लाबाहिर बाली विज्ञान अध्ययन गर्न जाने, विषय परिवर्तन गर्ने र कक्षा दशमा अन्य विषय अध्ययन गरेका विद्यार्थीका सो विषयमा अध्ययन गर्न नपाउने नियमका कारण विद्यार्थीको संख्या घट्दो क्रममा रहेको बताए।
यसरी कक्षा दशसम्म बाली विज्ञान अध्ययन गरेका विद्यार्थी घट्न थालेपछि अभिभावकसँगसमेत छलफल गर्दा पनि समस्या समाधान हुन सकेको छैन।
त्यसैगरी सिटिभिटीसँग पनि कक्षा दशसम्म अन्य विषय अध्ययन गरेका विद्यार्थीलाई पनि कक्षा ११ मा बाली विज्ञान पढ्ने व्यवस्थाका लागि पहल गर्न पटक पटक पत्राचार र डेलिगेसन जाँदा पनि सो कुरा हुन नसकेको उनले बताए।
यसरी विद्यार्थीको संख्या घट्दै जाने हो भने आगामी दिनमा सो विषय विद्यालयमा अध्ययन गराउन समस्या हुने देखिएको छ। कक्षा दशसम्म बाली विज्ञान अध्ययन गरेर एघारमा जिल्लाबाहिर गएर व्यवस्थापन विषय अध्ययन गरेका छात्र जनक रोकायाले कक्षा ६ देखि बाह्रसम्म एउटै विद्यालयमा अध्ययन गर्न मन नलागेर सो विषय छोडेको बताए।
उनले बाली विज्ञान विषयको पढाइको योग्यता भइसकेपछि माथिल्ला शिक्षा फरक विषयमा अध्ययन गर्नका लागि पनि विषय परिवर्तन गरेको जानकारी दिए।