
काठमाडौं-नेपाल सुपर लिग (एनएसएल) को रोमाञ्चक क्वालिफायरमा पोखरा थन्डर्सलाई स्तब्ध पार्दै धनगढी एफसी प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ।
सोमबार साँझ भएको रोमाञ्चक खेलमा निर्धारित र अतिरिक्त समयमा लिएको अग्रता जोगाउन नसक्दा पोखरा स्तब्ध बन्यो। धनगढीले भने दुई पटकको अग्रता तोड्दै रोमाञ्चक रुपमा खेल २-२ गोलको बराबरीमा ल्याएको थियो। त्यसपछि खेल पेनाल्टी सुटआउटमा धकेलिंदा धनगढी पेनाल्टी सुटआउटमा समेत पोखरा सँग पछि परेको थियो। तर अन्तिम २ प्रहार धनगढीका गोलरक्षकले बचाउँदा पोखरा ४-३ ले स्तब्ध भयो भने धनगढीले फाइनलमा स्थान बनायो।
पराजित भएको पोखराले अझै एक अवसर पाउने छ। अब पोखराले ललितपुर र काठमाडौंबिचको इलिमिनेटर चरणको खेलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ।
खेलमा पोखराले पाँचौं मिनेटमानै अग्रता बनाएको थियो। आयुष घलानले सुरुवातमानै पोखरालाई अग्रता दिलाएको खेलमा धनगढीले दोस्रो हाफमा बराबरी गोल फर्कायो। देवेन्द्र तामाङ्गले बराबरी गोल गर्दा निर्धारित समय १-१ गोलमा सिकएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयमा पनि पोखराले अग्रता बनायो। १०३ मिनेटमा पोखराका स्टेफन कोजोले गोल गरेपनि अन्तिम मिनेटमा पोखरा समालिन नसक्दा धनगढीले बराबरी गर्यो। खेलको १२० औं मिनेटमा धनगढीका लागि अह्मद हिजाजीले गोल गर्दै खेल पेनाल्टीमा पुर्याए।
पेनाल्टी सुटआउटमा धनगढीलाई पेनलाल्टी सुटआउटमा तेस्रो पेनाल्टी प्रहार गर्न आएका हिजाजीको प्रहार गोलरक्षकले बचाउँदा बाँकी सबै चार खेलाडीले गोल गरे। पोखराले भने सुरुवाती ३ पेनाल्टीमा गोल गरेपनि अन्तिम दुई पेनाल्टीमा मोजेज र आयुष घलानको प्रहार मोहम्मद ताहाले जोगाउँदा धनगढी फाइनलमा पुग्न सफल भयो। ताहा म्यान अफ द म्याच समेत घोषित भए।