
पोखरा- पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा जोडिएका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्।
मंगलबार नगरपालिकाको कार्यालयबाटै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्वतका निमित्त प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।
अधिकारीको जिल्ला अस्पताल पर्वतमा स्वास्थ्य जाँच गरिएको छ। ‘स्वास्थ्य जाँच सकिएको छ। कास्की पठाउने तयारीमा छौं’, प्रहरी निरीक्षक पाैडेलले भने।
सहकारी रजिस्ट्रारको कार्यालय पोखराको रजिस्ट्रार हुँदा पराजुलीले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने घुस लिएको आरोप छ।
मित्रमिलन सहकारीले गण्डकी प्रदेशभर कार्यक्षेत्र विस्तार गर्नलाई पराजुलीले १ करोड पाँच लाख रुपैयाँ घुस लिएको आरोप छ।
केही दिन अगाडि मात्रै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। जिल्ला अदालत, कास्कीले पक्राउ गर्न अनुमति दिएपछि कास्की प्रहरीले पर्वत प्रहरीलाई पत्र लेख्दै पराजुलीलाई उपस्थित गराउन समन्वय गर्न भनेको थियो।
पक्राउ पुर्जी जारी हुने संकेत पाएपछि पराजुली बिदामा हिँडेका थिए।