
काठमाडौं-नेपाल सुपर लिग (एनएसएल) को फाइनल पुग्ने ललितपुर दोस्रो टोलि बनेको छ। खेलको सुरुवातमानै १० खेलाडीमा समेटिएको ललितपुरले अतिरिक्त समयमा पोखरालाई २-१ ले स्तब्ध पार्दै धनगढीसँगको फाइनल भेट पक्का गर्यो।
दशरथ रंगशालामा अतिरिक्त समयसम्म लम्बिएको खेलमा निर्धारित समय दुबै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। खेलको ३३ औं मिनेटमा निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा सिमित भयो।
त्यसका बाबजुद पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलको गोलमार्फत ललितपुरले अग्रता बनायो। दोस्रो हाफमा पापा अनोरले पोखराका लागि बराबरी गोल फर्काए। ७१औं मिनेटमा आइडुको क्रसमा अन्नोरले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । अतिरिक्त समयको पहिलो हाफमा कुशल देउवाले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले ९९औं मिनेटमा ओमोलाजा करिमको अनन्तको हेडलाई पोखराको डिफेन्सले क्लियर गर्न नसकेको बललाई जालि चुमाएका थिए।
लिगको समूहचरणमा शीर्ष स्थान हासिल गरेको पोखरा पहिलो क्वालीफायरमा धनगढी विरुद्ध टाईब्रेकरमा पराजित हुँदै दोस्रो क्वालीफायर खेल्न बाध्य भएको थियो। दोस्रो क्वालिफायरमा पनि ललितपुरसँग स्तब्ध भएसँगै पोखरा प्रतियोगिताबाट बाहिरियो। अब दोस्रो संसकरणको उपाधि विजेता शनिबारको खेलबाट हुने छ।