
सेन्चुरियन टेस्टमा भारत दक्षिण अफ्रिकासँग फराकिलो अन्तरले पराजित भएको छ। पहिलो टेस्टको तेस्रो दिन भारत इनिङ र ३२ रनले पराजित भयो। दक्षिण अफ्रिका विरुद्ध भारत दोस्रो इनिङमा १३१ रनमा अलआउट भयो। विराट कोहलीले अर्धशतक बनाए पनि भारतका अन्य खेलाडीले गतिलो स्कोर बनाउन सकेनन्। दक्षिण अफ्रिकाका नान्द्रे बर्गरले ४ विकेट लिएका थिए।
मंगलबार सुरु भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा केएल राहुलको शतकमा २४५ रन बनाएको थियो। दक्षिण अफ्रिकाले पहिलो इनिङमा डीन एल्गरको सानदार शतकको मद्दतमा ४०८ रन बनाएको थियो। पहिलो इनिङमा १६३ रनको अग्रता बनाएको दक्षिण अफ्रिका विरुद्ध तेस्रो दिन दोस्रो इनिङ सुरु गरेको भारत १ सय ३१ रनमा समेटियो।
पहिलो टेस्ट जितसँगै दक्षिण अफ्रिकाले सिरिजमा १-० को अग्रता बनाएको छ। अब दोस्रो तथा अन्तिम टेस्टमा ३ जनवरीमा केप टाउनमा सुरु हुने छ। भारतले अहिलेसम्म दक्षिण अफ्रिकामा सिरिज जित्न सकेको छैन।पहिलो टेस्ट हारेसँगै भारतले यो पटक पनि दक्षिण अफ्रिकामा टेस्ट सिरिज नजित्ने पक्का भएको छ।
एल्गर प्लेयर अफ द म्याच
दक्षिण अफ्रिकाका लागि पहिलो इनिङ्समा १८५ रनको सानदार इनिङ खेलेका डीन एल्गर प्लेयर अफ द म्याच घोषित भए। सन्न्यास घोषणा गरेका उनले आफ्नो करियरको अन्तिम सिरिज खेल्दैछन्। टोलीका कागिसो रबाडाले पहिलो इनिङ्समा ५ र दोस्रो इनिङ्समा २ विकेट लिए।
त्यस्तै डेब्यु खेल खेल्दै आएका नान्द्रे बर्गरले पहिलो इनिङ्समा ३ विकेट र दोस्रो इनिङ्समा ४ विकेट लिएका थिए। दोस्रो इनिङ्समा मार्को जान्सनले पनि ३ विकेट लिए भने एक ब्याट्सम्यान रनआउट भए।