
काठमाडौँ – ललितपुरको बालकुमारीमा प्रहरीसँग भएको झडपमा दैलेखका २२ वर्षीय सुजन रावतको मृत्यु भएको छ। शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षार्थीहरु र प्रहरीबीचको झडपका क्रममा उनको मृत्यु भएको हो।
शुक्रबार इपिएस परीक्षाको विषयलाई लिएर भएको प्रदर्शन उग्र बनेको थियो। त्यस क्रममा सुजनको मृत्यु भएको हो।
सुजनका दाइ (काकाका छोरा) सर्जन रावतका अनुसार प्रहरीसँगको झडपका क्रममा सुजन सडकमा लडेका थिए। त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो। ललितपुरको किष्ट अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। सुजनको छातीमा दाग छ तर गोली लागेको निशान भने छैन।
उनी दाइ सर्जनसँग कलंकीमा बस्दै आएका थिए। उनले यसअघि कक्षा १२ पास गरेर ओभरसियरसमेत पास गरेका थिए।
इपिएस परीक्षामा सहभागी नगराएको भन्दै इपिएस कार्यालयअगाडि प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा समेत युवाहरुले आगजनी गरेका थिए।
जहाज निर्माणसम्बन्धी भाषा परीक्षा अनुत्तीर्ण भएका परीक्षार्थीहरुले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन्।