
काठमाडौँ – ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको विरोधमा नेकपा एमालेनिकट विद्यार्थी संगठनले अनेरास्ववियुले प्रदर्शन गरेको छ। शुक्रबार साँझ राजधानीको अस्कल क्याम्पसअगाडि ‘युवालाई हान्न पाइँदैन’ भन्दै विद्यार्थीहरुले मसाल जुलुससहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरुले ‘गोली हान्ने आदेश दिने सरकार मुर्दावाद, मान्छे मार्न पाइँदैन, युवाको स्वदेशमै भविश्य सुनिश्चित गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी गरेका थिए।
शुक्रबार कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै इपिएस कार्यालयअगाडि युवाहरुले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा समेत युवाहरुले आगजनी गरेका थिए। त्यसक्रममा प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको छ।