
काठमाडौँ – बौद्धस्थित कानिङ सेडुप लिङ गुम्बामा शेनपेन परियोजनाअन्तर्गत तिलगंगा सिटी आई सेन्टर र सम्यक डायग्नोष्टिकको सहकार्यमा चार दिनका लागि निःशुल्क
स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ।
गुम्बाका संरक्षक छोकीनीमा रिन्पोछेको पहलमा गुम्बा परिसरमा सञ्चालन भएको चार दिने स्वास्थ्य शिविर पुस १२ गतेदेखि सुरु भएको थियो। शिविरमा तिलगंगा सिटी आई सेन्टर प्रमुख किरण शाक्यको संयोजनमा निःशुल्क आँखा जाँच तथा सम्यक डायग्नोष्टिकका डा. केयोर गौतमको सहकार्यमा सुगर र युरिक एसिड निःशुल्क परीक्षणका भइरहेको छ।
सोमबारसम्म सञ्चालन हुने शिविरमा जोसुकै इच्छुक व्यक्ति स्वास्थ्य जाँचका लागि पुग्न सक्ने आयोजकले जनाएको छ।
तिलगंगा सिटी आई सेन्टर प्रमुख किरण शाक्यले भने, ‘दृष्टि एक बहुमूल्य उपहार हो, यसलाई नियमित आँखा जाँचको साथ जोगाउनुपर्छ। तसर्थ, तिलगंगाले समुदायहरूमा आफ्नो करुणामय योगदान विस्तार गर्ने प्रयास गर्दछ जहाँ आर्थिक अवरोधहरू छन् र सहायता आवश्यक छ।’
सम्यक डायग्नोष्टिकका डा. केयोर गौतम भन्छन्, ‘सुगर र यूरिक एसिड परीक्षणमार्फत सम्भावित स्वास्थ्य समस्याहरू समयमै पत्ता लगाउन सकिन्छ र स्वास्थ्यमा सक्रिय व्यवस्थापन र जटिलताहरूको रोकथाम गर्न सकिन्छ।’
समयमै स्वास्थ्य परीक्षण, उचित आहार बानी र उपयुक्त उपचारले मानव जीवन संरक्षणमा योगदान पुग्ने गुम्बाका खेन्पो पेमा लामाले बताए। चार दिने शिविरमा पहिलो दिन करिब २०० जना, दोस्रो दिन ३०० जनाले स्वास्थ्य जाँच गराएका थिए। अन्तिम दिनसम्म १ हजार ५ सयभन्दा बढी व्यक्तिहरूको स्वास्थ्य परीक्षण र चिकित्सा सहायता प्रदान गर्ने लक्ष्य छ।
गुम्बाका शेनपेन परियोजनाका प्रमुख संयोजक उर्गेन लामाको सहयोगमा गुम्बाका गुरु, लामा, भिक्षु, भिक्षुनी तथा कर्मचारीहरुले शिविरमा स्वयंसेवकको रुपमा काम गरिरहेका छन्।