
काठमाडाैँ – जिल्ला अदालत दैलेखले नौ वर्षीया बालिकालाई बलात्कार गर्ने ८६ वर्षीय प्रजापति रेग्मीलाई २५ वर्ष जन्मकैदको सजाय सुनाएको छ।
दैलेखको नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय रेग्मीले बालिकालाई बलात्कार गरेको ठहरमा न्यायाधीश बलराम लम्सालको इजलासले जन्मकैदको सजाय सुनाएको दैलेख जिल्ला अदालत सूचना अधिकारी हरिप्रसाद उपाध्यायले देश सञ्चारलाई जानकारि दिए।
बालिका बलात्कार कसुरमा रेग्मीलाई २५ वर्ष जन्मकैद, सात लाख रुपैयाँ जरिबाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको सूचना अधिकारी उपाध्यायले बताए।
मुलुकी अपराध सहिंता २०७४ को दफा २१९ को उपदफा ३ मा पीडितको उमेरअनुसारको कैद सजाय व्याख्या गरिएको छ। जसमा १० वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे जन्मकैद हुने उल्लेख गरिएको छ। सोही कानूनअनुसार रेग्मीलाई जन्मकैदको सजाय सुनाइएको हो।
बालिकालाई बलात्कार गरेको आरोपामा रेग्मी २०७९ चैतमा पक्राउ परेका थिए। रेग्मीलाई प्रहरीले पक्राउ गरिसकेपछि बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो। २०७९ चैत २३ गते रिपोर्ट आउँदा बालिकालाई बलात्कार भएको पुष्टि भएको थियो।