उमेरको सात दशकमा पनि निकै सक्रिय रूपमा कमल चलाउँदै आइरहेका छन्- कवि, गीतकार तथा बालसाहित्यकार रामबाबु सुवेदी।
करिब तीसको दशकदेखि बालसाहित्यमा कमल चलाउन सुरु गरेका सुवेदीले शिक्षण पेशामा पनि साढे तीन दशक बिताए। कुनै बेला बुढानीलकण्ठ स्कुलमा प्राध्यापनकै क्रममा राजा वीरेन्द्रका सन्तान दीपेन्द्र, निराजन र श्रुतिलाई पढाउने गर्थे।
कास्कीमा जन्मिए पनि सुवेदीले काठमाडौंलाई कर्मथलो बनाए। उनले करिब चालिसभन्दा बढी बालगीत ल्याइसकेका छन्। ताराबाजी लैलै, ऋतु गीत, आइतबार बिहान, हे पुतली नानी, जुत्ता सिउने साइँला दाइ, हिमालमा हिँउ, जमुनीको छोरो, मेरो गाउँ ज्यामिरे लगायतका दर्जन बाल गीतहरू स्कुलमा पढाइ हुन्छ।
बाल साहित्य भरमार लेखिए पनि नेपालको कुल जनसंख्याको चालिस प्रतिशत बालबालिकाको पहुँचमा छ त ? बाल साहित्य प्रकाशनमा मात्रै आइरहेको छ कि, बालबालिका माझ पनि पुगेको छ? यसै सेरोफेरोमा बसेर देश सञ्चारले उनीसँग कुराकानी गरेको छ:
ताराबाजी लैलै, आइतबार बिहानजस्ता गीतबाटै सुरु गरौं न ?
ताराबाजी लैलै होस कि आइबार बिहान, दुवै लोकगीत हुन्। ताराबाजी लैलै त धेरै पुरानो गीतकै एडप्ट हाे, यसमा थपेर ल्याएको हो। र आइतबार बिहान चाहिं मैले नै लेखेको हुँ। यो गीत पनि खुबै चल्यो। तीस पैंतीस वर्षका युवाहरूलाई अहिले पनि याद छ। बालबालिकाले छिट्टो सम्झिन्छन्। याद गर्छन्।
बालसाहित्य जति लेखिनु पर्ने थियो त्यति लेखिएन अनि तपाईंले सुरुवाततिर लेख्दाको बेला र अहिलेको समयमा कस्तो फरक पाउनुहुन्छ?
सुरुवाततिर चाहिं बालबाहित्य कविहरूले लेख्दैनथे। राष्ट्रकवि माधवप्रसाद घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठजस्ता कविबाट केही बाल कविता लेखिए। र सबैभन्दा बढी माधव घिमिरेले नै लेख्नु भयो। तीसको दशकतिर बालसाहित्य पनि लेख्ने हो र भन्ने कुरा हुन्थ्यो। बालसाहित्य लेख्नेलाई अहिले पनि सही मूल्यांकन र महत्त्व गरिन्न। तीस, चालिस र पचासको दशक त के, अहिले पनि बालसाहित्य लेख्नेलाई तिरस्कार गरिएजस्तो लाग्छ। बालबालिकाहरूलाई थाहा हुँदैन। पहुँच हुँदैन। बालबालिकाले पनि यस्तो चाहियो भनेर भनेनन् र कवि लेखक तथा प्रकाश र राज्यले पनि बालसाहित्य चाहिन्छ भनेर भनेनन्। अहिले चाहिं केही सुधार भएको छ। “रुम टु रिड” जस्तो संस्थाले त्यस प्रकारको माहोल सिर्जना गरेको छ। बालबालिकालाई नै भनेर कथा, गीत, कविता, लेखिन थालियो। प्रकाशकहरूले पनि यस्ता किताब ननिकाली धरै पाएनन्। अहिले त गर्व गर्ने लायक छ। तर ती बालबालिकाहरू माझ पुगेको छ छैन त्यो चाहिं समस्या छ।
विद्यालयको अतिरिक्त क्रियाकलापभित्र बालसाहित्य पर्छ कि पर्दैन? कि कोर्समा पर्नुपर्छ ?
स्कुलका कोर्स बुकमा पर्नु पर्छ भन्ने छैन। परे त राम्रै हो। र पनि अतिरिक्त क्रियाकलाप मात्रै नभएर स्कुलका पुस्तकालयमा बालसाहित्यलाई जति प्राथमिकता दिनुपर्थ्याे, त्यति दिइएको छैन। अहिले पनि राम्रा स्कुलमा पुस्ताकालय त छन् तर नाम मात्रका छन्। स्कुलमा पनि पुस्तकालय शुल्क भनेर लिइन्छ तर त्यो बिलमा मात्रै छ। कक्षा लाइब्रेरी हुनु पर्ने हो। कक्षामा त्यो वातावारण हुनु पर्ने हो। हरेक स्कुलको पुस्तकालयमा नेपालमा प्रकाशन भएका सबै खालका किताब हुनुपर्छ। बच्चाहरूले आज देखे, भोलि देखे अनि देख्दादेख्दै पढम् पढम् हुन्छ। यसरी पढ्न थालेपछि आकर्षक हुन्छ। अहिले चाहिं केही राम्रा स्कुलका विद्यार्थीले महिनामा २ वटा किताब अनिवार्य पढ्नु पर्ने हुन्छ। पढेर होमअर्कको रूपमा किताबको सार लेख्ने गर्छन्। वर्षमा २४ वटा किताब पढेका विद्यार्थी छन् कुनै कुनै स्कुलमा। तर जसरी किताब जानु पर्ने थियो, जाँदैनन्। चालिस र पचासका दशकमा जति छापिन्थ्यो, अहिले पनि त्यति नै छापिने गरेको छ। अहिले पनि देशका दुर्गम जिल्लामा किताब नै पुग्दैनन्। बालसाहित्यको किताब त कुरै छाडौं, कोर्सका किताब नपुगेकाे अवस्था थियो।
करिब ३५ वर्ष त पढाउनु भयो। यो समयमा बालसाहित्यका किताब कत्तिको खड्किन्थ्यो? यस्तो किताब पढाउन पाए हुन्थ्यो भन्ने भयो कि भएन? अथवा तपाईं आफैंले स्कुल प्रशासन तथा प्रध्यानाध्यापकलाई बालसाहित्यको किताब चाहिन्छ भन्नु भयो कि भएन? भन्नु भएको रहेछ भने कस्तो प्रतिक्रिया आउँथ्यो?
मैले अलि राम्रा स्कुलमा पढाउन पाएँ। फर्पिङ बोर्डिङमा ६ वर्ष पढाएँ। लमजुङको अल्काटारमा पढाएँ, हंशपुरमा पनि पढाएँ। अनि बुढानीलकण्ठ स्कुलमा पढाएँ। त्यहाँ हेडमाष्टरको कुनै छेकथुन थिएन। प्रत्येक बालसाहित्य अनिवार्य पाँच प्रति किनिन्थ्यो। त्यहाँ तीन चार कक्षाका लागि बालकिताब (अंग्रेजी) हुन्थे। तर हाम्रो देशमा सबै स्कुल बुढानीलकण्ठजस्तो त छैन नि। काठमाडौंभित्र राम्रा स्कुल हुँदा पनि त्यहाँ बालसाहित्य पाउन गाह्रो छ। पहाडका स्कुलमा त झन के पाउनु र? अभिभावकहरू के सोच्छन् भने- विद्यार्थीलाई स्कुल पठाए पछि पुग्यो। अझ अभिभावकहरू त बालसाहित्यको किताब पढ्न दिइयो भने जाँच आइरहेको छ, कहाँ त्यो किताब पढेको भन्ने गरिन्छ। के किताब पढेको भन्छन्। बालगीत सुन्दैछन् भने किन समय खेर फालेको भन्छन्। गीत सुनेर किताब पढेर ज्ञान पढ्छ भन्ने ज्ञान अभिभावकमा पनि कमी छ। बालसाहित्य बालबालिकाहरूको पहुँचमा पुग्न सकेको छैन।
अभिभावकहरू अझै बालबालिका मैत्री छैनन् भन्नुभयो। साथै स्कुल पनि बालमैत्री अथवा बालसाहित्य मैत्री हुन नसकेको आरोप सुनिन्छ। यो कत्तिको साँचो हो?
यो साँचो हो तर अहिले स्कुलहरूले राम्रो गर्ने पर्यत्न गरेका छन्। र पनि पनि शिक्षकहरूमा के धारणा छ भने पाठ्यक्रम पढेपछि पुग्छ। जस्तै सात कक्षाको नेपालीकोे किताब पढायो, बाँकी साहित्य पढाइएन। पाठ्यपुस्तक भनेको माध्यम हो अथवा जिज्ञासा पैदा गराउने माध्यम हो। त्यही किताब घोकाउने पढाउने मात्रै गरे पुग्छ जस्तो गरिन्छ। तर सात कक्षाको नेपाली किताब पढेर त्यस्तै अन्य कथा, कविताप्रति पनि जिज्ञासा जागोस् भन्ने हो नि। त्यसो हुँदा बालमैत्री अझै हुन सकेको छैन। शिक्षकहरूमा पनि बालसाहित्य चाहिन्छ, बालपुस्तक चाहिन्छ भन्ने मतलबै हुँदैन। साथै स्थानीय सरकारमा सोध्यो भने बालसाहित्यमाथि बजेट नै हुँदैन। बजेट नभएपछि किताब पनि हुँदैन। बालबालिकाको पढ्न बानी पनि हुँदैन। बालबालिकाका लागि केही गरौं, बालसाहित्यमा केही गरौं भनेर कुरा गर्याे भने त्यति रुचि देखाउँदैनन्। स्थानीय सरकार हाँक्नेहरूलाई साहित्य. कला र संस्कृतिमा मतलब छैन। अथवा कला, साहित्य र संस्कृति हाम्रोमा छ र पनि वास्था गर्दैनन्।
प्रकाशकले बालसाहित्य प्रकाशन त गरेका छन् तर बालबालिकासम्म नपुग्नु राज्यको कमजोरी हो कि, शिक्षित वर्ग र अभिभावकको पनि कमजोरी देख्नुहुन्छ?
अहिले बालसाहित्यको राम्रो किताब दश लाख प्रति छापिनु पर्ने हो। नेपालमा कुल जनसंख्याको चालिस प्रतिशत बालबालिका छन् र पनि बालसाहित्य १ हजार प्रति छापिन्छ। एक हजार किताब छापेर बस्नु परेको छ प्रकाशकले पनि। किनकि बालबालिकाहरू आफैंले किताब किन्दैनन्। चिया खाम् भनेर बसियो भने दश हजारको बिल तिर्छौं तर मुना किनेर अथवा बालपुस्तक किनेर घर लैजान बिर्सिन्छौं। अभिभावकले सबैभन्दा बढी माया गर्ने छोराछोरीलाई हो। तर हामी बालपुस्तक उपहार दिन कन्जुस्याइँ गर्छौं। एकाध वर्षमा बुक फेयर हुन्छ र त्यहाँ बालबालिकाहरू हुँदैनन्। त्यसैले बालसाहित्य बालबालिकाको पहुँचभन्दा बाहिर छ। र पछिल्लो समय अन्य प्रविधिले गर्दा बालबालिकाहरू बाल पुस्तकबाट टाढिनु परेको छ।
अहिले पनि तपाईंले बालसाहित्य लेख्दै आइरहनु भएको छ र अन्य स्रष्टाले लेखिरहेको बालसाहित्यमा बाल विकास, बाल सिकाइ र बाल मनोविज्ञान कति देख्नु हुन्छ?
बालसाहित्य एकदम चोखो हुनुपर्छ। सानो शब्दभण्डार हुन्छ। सानो ज्ञान हुन्छ। जसरी बच्चा बढ्दै बढ्दै जान्छ, त्यसरी नै साहित्य पनि बढ्दै जानु पर्ने थियो। त्यसैअनुसारको विकास, सिकाइ र मनोविज्ञान समेटिनु पर्ने हो। त्यो भइ त रहेको छ तर अझै प्रभावकारी हुन सकेको छैन। यसमा राज्यको भूमिका प्रभावकारी हुनुपर्दछ।