
काठमाडौं- नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु भएको छ। काठमाडौंको याक एन्ड यति होटेलमा बिहीबार दिउँसाे परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सुरु भएको हो ।
बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आजै बिहान काठमाडौं आइपुगेका छन्। उनकाे साथमा विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तवलगायत रहेका छन्।
नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुंगाना, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र भारतका लागि नेपालका राजदूत शंकर शर्मा पनि बैठकमा सहभागी छन्।
आजै बिहान नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो।
तस्बिरहरू: बर्षा शाह/देश सञ्चार