
काठमाडौं- नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित स्पोर्टस अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करण आगामी माघ दोस्रो साता हुने भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले माघ १२ गते अवार्ड आयोजना हुने जनाएको हो।
मञ्चले २०६० सालदेखि निरन्तर आयोजना गर्दै आएको अवार्ड खेलकुदमा वर्षभरी गरेको उत्कृष्ट प्रदर्शनका आधारमा खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिंदै आएको छ। देशमा देखिएको आर्थिक मन्दी र व्यावसायिक क्षेत्रमा आएको गिरावटका कारण अवार्ड कार्यक्रम भदौमा गर्ने तयारी गरिएको भएपनि पुरा नभएको भन्दै ढिलै भएपनि अवार्ड कार्यक्रम गर्न लागिएको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए।
अध्यक्ष सुवेदीले २० औं संस्करणलाई विषेश बनाउनका लागि अवार्डको स्वरुपमा केही परिवर्तन गर्न लागिएको बताए। यद्यपि उक्त परिवर्तनबारे पछि जानकारी गराउँदै जाने बताए। विगतमा जस्तै यसवर्ष पनि अवार्डमा ९ विधा नै समावेश गरिएको छ। वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जनर्नालिस्ट अवार्ड प्रदान गरिने छ।
वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ। मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जनालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिने मञ्चले जनाएको छ।
यसपटक वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्ने छ। पहिलो पटक ५ विधाका विजेताले बाइक पाउने भएका हुन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने छ।
गतवर्ष पुरुषतर्फ फुटबलका अञ्जन विष्ट, महिलातर्फ भलिबलकी अरुणा शाही र प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, युवामा मनीष डाँगी उत्कृष्ट भएका थिए। पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी थिइन्। स्पेसल अवार्ड दानबहादुर तामाङ र उनकी पत्नी मायादेवी मोक्तानलाई प्रदान गरिएको हो। पारा एथलिट सम्मान तेक्वान्दोकी पलेशा गोवर्धन, एसियन स्पोर्टस जनर्नालिस्ट अवार्ड कतारका मोहम्मद हिजी र लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको थियो।
यसवर्ष पनि पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकललाई निरन्तरताले पाएको छ। नेपाल खेलकुद पत्रकार मञ्च र हंशराज हुलासचन्द एण्ड कम्पनीबीच अवार्डकै लागि सहकार्य भएको यो १५ औं वर्ष हो।
आइतबारै मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यू गोल्छा र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौता आदान प्रदान गरे। अभिमन्यूले ५ वटा पल्सर स्पोनसर गर्ने जानकारी दिए। यस बाहेक १२ लाख रुपैयाँ नगद पनि प्रदान गर्ने बताए।