
पोखरा- हिमाली भेगका खर्कमा देखिने याकबारे पोखरामा बसोबास गर्ने धेरैले भिडियो र तस्बिरमा मात्रै देखेका छन् । कतिले पुस्तकका पानामा पढेका छन् । प्रत्यक्ष देख्नलाई हिमाली भेगका वस्ती र खर्क उक्लनुपर्छ ।
यसपाली हिमाली भेगमा पालिने याक पोखरेलीले अमरसिंह चौरमा हेर्न र बुझ्न पाउनेछन् । १२ औं संस्करणको पोखरा महोत्सवमा हिमाली याक ल्याएर प्रदर्शन गरिदैंछ ।
हिमाली भेगमा याकका लागि दैनिक आवश्यकता झल्काउन प्रदर्शनी गर्न लागेको महोत्सव संयोजक राजु श्रेष्ठले बताए । ‘देशको अर्थतन्त्र चलायमान बनाउन याकको भूमिकाबारे जानकारी दिन प्रदर्शनी गरिनेछ’, उनले भने, ‘महोत्सवमा आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास छ ।’ याकको प्रदर्शनीले हिमाली भेगमा आन्तरिक पर्यटकको संख्या बढाउने उनले बताए ।
युनाइटेड क्लबले पुस २६ देखि २८ गतेसम्म पोखरा महोत्सव गर्दैछ । बिहीबार सुरु हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । उनका अनुसार स्टल, मुख्य स्टेज, प्रवेशद्वार निर्माण लगायतका काम भइरहेका छन् ।
१२ दिनसम्म चल्ने महोत्सवमा २५० स्टल हुनेछ । महोत्सवमा २ लाख ५० हजार दर्शक आउने अनुमान गरेको सुनारले जानकारी दिए । महोत्सवमा रेभेल एप मार्फत अनलाइनबाटै टिकट काट्ने व्यवस्था मिलाइएको छ ।
यसपालिको बचतले लेखनाथको अर्चलेमा रहेको क्लबको आफ्नै जग्गामा गरिव जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्न आवासीय छात्रावास निर्माणमा समेत रकम छुट्याउने भएको छ । छात्रावास निर्माणमा बचतको १५ प्रतिशत रकम विनियोजन गर्ने श्रेष्ठले जानकारी दिए । १ करोड १७ लाख ५० हजार रुपैयाँ आम्दानी र ३४ लाख २५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य छ । सेती नदीको खोंचमा पर्यटकीय गन्तव्य निर्माणमा समेत बचतको रकम खर्चिने प्रचारप्रसार संयोजक सुनारको भनाइ थियो ।
महोत्सवमा विभिन्न जाताजातीको कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवम बिक्री, हस्तकलाका सामाग्रीको प्रदर्शनी एवम बिक्री, सूचना प्रविधीको प्रदर्शनी एवं जानकार दिइनेछ ।
गण्डकीको पर्यटकीय क्षेत्रको जानकारी दिदैं प्रबद्र्धन गर्ने महोत्सवको उदेश्य छ । उत्पादित बस्तुको बजारीकरणमा सघाइ अर्थतन्त्र चलायमान बनाउन सघाउने आयोजक युनाइटेड क्लबको दाबी छ ।