
मोरङ – कोसी प्रदेश सरकारले जनस्वास्थ्य सरोकार ट्रष्टको सहकार्यमा सुनसरीको इटहरी उपमहानगरपालिकामा जलन उपचार अस्पताल निर्माण गर्ने भएको छ।
विराटनगरमा बुधबार आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानबीच अस्पताल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
अस्पताल एक सय शय्याको निर्माण हुने जानकारी दिँदै मुख्यमन्त्री कार्कीले आगलागीमा परी उपचारका लागि प्रदेशबाहिर जानुपर्ने अवस्था अन्त्य गर्न सरकार तयार भएको बताए।
तीन महिनाभित्र अस्पताल निर्माण सुरु हुने बताएका मुख्यमन्त्री कार्कीले जलन अस्पताल निर्माण कुनै कारणले नरोकिने र बजेट अपुग भएको अवस्थामा प्रदेश सरकारले थप बजेट प्रदान गर्ने बताए।
मुख्यमन्त्री कार्कीले नाफारहित जनस्वास्थ्य ट्रष्टले नै नेपालमा जलन उपचार सेवा प्रदान गरिरहेकाले कोशीमा अस्पताल निर्माणका लागि अनुदान सहयोग गरेको जानकारी दिए।
प्रदेश सरकारले अस्पताल निर्माण सुरु गर्न १ करोड ५० लाख बजेट उपलब्ध गराउनेछ। ४० करोड रुपैयाँ लागतमा निर्माण हुने अस्पतालका लागि प्रदेश सरकारले आवश्यक थप बजेट उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए।
त्यसैगरी, ट्रष्टका कार्यकारी निर्देशक प्रधानले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने उल्लेख गरे।
उनका अनुसार उनले प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएको अनुदान सहयोग गरेबापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्नेछ।
ट्रष्टले इटहरी उपमहानगरको पकलीस्थित भवानीपुरमा ७ वर्षअगाडि खरिद गरेको २ बिघा १० कट्ठा जग्गामा ५० शय्या जलन र ५० शय्या सामान्य गरी १ सय शय्याको जलन अस्पताल निर्माण गर्न लागेको हो।
कात्तिकमा मोरङको उर्लाबारीस्थित एक घरमा तिहारमा आगलागी हँुदा ८ जनाको मृत्यु भएको थियो। त्यसैगरी, विराटनगरमा एक कवाडी गोदाममा आगलागी हुँदा ३ जनाको मृत्यु भएको थियो।
आगलागीका लागि दुई घटनाले प्रदेश सरकारलाई जलन अस्पताल निर्माण गर्ने र सहज ढंगबाट प्रदेशमै उपचार सेवा दिन दबाब पर्दै आएको थियो।
प्रदेशका आगलागीका गम्भीर प्रकृतिका बिरामीलाई थप उपचारका लागि हाल काठमाडौंको कीर्तिपुरस्थित जलन अस्पताल लैजानुपर्ने बाध्यता रहँदै आएको छ।
त्यसैगरी, प्रदेश सरकारसँग सम्झौता गरेको ट्रष्टले कीर्तिपुर नगरपालिकासँगको सहकार्यमा कीर्तिपुर अस्पताल, काठमाडौं मोडेल अस्पताल सञ्चालन गरेको र काठमाडौँबाहिर सात वटै प्रदेशमा जलेको, पोलेको, ओठ तथा तालु फाटेको, बोलीको तालिमलगायत सेवा प्रवाह गर्दै आएको छ।