
सिमकोट – हिमाली जिल्ला हुम्लाका १५१ वटा विद्यालयमा मिन पचासको छुट्टी भएको छ। वार्षिक परिक्षा सम्पन्न भएको र चिसोका कारण डेढ महिनाका लागि सबै तहका विद्यालय बन्द गरिएका हुन्।
शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख भीमराज खत्रीले जिल्लाभरिका १५१ वटा विद्यालय बन्द गरिएको बताए।
जिल्लाका कुल विद्यालयमा १४६ वटा सामुदायिक, एउटा धार्मिक र चार वटा संस्थागत विद्यालय जिल्लामा छन्। सामुदायिक विद्यालयमा कक्षा एकदेखि पाँचसम्म ८८, कक्षा एकदेखि आठसम्म तीस वटा, कक्षा एकदेखि दशसम्म सोह्र वटा र कक्षा एकेदखि बाह्रसम्म वटा विद्यालय छन्।
उनले यी सबै विद्यालय फागुन २ गतेबाट सञ्चालन गर्ने गरी बन्द गरिएको बताए। इकाइका अनुसार जिल्लाका सात वटा गाउँपालिका नाम्खा गाउँपालिका सोह्र, सिमकोटमा २३, खार्पुनाथमा सत्र, सर्केगार्डमा ३२, चंखेलीमा २२, अदानचुलीमा १९ वटा र ताँजाकोटमा सोह्र वटा विद्यालय छन्। मुख्यगरी चिसोका कारण विद्यालय बन्द गर्नुपरेको होे। यसबाट १८ हजारभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ।
सर्केगार्ड गाउँपालिका शिक्षा शाखाका प्रमुख वीरजंग शाहीले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा हिउँदे बिदा गरिएको बताए।
यस शैक्षिक सत्रको वार्षिक परीक्षा लिएर नतिजा सार्वजनिक गरिएपछि विद्यालय डेढ महिनाका लागि बन्द गरिएको हो। चिसो बढी हुने भएकाले हिमाली जिल्लामा हिउँदे बिदा दिने नियमअनुसार गाउँपालिका शिक्षा समितिको निर्णयअनुसार विद्यालय बन्द गरिएको हो।