
माेरङ – बढुवा प्रक्रिया सुचारु नभएको जनाउँदै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन सुरु भएको छ। प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारीले आइतबार दिउँसोबाट बहिरंग सेवा पूर्ण रुपमा ठप्प बनाएका छन्।
बढुवा प्रक्रियाका लागि उनीहरुले आइतबार विहानसम्मको समय सीमा दिएका थिए। सो समयसम्म प्रतिष्ठानबाट कुनै सम्बोधन नभएपछि दिउँसोबाट बहिरंग सेवा ठप्प बनाएका हुन्। आन्दोलनरत पक्षले विहानैबाट प्रतिष्ठान कायमुकायम उपकुलपति डा. प्रल्हाद कार्कीको कक्षबाहिर धर्ना बसेका थिए।
यसबीच, उपकुलपति कार्की भने कार्यालय नपुगेको एक शिक्षकले जानकारी दिए। बढुवा प्रक्रियाका लागि डा. कार्कीले आन्दोलनरत पक्षलाई विहानसम्म कार्यकारिणी बैठकसहित अन्र्तवार्ताको मिति तय गर्ने जनाएको ती शिक्षकको भनाइ छ।
शिक्षक कर्मचारीको आन्दोलनका कारण प्रतिष्ठानको आकस्मिक कक्ष, आइसियु, डाइलाइसिस र वार्डमा भर्ना भएका विरामीहरुबाहेकको सम्पुर्ण सेवा ठप्प भएको छ। उनीहरुको आन्दोलनका लागि विहानैबाट उपचारका लागि प्रतिष्ठान पुगेका विरामी उपचार सेवाबाट बञ्चित भएकाछन्। लामोसमयदेखि बढुवा प्रक्रिया अघि बढ्न नसकेको जनाउँदै आन्दोलनरत पक्ष र प्रतिष्ठान ब्यवस्थापन पक्षबीच कार्तिक २० गते चार बुंदे सहमति समेत बनेको छ।
उक्त सहमतिअनुसार विधि प्रक्रिया पूरा गरेकाहरुको हकमा पुस २ देखि १५ गतेसम्म अन्तर्वार्ता सुरु गर्नुपर्ने भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन। सोही विषयले त्यहाँ कार्यरत शिक्षक कर्मचारी थप आन्दोलित भएका हुन्।