
काठमाडौं- प्रधानमन्त्रीकप एकदिवसीय क्रिकेटमा सुदुरपश्चिम प्रदेश, नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकाल्दा बागमतीले तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ।
मंगलबार मुलपानि मैदानमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई ८६ रनले पराजित गर्दै तेस्रो खेलमा पहिलो जित निकाल्न सफल भयो। टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ४९.२ ओभरमा १ सय ९० रनमा अलआउट भयो। उसका लागि नवौं नम्बरमा ब्याटिङका लागि आएका प्रतिश जिसीले ५९ रनको अर्धशतकीय इनिङ खेले। मधेशका लागि रुपेश सिंह र अर्निको यादवले समान २-२ विकेट लिए। १ सय ९१ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश २९ ओभरमा १ सय ४ रनमा अलआउट भयो। उसका लागि पवन सराफले ४५ रन बनाउँदा मयन यादवले ३१ रन बनाए। निरज यादव १५ रनमा नटआउट रहे। मधेशको यो प्रतियोगितामा तेस्रो खेलमा दोस्रो हार हो।
त्यस्तै मंगलबारनै टियू मैदान कीर्तिपुरमा भएको खेलमा कोशीमाथि विभागिय टिम नेपाल पुलिसले ७ विकेटको फराकिलो जित निकाल्यो। पहिले ब्याटिङ गरेको कोशीले सुजन थपलियाको १ सय ५ रनको शतकीय इनिङ खेलेपनि टिम २३.१ ओभरमा अलआउट हुँदै १ सय ६९ रनको स्कोरमा समेटियो। कोसीका ८ ब्याटर दोहोरो रनको स्कोर बनाउन असफल रहे। पुलिसका करण केसीले ३ विकेट लिंदा ललित राजवंशी र सुनिल धमलालले समान २-२ विकेट लिए। जवाफमा १ सय ७० रनको लक्ष्य पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। पुलिसका लागि अर्जुन साउदले ६२ रनको अविजित इनिङ खेल्दा कप्तान दिपेन्द्र सिंह ऐरीले ३८ रनको नटआउट इनिङ खेले। त्यस्तै दिलिप नाथले ३१ तथा सुनिल धमलाले १६ तथा कुशल भुर्तेलले १२ रन बनाए।
त्यस्तै सिद्दार्थ रङ्गशालामा भएको अर्को खेलमा सुदुरपश्चिमले कर्णालीलाई १ सय ३४ रनको फराकिलो अन्तरले पारजित गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो। सुदुरपश्चिमका लागि तीन खेलाडीले अर्धशतकीय इनिङ खेले। ओपनर खडक बोहोराले ८० रन बनाउँदा अर्का ओपनर टेक रावतले ५९ रनको अर्धशतकीय इनिङ खेले। यि दुईले पहिलो विकेटका लागि १ सय ३८ रनको साझेदारी गरे। त्यस्तै किरण ठगुन्नाले ५० रन बनाउँदा नारायन जोशीले ३१ रनको नटआउट इनिङ खेले। जवाफमा कर्णाली १ सय ४३ रनमा समेटियो। सुदुरपश्चिमका लागि शेर मल्लले ४ विकेट लिएका थिए।