
एएफसी एसियन कप फुटबल प्रतियोगितामा उपाधि दाबेदार जापानलाई पराजित गर्दै इराक नकआउट चरणमा स्थान बनाउन सफल भएको छ। समूह ‘डी’ अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा इराकले जापानलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जितका साथ नकआउट चरणमा स्थान बनायो। कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा इराकका लागि आयमेन हुसेनले पहिलो हाफमा गरेको २ गोल उसको जितका लागि पर्याप्त बन्यो।
जापान खेलको सुरुवातमै इराकसँग पछि परेको थियो। खेलको पाँचौं मिनेटमा नै इराकले अप्रत्याशित रुपमा खेलमा अग्रता लियो। बक्सको बायाँ तर्फबाट आएको क्रस जापान गोलरक्षक जियन सुजुकीले वानटच समाउन नसकेको बललाई हुसेनले सहजै गोलमा परिणत गरे। पहिलो हाफको इन्जुरी समयमा अहमद याहयाको क्रसमा हुसेनले हेडर मार्फत ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे।
दोस्रो हाफमा जापानले खेलमा फर्कन पटक-पटक प्रयास गरेपनि इराकी डिफेन्सलाईन तोड्न भने जापान असफल रह्यो। तर गोलविहीन हुनबाट जापान इन्जुरी समयमा जोगिएपनि अङ्क खोस्न भने असफल भयो। इन्जुरी समयको तेस्रो मिनेटमा कर्नरमा गोलरक्षकले बल समात्न नसक्दा वातारु एन्डोले सहज गोल गर्दै खेललाई १-२ को अवस्थामा ल्याए।
पहिलो खेलमा इन्डोनेसियाविरुद्ध जित निकालेको इराक २ खेलमा ६ अङ्क सहित समूहको शीर्षस्थानमा रहेको छ। जापान भने दुई खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ। १-१ खेल खेलेका भियतनाम र इन्डोनेसिया अङ्क विहीन छन् । यी दुई टोलीविचको खेल आज रातको ८:१५ बजे भिड्ने छन्।समूहका अन्तिम खेलमा जापानले इन्डोनेसियाविरुद्ध खेल्दा इराकले भियतनामको सामना गर्ने छ।